आज लेनिन जयन्ती र नेपाल कम्युनिस्ट स्थापना दिवस

आज लेनिन जयन्ती र नेपाल कम्युनिस्ट स्थापना दिवस

६९ वर्षपहिले २२ अप्रिल १९४९ (२००६ वैशाख १०) मा भारतको पश्चिम बंगालको राजधानी कलकत्तामा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । विश्व सर्वहारा क्रान्तिका अगुवा कम्युनिस्टहरूका प्रणेता लेनिनको जन्मदिवस पारेर यो दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो ।

सेप्टेम्बर १९४९ मा प्रकाशित घोषणापत्रमा ‘नेपालमा विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पुँजीवादी आधिपत्यलाई पूरै खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा श्रमजीवी जनताको जनवादी राज्य स्थापना अर्थात् यस्तो राज्य व्यवस्था स्थापना गर्नुपर्ने’ लक्ष्य उल्लेख गरिएको थियो । 

नेकपाको त्यो घोषणापत्रमा उल्लेख भएका भिन्न उद्देश्यहरूमध्ये ‘सामन्ती व्यवस्था’लाई राजनीतिक रूपमा अन्त्य गरी गणतन्त्र स्थापना गर्न देश सफल भएको छ ।

सन् २०७२मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको घोषणा भयो ।
तर त्यो घोषणा पत्रमा उल्लेख भए अनुसार नेपालमाथिको साम्राज्यवादी (विस्तारवादी) पुँजीवादी आधिपत्यलाई निर्मूल गरी  मजदुरको नेतृत्वमा जनताको जनवादी राज्य स्थापना गर्ने कार्यभार बाँकी छ । 

कम्युनिस्ट पार्टीको स्थापनादेखि हालसम्म आरोह र अवरोहको यात्रामा टुटफुट र एकताका अनेकन घटना परिघटना भएका छन् । सोभियत संघमा  माक्र्सवादी लेनिनवादी वर्गसंघर्षको अवधारणा प्रतिकूल हुने गरी सन् १९५५ मा खु्रस्चेवको नेतृत्वमा शान्तिपूर्ण संक्रमण र सहअस्तित्वको संशोधनवादी बाटो समात्ने काम भएको देखिएको बुझाइ छ । सोभियत संघ र चिनियाँ नेता माओत्से तुङको नयाँ जनवादी चीनबीचको विवाद, चीनमा माओको निधनपछि देङ सिआओ पिङ समूहद्वारा गरिएको सत्ताकब्जा गरी माओको नयाँ जनवादी नीतिविपरीत बजार समाजवादको संशोधनवादी नीति अंगीकार गरिएको बहस पनि विश्वव्यापी भइआएको छ । यस्ता बहसहरूबाट नेपाली कम्युनिस्ट आन्दोलन असरहीन भइ बस्न सक्ने कुरो थिएन । यी बहसको प्रभावबाट पार्टी विभाजनका शृंखलाहरू देखिए । 

कतिपय सन्दर्भमा आन्तरिक पक्ष प्रधान नरहे पनि नेपाली कम्युनिस्ट आन्दोलनमा विश्व कम्युनिस्ट आन्दोलनका वैचारिक विवादले पनि पार्टीको विभाजन भएको बुझाइ नेपाली विज्ञहरूमा नभएको होइन ।

नेकपा पहिलोपटक २००६ मा रुसी ख्रुस्चेवपन्थी केशरजङ रायमाझी र माओ विचारधारा पक्षधर पुष्पलालको नेतृत्वमा विभाजित भएको इतिहास पाइन्छ । 
रायमाझी धाराबाट विकसित विष्णुबहादुर मानन्धर, तुल्सीलाल अमात्य र कृष्णराज बर्माका साना कम्युनिस्ट पार्टीहरू रहेको पाइन्छ ।

