काठमाडौंमा भारतीय नोटको अवैध कारोबार

काठमाडौंमा भारतीय नोटको अवैध कारोबार

वैशाख ८, काठमाडौं । भारत निर्वाचनको माहौलमा फसेको बेलामा नेपालमा भारतीय रुपियाँको अवैध कारोबार गर्ने समूह सक्रिय रहेको प्रहरीको उच्च स्रोतले जनाएको छ । 

नोटबन्दीमा परेका पुराना भारतीय नोट भारतीय सरकारसँग साट्नेबारेमा नेपालले छलफल गरिरहेको र यसमा भारत सरकार सकारात्मक बन्दै गएको चर्चा चलिरहेको बेलामा नेपाल र भारतमा कार्यरत गिरोहहरु यतिवेला निकै नै सक्रिय रहेको पाइएको छ । यसमा बैंकका कर्मचारीको समेत मिलेमतोको शंका प्रहरीेले गरेको छ । 

काठमाडौं नेपालटार घर भई सो¥हखुट्टेमा सञ्चालित एक रेस्टुरेण्टका सञ्चालकले भारतीय नागरिकहरुबाट पुरानो भारतीय रुपियाँ ल्याएर काठमाडौंमा सस्तो मूल्यमा दिने योजना बनाएकोमा प्रहरीले त्यसलाई पत्ता लगाएर योजना भत्काएको बताइएको छ । यसमा भारतीय गिरोहले करौडौं रुपियाँ ल्याउने तानाबाना बुनेको स्रोतको दावी रहेको छ । एक लाख रुपियाँ त त्यो रेस्टुरेण्टका मालिकले वितरण गरिसकेको बताइन्छ । 

एक ठाउँमा प्रहरीले गिरोहको योजना भत्काए पनि अन्य ठाउँमा पनि यस्ता योजना बनेको आशंकामा प्रहरी सक्रिय रहेको बताइन्छ ।