लुक्ला विमान दुर्घटनाः मृतकको संख्या तीन पुग्यो

लुक्ला विमान दुर्घटनाः मृतकको संख्या तीन पुग्यो

सोलु, १ बैशाख ।  सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज भएको दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । हवाईजहाज र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो ।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

यसअघि प्रत्यक्षदर्शीहरूले अनुसार विमानस्थलमा रोकी राखिएको हेलिकप्टरमा समिट एअरको विमान आएर ठोक्किएको बताएका थिए । अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार लुक्लामा उडानका लागि मौसम अनुकूल नै छ ।