महासचिव विष्णु पौडेललाई किर्ते मुद्धा लाग्ला ?

महासचिव विष्णु पौडेललाई किर्ते मुद्धा लाग्ला ?

काठमाडौं, ५ बैशाख । महोत्तरीको बेलगाछीमा स्थायी घर भएकी तिलककुमारी खड्का २०६४ सालतिर काठमाडौंमा मजदुरी गर्थिन । त्यही बेला उनले भक्तपुरको चाँगुनारायणमा चार आना जग्गा खरिद गरिन् । गिट्टी कुट्दै जीविका चलाइरहेकी ललिताकुमारीले ‘सस्तैमा पाइयो’ भन्दै पाँच लाख रुपैयाँमा चार आना जग्गा खरिद गरिन ।

जग्गा किनेको केही समयपछि उनी छाँगाबाट खसे जस्तै भइन । जग्गा बेच्ने दलालले जग्गाधनीको नक्कली वारेसनामा बनाएर पास गरिदिएको रहेछ । मालपोतका कर्मचारीको मिलेमतोमा तिलककुमारीको नाममा जग्गा पास भयो ।

सरकारी दस्तखत किर्ते र ठगी मुद्दामा उनीसहित नक्कली वारेसनामा बनाउनेमाथि जिल्ला अदालत भक्तपुरमा मुद्दा चल्यो । २०६९ सालमा सरकारबादी फौजदारी मुद्दा नम्वर २११ कायम भयो । जिल्ला अदालतमा लामो समय बहसपछि नक्कली बारेसनामा बनाउनेमा खड्काको दोष देखिएन । तर, राज्यलाई कर छली गरी ठगी गर्ने मनसायले कम पैसामा महँगो जग्गा खरिद गरेको भन्दै अदालतले दोषी ठहर गरिदियो । २०६९ पुस १८ गते तत्कालीन न्यायधीश मुरारीबाबु श्रेष्ठले तिलककुमारीलाई २ बर्षको कैद र २ लाख २७ हजार जरिवानाको फैसला सुनाए ।

जिल्ला अदालतको आदेशप्रति असहमति जनाउँदै तिलककुमारी पुनरावेदन अदालत पाटन पुगिन । पुनरावेदनले पनि जिल्ला अदालतको फैसलालाई सदर गरिदियो । २ लाख २७ हजार जरिवानासहित २ बर्ष कैद सजाय काटेपछि उनी जेलमुक्त भइन ।

यो मुद्धामा गरिएको फैसला जस्तै यतिबेला नेकपा महासचिव विष्णु पौडेलको हकमा यो नजिर लागू हुन्छ कि हुँदैन ? अहिले यो प्रश्न कानुन व्यवासायी तथा कानुनका अध्येताहरुले गर्ने गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको छेउमा रहेको ललिता निवासको एक सय ६२ रोपनी सरकारी जग्गा माफियाको हातमा छ तर चर्चा भने महासचिव पौडेलको आठ आना जग्गाले बढी पाएको छ ।

जिल्ला र तत्कालीन पुनरावेदनको फैसला नेकपा महासचिव पौडेलका हकमा पनि आकर्षित हुने केही कानुनविद्हरुको दावी छ । पौडेल आफैले सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा बनाएका होइनन् । अर्कैका नामबाट खरिद गरेका हुन् । 

राजनीतिक आलोचनाले स्थान पाए पनि कानुनी रुपमा यहाँ उनी दोषी देखिदैनन् । तर धेरै मूल्य पर्ने जग्गाको दरभाउ कम गरेर खरिद गरेकोमा कुनै शंका छैन । 

बालुवाटारको जग्गा २०६१ सालमा ५० हजार आनाका दरले किनेको रेकर्डमा भेटिएको छ । राजश्व छली गर्न उनले पनि बढी मूल्य पर्ने जग्गा मालपोतमा कम दररेट देखाएका छन् ।

सरकारी जग्गा भूमाफिया हुँदै महासचिव पौडेलको सम्पति बनेपछि पार्टीभित्र र बाहिर सवैतिर उनी आलोचित भइरहेका छन् । नेकपाका सांसद मेठमणि चौधरीले राजीनामा मागेका छन् भने दीर्घ सोडारीले राजीनामा मात्र होइन कानुनी कार्वाही नै गर्नुपर्ने बताएका छन् ।