दोमनमा राजपा

दोमनमा राजपा

वैशाख ८, काठमाडौं । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेससँग मिलेर आन्दोलन गर्ने वा नगर्ने भन्ने अलमलमा छ । केहीले समर्थन फिर्ता लिइसकेपछि लोकतान्त्रिक चरित्रको पार्टी नेपाली कांग्रेससँग मिलेर जानुपर्ने बताइरहेका छन् भने कतिपयले कांग्रेससँग पार्टीको एजेन्डा नै नमिलेको बताइरहेका छन् । 

पार्टीभित्रको आन्तरिक कारणलाई समयमा समाधान गर्न नसक्दा पहिलो महाधिवेशन बैशाखको दोस्रो साताभित्र सम्पन्न गर्ने निर्णय त्यसै तुहिएपछि यस्ता राजनीतिक विषयमा समेत छलफल गर्ने गरी राजपाले पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

६ पार्टी मिलेर बनेको राजपाको अध्यक्ष मण्डलको संरचना पार्टीका नेताहरूलाई निल्न न ओकल्नु भएको छ ।

अध्यक्ष मण्डल बाहेकका नेताहरूले सक्दो छिट्टो महाधिवेशन गरी अध्यक्ष मण्डलको संरचनालाई फेर्न बल गरिरहेको भए पनि अध्यक्ष मण्डलबाट हुने निर्णय नै बाधक हुने गरेको छ ।

गत मंसिर ४ गते अध्यक्ष मण्डलका नेताहरूले संयोजकबाट महन्थ ठाकुरलाई हटाएर चक्रिय प्रणाली अपनाइ राजेन्द्र महतोलाई संयोजक बनाए यता उत्पन्न आन्तरिक समस्याका कारण ०७६ बैशाखमा हुने भनिएको महाधिवेशनको मिति त्यसै तुहिएर गयो ।

अहिले संयोजकको जिम्मा पाएका शरदसिंह भण्डारीले अध्यक्ष मण्डलबाट अहिलेका विभिन्न संरचनामा रहेका व्यक्तिहरूको सहभागितामा महाधिवेशन प्रतिनिधिमण्डल बनाई त्यसबाटै महाधिवेशन गर्ने प्रस्ताव पारित गराउन खोजेका छन् ।

तर, यसबारे महाधिवेशन मूल आयोजक समितिका संयोजक ठाकुर पक्षधर लगायतका व्यक्तिहरूले पूर्णरूपको महाधिवेशन गराउनुपर्ने माग गरिरहेका छन् ।

यसै विषयमा राजपाको पदाधिकारी बैठक बसिरहेको छ । ठाकुरले भने पार्टीको कुनै पनि निर्णय मान्ने तर सर्वसम्मत निर्णय गर्न भनेपछि अध्यक्ष मण्डलका नेताहरूलाई समस्या परेको पार्टी स्रोतको भनाइ रहेको छ । केहीले पूर्ण महाधिवेशन गर्नुपर्ने अडान व्यक्त गरिरहेका छन् भने केहीले अहिलेको केन्द्रीय सदस्यहरू, जिल्ला नेतृत्व र सम्पन्न निर्वाचनमा जितेका र हारेका दुबै पार्टी नेता तथा कार्यकर्ताहरू सम्मिलित एक प्रतिनिधि सभा बनाइ त्यसको उपस्थितिमा पहिलो महाधिवेशन सम्पन्न गर्ने पक्षमा रहेका छन् ।

आजको पदाधिकारी बैठकमा यी विषयमा छलफल गरेर निर्णय हुने नेताहरूको अपेक्षा छ  ।