भरतमोहनको मृत्युसँगै यसरी मारिदैंछ बृद्धभत्ता कार्यक्रम

भरतमोहनको मृत्युसँगै यसरी मारिदैंछ बृद्धभत्ता कार्यक्रम

काठमाडौं, ६ बैशाख । २०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए । उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण सरकार ढल्यो, जुन नेपालको इतिहासमा ‘९ महिने सरकार’ को रूपमा चिनिन्छ । यो नेपालको पहिलो कम्युनिस्टको नामको सरकार थियो । 


सोही मन्त्रीमण्डलमा एक जुझारु अर्थमन्त्री थिए भरतमोहन अधिकारी । जो तत्कालीन प्रधानमन्त्री मनमोहनका सहोदर भाइ थिए ।

अधिकारी तिनै हुन् जसले ०५२ सालमा पहिलो पटक कम्युनिस्ट सरकारमा हुँदा बूढाबूढीलाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेला १०० रुपैयाँबाट भत्ता दिन सुरु गरिएको थियो । 
अर्थमन्त्रालय सम्हालेको केही दिनमै बजेट ल्याए, जसमा आफ्नो गाउँ आफैं बनाउँ भनेर हरेक गाविसलाई ३ लाख बजेट छुट्याइएको थियो ।

२०५२ असारमा अधिकारीले अर्को बजेट ल्याए, जसमा बृद्धभत्ताको शुरुवात गरिएको थियो । सो बृद्ध भत्ता अहिले मासिक दुई हजार पुगेको छ । २०७४ को चुनावमा वाम गठबन्धनले सो भत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पु¥याउने प्रतिवद्धता जनाएको थियो ।

तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले वृद्धभत्ता ६५ वर्षमै पाउने व्यवस्था लागू गरेको थियो । त्यसपछि बनेको नेकपा नेतृत्वको सरकारले पुरानै व्यवस्था (७० वर्ष पुगेपछि पाउने) लागू ग¥यो । नेकपाले घोषणापत्रमा उल्लेख गरेअनुसार वृद्धभत्ता पनि बढाएन ।

तर, केपी शर्मा ओली नेतृत्वको पहिलो वर्षको बजेटमा बृद्धभत्ता बढाएन । जसका कारण उनको सर्बत्र आलोचना पनि भयो । त्यतिबेला भरतमोहन अधिकारी स्वयमले बृद्धबृद्धालाई सरकारले ढाँटेको भन्दै असन्तुष्टि जनाएका थिए । बृद्ध भत्ताका लागि निरन्तर लडिरहने र आफूले ल्याएको कार्यक्रम मर्न नदिने उनको प्रतिबद्धता यतिबेला उनको निधन भएसँगै जीवनमरणको दोसाँधमा पुगेको छ ।

यसैसन्दर्भमा मनमोहन र भरतमोहनहरुले चुनौतीका बावजुद खप्की खेपेर स्थापना गरेको बृद्धाभत्ता यतिबेला देशमा कम्युनिस्ट प्रधानमन्त्री बनेकै बेला हटाउने तयारी भएको छ । चुनावका बेला हरेक पार्टीको मुख्य एजेण्डा बन्ने गरेको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो ।  वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भनाइ छ । उनले एक मिडियाको औपचारिक कार्यक्रममार्फत भनेका छन्, ‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बाबुआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति सधैं राख्न सकिदैंन, राखिदैंन ।’

उनले बृद्धभत्ता कार्यक्रम कम्युनिष्टले सुरु गरेको कारण अरुले चिन्ता लिनु नपर्ने भन्दै आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने र त्यसपछि यसलाई हटाइने स्पष्ट पारे । उनले भने ‘पैसा थप्छौं तर सधैं सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति रहँदैन ।’ उनले बृद्धभत्ता कार्यक्रम हटाएर बीमा कार्यक्रम ल्याउन लागिएको स्पष्ट पारे ।