भारतीय लोकसभाको दोस्रो चरणको मतदान हुँदै 

भारतीय लोकसभाको दोस्रो चरणको मतदान हुँदै 

५ वैशाख । भारतको तल्लो सदन  लोकसभा निर्वाचनको दोस्रो चरणको मतदान भइरहेको छ । यो चरणमा भारतका चर्चित अनुहारहरूमा पूर्वप्रधानमन्त्री एचडी देवगौडा कर्नाटकको तुमुकुर निर्वाचन क्षेत्र, उत्तर प्रदेशको मथुरा निर्वाचन क्षेत्रबाट चर्चित फिल्म अभिनेत्री हेमामालिनी, फिल्म अभिनेता राजब्बर उत्तर प्रदेशको फतहपुर सिकरी निर्वाचन क्षेत्रबाट, फारूख अब्दुला श्रीनगर चुनाव क्षेत्रबाट चुनाव लडिरहेका छन् । 

११ प्रदेश र १ केन्द्र शासित प्रदेश पाण्डुचेरीका गरी ९५ स्थानका लागि मतदान भइरहेको छ । यो चरण अन्तर्गत ९७ स्थानमा मतदान हुनुपर्नेमा तमिलनाडुको भेल्लोर निर्वाचन क्षेत्रमा मतदाताहरूमा पैसा बाँडेको आंशकाका कारण चुनाव रद्द गरियो भने त्रिपुरा–पूर्वको लोकसभा निर्वाचन क्षेत्रमा कानुन–व्यवस्था ठीक नभएकाले यी दुई स्थानको २३ अप्रिलमा मतदान हुनेछ । 

यो चरणमा १५ करोड ७९लाख मतदाताले मतदान गर्ने भएका छन् । एक हजार छ सय २९ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

एक लाख ८१ हजार मतदान केन्द्रको व्यवस्था गरिएको छ । पाँच प्रदेशका ६८ निर्वाचन क्षेत्रमा भाजपा नेतृत्वका एनडीए र कांग्रेस नेतृत्वको युपीए गठबन्धनबीच सीधा टक्कर हुने देखिएको छ ।
 
तीन राज्यका नौ निर्वाचन क्षेत्रमा गठबन्धन होइन भाजपा र कांग्रेसबीच सीधा प्रतिस्पर्धा हुने भएको छ ।

पाँच राज्यका ६८ निर्वाचन क्षेत्रहरूमा तमिलनाडु–३८,कर्नाटक १४, महाराष्ट्र १०, बिहार पाँच, पाण्डुचेरी एकमा दुबै गठबन्धनको सीधा प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी भाजाप र कांग्रेसबीच मात्र हुने ३ प्रदेशका ९ निर्वाचन क्षेत्रहरूमा असमका ५, छत्तीसगढका ३ र मणिपुर १ निर्वाचन क्षेत्र छन् । 

४ प्रदेश उत्तर प्रदेश ८ ,उडिसा ५,बंगला ३ काश्मिर २ का १८ स्थानमा कांग्रेसका अतिरिक्त अन्य क्षेत्रीय राजनीतिक दलले  भाजपालाई टक्कर दिइरहेका छन् ।