प्रकृतिप्रेमी प्रचण्ड, सुनकोशीमा सरर...

प्रकृतिप्रेमी प्रचण्ड, सुनकोशीमा सरर...

 

प्रकृतिप्रेमी छन् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड । जब कुनै पारिवारिक या राजनीतिक तनाव सिर्जना हुन्छ तव उनी प्रकृतिकै सहारा लिन्छन् । पार्टीको दस्तावेज लेख्ने होस् वा अन्य कुनै बैठक बसेर महत्वपूर्णं निर्णंय लिनु पर्ने अवस्था आओस उनी प्रकृतिको निकट पुग्छन । 


अहिले त झन् उनको परिवारमा अध्यक्षकी पत्नी सीता दाहाललाई उत्तिसारो सन्चो छैन । जेठी छोरीको क्यान्सर रोगका कारण पाँच वर्ष अघि असामयिक निधन हुनु, त्यसको केही वर्षपछि छोरा प्रकाश दाहालको असामयिक मृत्यु हुनु प्रचण्डको व्यक्तिगत तथा पारिवारिक जीवनमा आइपरेको ठूलो बज्रपात हो । 

‘जति प्रचण्ड बाहिर कडा रुपमा प्रस्तुत हुन्छन् र गर्जिन्छन्, उनी व्यक्तिगत रुपमा निकै कोमल हृदयका छन््’ जनयुद्धदेखि हालसम्म प्रचण्ड निकट रहेर काम गरेका नेकपाका एक केन्द्रीय नेताले बताए ।

अहिले नेकपा पार्टीको तल्लो तहसम्मको एकता गर्नुपर्ने महत्वपूर्णं जिम्मेवारी दुई अध्यक्षको काँधमा छ । केपी शर्मा ओली देश हाँकिरहेका छन् भने प्रचण्डलाई पार्टी कसरी हाँक्ने भन्ने ठूलो चिन्ता छ । 

पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको यही बैशाख ९ गते ७० वर्ष पुग्दैछ । सोही दिन लेनिन जयन्ती पनि परेको छ । सोही दिन पार्टी एकतामा ‘बोल्ड डिसिजन’ गरेर अर्को ‘ब्रेक थ्रु’ गर्ने योजनामा नेकपा भएकै कारण प्रचण्ड बिहीबार सिन्धुपाल्चोकको सुकुटेस्थित इक्वेडर बीचमा पुगेर प्रकृतिसँग ‘रिफ्रेस’ गरे ।  तनाव जति सुनकोशीमा बगाएर मनलाई चङ्गा बनाए । 

केही महत्वपूर्णं निर्णय लिनेबेला उपत्यकाबाहिर जाने गरेका प्रचण्डको रोजाइमा सिन्धुपाल्चोकको सुकुटे नै पर्छ । त्यसो त उनको सुकुटेसँगको साइनो आजदेखिको भने होइन । २०३८ सालदेखि नै हो । साँगाचोकमा दाहाल तत्कालीन माओवादी नेता ध्रुव्र पराजुलीको बेसीघरमा बसेका थिए भने २०५१ सालमा सशस्त्र युद्धको तयारीका लागि चौतारास्थित गौरीगाउँको तामाङ टोलमा एकरात प्रशिक्षण दिएर फर्किएका थिए । २०६८ मा तत्कालीन माओवादीको स्थायी कमिटी बैठक सुकुटेमै बसेको थियो ।

यो स्थान काठमाडौंबाट थोरै दुरीमा पग्न सकिने र मौसम पनि राम्रो भएका कारण पनि अध्यक्ष प्रचण्डको रोजाइ पर्ने गरेको सिन्धुपाल्चोकका साँसद अग्नि सापकोटा बताउँछन् ।

प्रचण्डले सुकुटेस्थित सुनकोशी नदीमा ¥याफ्टिङ गर्ने, टेवलटेनिस खेल्ने तथा प्राकृतिक मनोरमसँग पैदल अवलोकन गरेका छन् । उनीसँग श्रीमती सीता दाहाल, छोरी गंगा दाहाल लगायत सहभागी थिए । सिन्धुपाल्चोक जिल्लामा जोडिएका अग्नि सापकोटासहित अन्य केही नेता पनि सहभागी थिए ।