असान्जको गिरफ्तारी इतिहासको चेतावनी

असान्जको गिरफ्तारी इतिहासको चेतावनी

जुलियान असान्जको गिरफ्तारीले अमेरिकी सत्ता र त्यसको आडमा रहेको साम्राज्यवादी सत्ताका विभिन्न सञ्जालको आवरणभित्र लुकिरहेको जालझेल, षडयन्त्र र लोकतन्त्रको नाममा  विभिन्न देशको सार्वभौम सत्तामाथि हैकम जमाउन  गरिरहेको ताण्डवको तानाबानालाई च्यातचुत पारिदिएको छ ।

अमेरिकाका प्रमुख दुबै पार्टी रिपब्लिकन र डेमोक्रेट्सभित्र भुँइचालो ल्याइदिएको छ ।

कुनैबेला असान्जको खुलासालाई राम्रो भनी पटकपटक टिप्पणी गरी चुनाव जितेका अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रूझेको बिरालो जस्तो भएका छन् ।

असान्जको गिरफ्तारीका बेला टम्पले  यसबारे केही जान्दिन र यो मेरो समयमा भएको विषय पनि होइन भनेर ट्विट गरे ।

तर, यसो भन्नु पनि ट्रम्पका लागि गाह्रो भएको देखिएको छ । ट्रम्पले यतिसम्म भन्नु पनि अमेरिकाको साम्राज्यवादी सत्ताका लागि गाह्रो भएपछि उसले ट्रम्पमाथि तत्काल दबाब दिएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’की प्रवक्ता सारा स्यान्डर्सले ट्रम्पले विगतमा भनेका असान्जका खुलासाहरूबारे गरेका टिप्पणीहरू चुनावी अभियानका फगत चुटकिलाहरू मात्र भएको बताएकी छिन् । 

अमेरिकी साम्राज्यवादी सत्ताले असान्जलाई देशद्रोही झैं ट्रम्पले पनि असान्ज देशद्रोही हुन भन्ने सन्देश प्रवक्ता स्यान्डर्सले दिएकी छिन् ।

सन् २०१६ मा ट्रम्पले असान्ज र उनका विकिलिक्सका खुलासाहरूलाई ‘प्रेमको खजाना’ भनेका थिए र उनीहरूलाई धन्यवाद दिएका थिए ।

अमेरिकी साम्राज्यवादी सत्ताले असान्जमाथि अमेरिकी कम्प्युटरलाई ह्याक गरी सूचना चोरेको आरोप लगाएको छ । असान्जले इराक युद्धमा अमेरिकाले कसरी आमनागरिकको हत्या गरेको थियो त्यसको भिडियो र त्यससम्बन्धी कागजातलाई सञ्चार माध्यममा सार्वजनिक गरेपछि उनलाई पक्राउ गर्न आफ्ना सहयोगी देशहरूमाथि दबाब दिएको थियो । असान्जले अमेरिका सुपुर्दगी हुनबाट जोगिन बेलायतस्थित इक्वेडरको दूतावासमा राजनीतिक शरणार्थीको रूपमा शरण लिन पुगेका थिए । इक्वेडरले पछि उनलाई त्यहाँको नागरिकता समेत दिएर जोगाउने प्रयास गरेको थियो । तर अमेरिकी सत्ताको इशारामा चल्ने इक्वेडरका  नयाँ राष्ट्रपतिले उनलाई दिएको शरणार्थीको हैसियत फिर्ता लिए ।

अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन गरी बेलायती प्रहरीले लन्डनस्थित इक्वेडरको दूतावासमा छिरेर शरण लिएर बसेका असान्जलाई लछारपछार गर्दै बाहिर ल्याएर आफ्नो नियन्त्रणमा लिएको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा देखियो । यो दृश्यले अधिकार विरूद्ध शक्ति, कानुन विरूद्ध बाहुबल, उत्साह विरूद्ध अभद्रता प्रदर्शन भएको दर्शायो । करिब ७ वर्षदेखि खुला आकाशको घामको अनुभव नलिएका एक कमजोर पत्रकारलाई छ जना प्रहरीले हातपात गरी बाहिर निकालेको यो दृश्य इतिहासको एक चेतावनी बन्न पुगेको छ ।

