‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’ भन्दै बालुवाटारमा प्रदर्शन

‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’ भन्दै बालुवाटारमा प्रदर्शन

काठमाडौँ, २ बैशाख । सरकारी जग्गा, त्यो पनि प्रधानमन्त्री निवास बालुवाटार र प्रधानन्यायाधीश निवास नैं व्यक्तिको नाममा नामसारी । यो समाचार प्रकाशित भएपछि यतिबेला सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मात्र बिजिनेश पाएको छैन, यसले आम नेपालीलाई नै तरंगित बनाएको छ । दुई तिहाइको नेकपा सरकारले के गर्न खोज्यो भन्दै त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि विवेकशील पार्टीले पनि सोमबार प्रदर्शन गरेको छ ।

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रम निवास बालुवाटार नैं व्यक्तिको नाममा विक्री गरिएको विरोधमा सोमबार प्रधानमन्त्री निवास अगाडि प्रर्दशन गरेको हो ।

पार्टीका प्रवक्ता सूर्यराज आचार्यले विरोध प्रर्दशनको माध्यमबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न सरकारलाई दवाव दिइएको बताए । उनले सरकारलाई खवरदारी गर्न सबै नागरिक समाज, पार्टी र संचारकर्मीहरुलाई पनि आह्वान गरे ।

प्रदर्शनकारीहरुले ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ लेखिएको प्ले कार्डहरु प्रर्दशन गरिएको थिए ।

यसअघि नेपाली काँग्रेसका केही भातृ संगठनले नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन भन्दै साङ्केतिक बिरोध स्वरुप एक रुपैयाँ अभियानसमेत सञ्चालन गरेका छन् ।