अर्कोतिर  पुष्पलालको धाराबाट विकसित माओ विचारधारामा कोअर्डिनेसन सेन्टर नेकपा माले ,नेकपा (माक्र्सवादी) पार्टीहरू बनेको पाइन्छ । मनमोहन अधिकारी नेतृत्वको तत्कालीन माक्र्सवादी र मालेबीचको एकीकरणबाट २०४७ सालमा  नेकपा (एमाले) बन्यो । यसैगरी माओवादी धारामा चौथो महाधिवेशन, नेकपा मशाल  मिलेर नेकपा एकताकेन्द्रका रूपमा त्यतिखेर बनेको देखियो । प्रचण्ड, मोहन वैद्य, निर्मल लामा आदि प्रमुख रहेको एकताकेन्द्र गठन हुँदा यसमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट विद्रोह गरेर शीतलकुमारको नेतृत्वमा आएको विद्रोही ‘मसाल’, रूपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा श्रमिक संगठन र रूपचन्द्र विष्टको नेकपा (जनमुखी) पनि सामेल भएको देखिन्छ । संसदमा रहने वा संसद् छाडेर जनयुद्धमा जाने कार्यनीतिक सवाल तथा माओवाद वा माओविचारधाराको वैचारिक विवादको कारण एकताकेन्द्र विभाजित हुँदा नारायणकाजी पक्ष संसदीय धारामै रहेको देखिन्छ । बहुमत समूह प्रचण्डको नेतृत्वमा माओवाद मानेर नेकपा (माओवादी) गठन गरेर दशवर्षसम्म जनयुद्धमा होमिएको देखियो ।

यो वर्षको २२ अप्रिललाई  प्रचण्ड नेतृत्वको माओवादी र नेकपा एमालेबीचको एकीकरणबाट बनेको नेकपाको जिल्ला तहको एकता प्रक्रिया टुंगोमा पु¥याइएको घोषणा गरी मनाउन लागिएको देखिएको छ ।

प्रचण्ड प्रधानमन्त्री र पार्टी अध्यक्ष भएका बेला ०६५ मा माओवादी र नारायणकाजी श्रेष्ठ (प्रकाश) नेतृत्वको एकताकेन्द्रबीच एकता भएर एकीकृत नेकपा (माओवादी) गठन भएको थियो ।

०६९ मा क्रान्तिको शान्तिपूर्ण र संसदीय बाटोबाट विकास वा जनयुद्धको जगमा जनविद्रोह भन्ने सवालमा आधारित भइ एकीकृत माओवादीबाट अलग भएर मोहन वैद्य, रामबहादुर थापा ‘बादल’लगायतका माओवादी नेताद्वारा नेकपा माओवादी र पछि क्रान्तिकारी माओवादी गठन गरिएको थियो । ०७२ मा क्रान्तिकारी माओवादीबाट वैचारिक विवादका कारण बादल सहितको समूह पार्टीबाट अलग भएर प्रचण्ड नेतृत्वको एमाआवादीसँग एकीकृत हुन पुगेको थियो भने नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेकपा (माओवादी) सक्रिय रहेको छ ।

 ०७५ मा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा नेकपा संयुक्त मिल्यो र सो समूह केपी शर्मा ओली नेतृत्वको एमालेसँग मिलेर नेकपा (नेकपा) मा परिणत भएको थियो ।

माओवादीका केही नेताहरूमा आहुतिले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र गोपाल किराँंतीले एकीकृत नेकपा माओवादीको नामबाट राजनीति गरिरहेका छन् । यस बाहेक मोहनविक्रम सिंहको मसाल तथा नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी कम्युनिस्ट पार्टीको रूपमा नेपाली राजनीतिमा अझै बाँकी छन् ।


ओली–प्रचण्ड नेतृत्वको नेकपा (नेकपा) अहिले सरकारमा छ । यो पार्टीले पार्टीको जिल्ला तहको  एकीकरण सम्बन्धी घोषणा गरी स्थापना दिवस मनाउने देखिएको छ । 

विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्सवादको विषयमा बहस र छलफल भइरहेकै छ । 
नेपालको कम्युनिस्ट आन्दोलनमा पनि बहस हुनु स्वाभाविक छ । मालेमावादको नयाँं दिशाको आवश्यकता नभएको होइन । सूचना प्रविधिको विकासले प्रभावित पारिरहेको अर्थराजनीतिक अवस्था र अनुमान लगाउन नसकिने गरी दुनियाँको बदलावलाई नजरअन्दाज गर्न सकिँदैन । यसको आलोकमा  सर्वहारा पक्षीय विचारलाई लिएर नयाँ विचारको खोजी गर्दा पनि लेनिनका समग्र बुझाइबाट अझ बाटो पहिल्याउन सम्भव देखिन्छ । लेनिनलाई कुशलतापूर्वक बुझेर नयाँ गोरेटो तयार पार्ने विश्वास लिनु नै लेनिन जयन्ती मनाएको अर्थ हुनेछ ।