कर्पोरेट र क्राउड पूँजी

कर्पोरेट र क्राउड पूँजी

कर्पोरेट पुँजीको पहुँच नपुगेको कुनै क्षेत्र छैन । क्रमशः कर्पोरेट पुँजीको प्रभाव राजनीतिमा पनि पर्न थालेको छ । कर्पोरेट पुँजीले विकसित देशमा मात्र हैन विकासशील देशमा पनि आफ्नो हात फैलाइ सकेको छ । 

भारतीय राजनीतिमा कर्पोरेट पुँजीको प्रभावले यूपीए र एनडीए गठबन्धनलाई नचाएको छ । भारतीय जनता पार्टीले अगाडि सारेको हिन्दू ‘धर्मतन्त्रात्मक सांस्कृतिक राष्ट्रवाद’ कर्पोरेट पुँजीको क्षेत्रीय उत्पादन हो । कर्पोरेट पुँजीको प्रभावमा परेर नै भारतीय माक्र्सवादी पार्टीको राजनैतिक जहाज डुबेको हो । संसारभर कर्पोरेट पुँजी सञ्चारमाध्यमा प्रभावशाली बनेको छ । अमेरिकाको पूरै सञ्चारमाध्यम ६ वटा कर्पोरेट हाउसको स्वामित्वमा छ ।

कुनै समय थियो धर्मको पकड राजनीतिमा थियो । चर्च र पादरीहरुको इशारामा राजनैतिक व्यवस्था चलायमान हुन्थ्यो । अझै पनि कतिपय मुस्लिम देशहरुमा धर्मको ठाडो प्रभाव राजनीतिक व्यवस्थामा छ । मौलाना, मौलवीहरुले शासन व्यवस्था चलाउँछन । इरानमा राजतन्त्र त सकियो त्यसको साटो त्यहाँ खुमेनीहरुको धार्मिकतन्त्र सुरु भयो । पहिलो र दोस्रो विश्व युद्धसम्म राजनीतिक सत्ता युद्धका गोलाबारुदले निर्णय गरे । 

यो शताब्दीमा भने अर्थतन्त्रले राजनीतिक व्यवस्थालाई सञ्चालन गर्ने हैसियतमा पुगेको छ । विश्वकै अर्थतन्त्र केही कर्पाेरेटको हातमा पुगिसकेको छ । अबको शताब्दीमा केही कर्पोरेटले विश्व व्यवस्थालाई चलाउनेछन् । राजनीतिक पार्टी, समाज, सञ्चारमाध्यम, धर्म कर्पोरेटको कोपभाजनमा पर्नेछन् । यस्तै कोपभाजनबाट बच्न भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट विहार बेगुसरायका लोकसभामा उम्मेदवार डा. कन्हैया कुमारले चुनावमा खर्च गर्न कर्पोरेट समक्ष हात नपसार्ने निर्णय गरे । 

तर, चुनाव खर्च जुटाउन उनले अर्कै माध्यम अपनाए । उनले चुनाव खर्चको लागि विद्युतीय अपील गरे । यो अपीलपछि उनलाई सहयोग आउन सुरु भयो । उनले ३५ लाख भारु जम्मा भइसकेको पनि सार्वजनिक गरेका छन् । यो संकलित पुँजी जम्मा गर्ने स्रोतलाइ उनले ‘क्राउड’ पुँजीको नाम दिएका छन् ।  २०७५ साल चैत्र ३०