म्यागना कार्टाको भूमि लन्डनमा अन्तर्राष्ट्रिय कानुनबाट सुरक्षित एवं संरक्षित राजनीतिक शरणार्थीको दर्जा पाएका पत्रकार असान्जलाई अन्तर्राष्ट्रिय कानुनको हस्ताक्षरकर्ता बेलायतले गिरफ्तार गरेको छ । सबै अन्तर्राष्ट्रिय कानुनहरूको पालना गर्ने जिम्मेवारीलाई फोहरको बाकसमा मिल्काएर ट्रम्प प्रशासनको निर्देशन पालना गरी बेलायतले अमेरिकी सत्ताको पंक्तिमा आफूलाई उभ्याएको छ । बेलायतका कुलीनहरूले निष्पक्षता र न्यायको आफ्नो अन्तिम नैतिक सूत्र वाक्यलाई पनि परित्याग गरेका छन् ।

यसो नगरे बेलायतीहरूले लन्डनको कनाट स्क्वाएरस्थित करोडौं पाउन्ड स्टर्लिंगको घरबाट आफ्ना पूर्व प्रधानमन्त्री टोनी ब्लेयरलाई हतकडी लगाइ हेगमा उभ्याउनु पर्ने थियो । त्यसो नगरी उनीहरूले एक पत्रकारलाई हतकडी लगाउन पुगे । ब्लेयरको अपराध निर्दाष इराकीहरूको हत्या हो । 

असान्जको अपराध पत्रकारिता हो, उनले असत्य, जालझेल गरी सत्ता टिकाउनेहरूको अपराधलाई विश्वका जनताका बीचमा सार्वजनिक गरी आम जनतालाई सशक्त पार्ने काम गरेको अपराध गरेका हुन् । ओस्कर वाइल्डले सभ्यताको उन्नतिका लागि असन्तुष्टिको बिउ छर्नु भनेर दिएको चेतावनीलाई आफूलाई लोकतन्त्रको जननी भनेर दाबी गर्ने बेलायती सरकारले अनदेखा गरेको छ । ओस्कर वाइल्डको यो सन्देश पत्रकारहरूका लागि विशेष महत्वको रहेको छ । विकिलिक्सका संस्थापक सम्पादकलाई भएजस्तै जुनसुकै पत्रकारलाई जुनसुकै बेला हुन सक्ने चेतावनी यो हो ।

असान्जलाई सबैभन्दा बढी दुख दिने काम ‘द गार्जिएन’ले गरेको देखिएको छ । कुनै बेला असान्जका खुलासाहरूलाई ३० वर्ष यताको सबैभन्दा ठूलो ‘स्कूप’ भनेर प्रमुखता साथ समाचार छापेको द गार्जिएनले असान्जका बारेमा झूठको पुलिन्दा छाप्न थालेको छ । अहिले द गार्जिएनको बोली फेरिएको छ ।

असान्जले गुप्त भिडियो र कागजातहरूले अमेरिकाले उपनिवेश बनाउन गर्ने युद्धहरू, बेलायतको विदेश कार्यालय गर्ने झूटको खेती, मध्यपूर्वमा युद्ध चर्काउन हिलारी क्लिन्टनको भूमिका, सिरिया र भेनेजुएलामा सत्ता पलटका विषयहरूलाई खुलासा गरेकोमा शंका छैन । यी सबै विषय अझ विकिलिक्सको साइटमा उपलब्ध भइरहेको छ ।

द गार्जिएनले मात्रै होइन न्यूयोर्क टाइम्स, वासिङटन पोस्टलगायतले विकिलिक्सका समाचारहरूलाई व्यापकरूपमा प्रकाशित गरेका थिए । तर उनीहरू अहिले सुस्त भएको देखिएका छन् । जसले समाचार छापेका छन् उनीहरू विरूद्ध कुनै कारबाही गरिएको छैन् ।

“जनताको जान्न पाउने अधिकार, प्रश्न गर्न पाउने अधिकार र सत्तालाई चुनौती दिन पाउने अधिकार नै साँचो अर्थमा लोकतन्त्र हो ।”

असान्जको गिरफ्तारीपछि लोकतन्त्रको यो बुझाइ लुटिएको छ । असान्जसँग व्यक्तिगतरूपमा सहमत असहमत हुनु अर्को विषय हो तर उनलाई जुन आधारमा पक्राउ गरी सजाय दिन खोजिएको विषयमा यो  लोकतान्त्रिक  बुझाइको आधारमा विमति जनाउन सकिने ठाउँ भने देखिदैन् ।


