हिन्द प्रशान्त रणनीति र वेल्ट एण्ड रोड इनिसिएटिभको कसीमा मोदी

हिन्द प्रशान्त रणनीति र वेल्ट एण्ड रोड इनिसिएटिभको कसीमा मोदी

भारतको लोकसभाको निर्वाचनमा भाजपा र विपक्षीहरुको प्रतिष्पर्धामा अमेरिकाले अगाडि सारेको हिन्द–प्रशान्त रणनीति र चीनले अगाडि सारेको वेल्ट एण्ड रोड इनिसिएटिभले सबैभन्दा बढी प्रभावित गरेको छ । आन्तरिकरुपमा धर्मसापेक्षतावादी र निरपेक्षतावादीबीच चुनाव भए जस्तो देखिए पनि सारमा अमेरिका र चीनको महत्वाकांक्षी कार्यक्रमको प्रभाव पनि त्यत्तिकै रुपमा परेको छ ।

निर्वाचनको अगाडि भारतले हिन्द–प्रशान्त रणनीतिमा देखिएको अलमल नै अहिले भारतीय जनता पार्टीमाथि परेको दवाव हो । यदि भारत सरकारले अमेरिकी रणनीतिमा हरियो झण्डा देखाएको भए विपक्षीहरुको साइज त्यत्ति नै खेर ‘बोन्साइ’ भइसकेको हुने थियो । तर भारतले ‘क्वाड’ मा मात्र होइन हिन्द प्रशान्त रणनीतिमा देखाएको अलमलले यतिखेर भाजपालाई अप्ठ्यारो परिस्थितिमा पु¥याउन खोजेको छ । 

यता चीनले अगाडि सारेको वेल्ट एण्ड रोड इनिसिएटिभ मामिलामा  भारतको समर्थन र सहयोगको आशामा उसले मोदी अभियानप्रति देखाएको सदासयता हो । चीनको यो सदासयताले भाजपालाई पुनर्जलीय उपचार गरेको छ । यसको प्रस्टता खोज्ने हो भने चिनियाँ सम्बद्ध ग्लोबल टाइम्सको विचार पृष्ठहरु हेरे पनि प्रस्ट हुन्छ । ती आलेखहरुमा भारतको यो आवधिक निर्वाचनलाई उच्च मूल्यांकन गरिएको छ । विश्वकै ठूलो प्रजातान्त्रिक देश आधुनिकीकरण र सुशासनको लागि भविष्य निर्धारण गर्दै रहेको अर्थपूर्ण आलेखहरु महत्वका साथ प्रस्तुत गरिएको छ । 


त्यतिमात्र होइन मोदीको आर्थिक नीति, रोजगारी तथा महिला हिंसा विरुद्ध गरिएको कार्यक्रमको प्रशंसा गरिएको छ । यी अन्तर्राष्ट्रिय प्रभावका कारण भारतीय चुनाव प्रतिष्पर्धात्मक हुन पुगेको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदीले निर्वाचन जिते सम्बन्ध सामान्यीकरण गर्न सहज हुने भनाइ चीनसँगको सम्बन्ध विस्तारकै लागि अगाडि ल्याएको भनाइ हो । नत्र बालाकोटको घटना ताजा हुँदाहुँदै यति छिटो यस्तो विचार सार्वजनिक हुने नै थिएन । 

वामपन्थी आउट 

अन्तर्राष्ट्रिय प्रभावका कारण वामपन्थीहरु यसपटक कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए)मा छैन । यतिमात्र होइन भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले भाजपालाई हराउन कांग्रेस र वामपन्थीबीच  प्रतिष्पर्धा नगर्ने भारतीय बामपन्थीहरुले प्रस्ताव गरेका थिए ।

 तर, बंगाल र केरलामा भाकपा माक्र्सवादीले जितिरहेको स्थानमा समेत कांग्रेसले प्रतिष्पर्धामा उम्मेद्वार उठाएर पाखा लगाउन खोजेको छ । भारतीय वामपन्थीहरु भाजपा विरोधी भए पनि उसलाई निर्वाचनमा पराजय गर्न खोज्नु पश्चिमा शक्तिको इशारामा भएको विश्लेषण गर्न सकिन्छ । भारतीय वामपन्थीहरु पश्चिमा शक्ति विरुद्ध यसअघि पनि उभिएकोले उनीहरुलाई पाखा लगाउन कांग्रेसले यसो गरेको बुझ्न सकिन्छ ।