यस सन्दर्भमा सन् २०२० मा अमेरिकाको राष्ट्रपति पदको उम्मेदवारी प्राप्त गर्ने अभियानमा रहेकी डेमोक्रेट्स नेतृको बुझाइ सही रहेको देखिन्छ । तुल्सी गब्बार्डले असान्जको गिरफ्तारीको विरोध गरेकी छिन् । उनले अमेरिकी सरकारले असान्जलाई सुपुर्दगी गर्न लगाइ सजाय दिन बनाएको योजना पारदर्शिता र स्वतन्त्र प्रेसका लागि ठूलो धक्का भएको बताएकी छिन् । असान्जलाई पक्राउ गरी सजाय दिनु पत्रकारहरूका लागि खतरनाक अवस्था सिर्जना गर्दै तुल्सीले असान्जको सुपुर्दगी प्रयासको विरोध गरेकी छिन् । 

तर सबै तुल्सी भने अमेरिकामा मात्रै होइन उनकै डेमोक्रेट्स पार्टीमा पनि नभएको देखिएको छ । यसअघि हिलारी क्लिन्टनसँगको प्रतिस्पर्धामा यसअघिको राष्ट्रपति पदको उम्मेदवार बन्ने दौडमा पराजित भएका र यो वर्ष प्रतिस्पर्धामा रहेका बर्नी स्यान्डर्सले अहिलेसम्म असान्जको बारेमा आफ्नो मुख थुनी राखेको देखिएको छ ।

स्यान्डर्सले असान्जको पक्षमा बोल्न मौकाको पर्खाइमा बसेको हुन सक्छन् वा ट्रम्पले अमेरिकी सत्ताबाट पाएको दबाब जस्तै दबाब पाएको हुन सक्ने देखिएको छ ।

चुनावका बेला एक सय ४० पटक भन्दा बढी  ‘विकिलिक्स राम्रो’ भनेर चुनाव जितेका विश्वकै सर्वाधिक शक्तिशाली देशका राष्ट्रपति ट्रम्पको हैसियत तथा मुख थुनेर बस्नुपर्ने अवस्थामा पुगेको छ भने स्यान्डर्सले मनोनयनको सुनिश्चितताको खोजीमा रहेको छ । 

असान्जलाई अमेरिका सुपुर्दगी गरी मुद्दा चलाइनेछ । अमेरिकाले लगाएको अभियोग अनुसारको मुद्दामा उनी दोषी ठहर गरिए उनलाई पाँच वर्षको कैद हुने छ । तर अमेरिकाको कानुन विभागले उनलाई त्यसै उम्किन दिने योजनामा नरहेको देखिएको छ । थप अभियोग लगाउने मनसायका साथ अमेरिकाको न्याय विभागले असान्जको सुपुर्दगीका लागि न्वारनदेखिको बल लगाइरहेको देखिएको छ । विश्वकै सर्वाधिक शक्तिशाली देशको सत्ताको सञ्चालकहरूलाई उनीहरूको मुखमा निर्दोष मानिसको रगत लागेको खुलाइ दिने काम असान्जले गरिदिएका छन् । 

लोकतन्त्र र शान्तिको वकालत गर्दै आएको अमेरिकी सत्ताको पोल खोल्नेलाई त्यसै छोडनु आफ्नो आचरणको पालना त्यहाँको साम्राज्यवादीहरू गरिरहेको बेला लोकतन्त्र, पारदर्शीता र स्वतन्त्र प्रेसका अभियन्ताहरूले एक न्यूनतम पंक्तिलाई धारिलो बनाउने बेला होइन र ? असान्जको गिरफ्तारी इतिहासको चेतावनी होइन र ?

यो पनि पढ्नुहोस 

'असाञ्जेलाई राजनीतिक प्रतिशोध साँधिदैछ'

असान्जको गिरफ्तारीबाट को रमाइरहेका छन् ?

को हुन् जुलिएन एसान्ज ? के थियो उनीमाथिको अभियोग ?

विकिलिक्सका संस्थापक जुलिएन एसान्ज लण्डनमा पक्राउ