कम्युनिस्ट पार्टीको अबको भूमिका भनेको समाजवाद निर्माणका निम्ति आन्दोलन र जनपरिचालन

कम्युनिस्ट पार्टीको अबको भूमिका भनेको समाजवाद निर्माणका निम्ति आन्दोलन र जनपरिचालन

रामबहादुर थापा ‘बादल’

जेठ ३ गते पार्टी एकता भएको एक वर्ष पूरा हुँदैछ । नेपालका विभाजित कम्युनिस्टहरु र विभाजित सर्वहारावर्गका प्रतिनिधिहरु यो एकतामा विश्वस्त भयौं । ऐतिहासिक आवश्यकतालाई बोध गरेर नेपालका कम्युनिस्टहरुले एकता हासिल गरेका हौं । यसलाई हामीले असाधारण र ऐतिहासिक उपलब्धिका रुपमा लिएका छौं । यसबाट संसारभरिका कम्युनिस्टहरु उत्साहित र खुशी पनि छन् । छरिएर रहेका नेपालका प्रभावशाली कम्युनिस्ट पार्टीहरुबीचको यो एकताले खासगरी कार्यकर्ता र जनता पनि खुशी र उत्साहित छन् ।

पार्टी एकता भएको एक वर्ष पूरा हुँदा पनि एकता प्रक्रियाले पूर्णता नपाएकोमा कार्यकर्ता, जनतामा चिन्ता पनि पैदा गरेको थियो । एकातिर जनता–कार्यकर्तामा एकताले पूर्णता नपाउँदै बीचैमा विभाजन हुने हो कि ? फेरि टुटफुट हुने र पुरानै ठाउँमा फर्किने हो कि भन्ने चिन्ता बढेको हामीले अनुभव गरेका हौं । अर्कोतिर एकता प्रक्रिया ढिलाइ हुँदै गएको र कम्युनिस्ट पार्टी पूर्ण रुपमा एकजुट नभएकाले हाम्रा दुश्मनहरुमा खुशीको लहर आउनु अस्वाभाविक होइन ।

यही सन्दर्भमा चन्द्रागिरि बैठकको विषय पनि आइहाल्यो । निश्चय पनि पार्टी एकताको सन्दर्भलाई लिएर केही समय अगाडि पार्टी स्थायी समितिको बैठक पनि बसेको थियो । त्यो बैठकको एकसूत्रीय एजेण्डा भनेको पार्टी एकताकै विषय थियो । पार्टी एकताले किन पूर्णता प्राप्त गर्न सकेन भन्ने गम्भीर प्रश्न स्थायी समितिमा पनि उठ्यो । झण्डै एघार दिनसम्म यही विषयमा केन्द्रित भएर त्यो बैठक चल्यो । यहाँहरु सबैलाई थाहा छ, बैठक अन्तिममा यो एकता प्रक्रियालाई छिटोभन्दा छिटो पूर्ण दिनुपर्ने निष्कर्षमा पुग्यो । र, एकता प्रक्रियालाई पूर्णता दिएर सिङ्गो पार्टी बाहिर पनि र भित्र पनि एउटा अभियानमा जानुपर्छ भन्ने निर्णयसहित बैठक सम्पन्न भएको थियो ।

एकतालाई छिट्टै पूर्णता दिने निर्णय गरेको त्यो बैठक बसेको पनि निकै समय गुज्रियो । चन्द्रागिरि बैठक पनि यही सन्दर्भको निरन्तरता थियो– पार्टी एकतालाई कसरी छिटोभन्दा छिटो सम्पन्न गर्ने ? स्थायी समितिले मेरै संयोजकत्वमा एकताको प्रस्ताव तयार गर्नका लागि एउटा कार्यदल पनि बनाएको थियो । पछि त्यसलाई हामीले विघटन ग¥यौं र यो जिम्मेवारी सचिवालयले लिनुपर्छ भन्यौं । यो एकताको विषय सामान्य अवस्थाको जस्तो होइन । यो असामान्य अवस्था भएको हुनाले एकता प्रक्रियाको जिम्मेवारी सचिवालयले लिनुपर्छ र यसको प्रस्ताव तयार गर्ने जिम्मा पनि दुई जना अध्यक्षले नै लिनुपर्छ निष्कर्षमा हामी पुग्यौं । सामान्यतः यतिबेला यो जिम्मेवारी सचिवालयलाई छ तर ठोस रुपमा प्रस्ताव तयार गर्ने जिम्मा दुई अध्यक्षलाई थियो । चन्द्रागिरिको बसाइ पनि यसैसँग सम्बन्धित थियो ।

चन्द्रागिरिमा भएको खास सल्लाह वा छलफलमा पार्टीको महासचिवको हिसावले विष्णु पौडेलजी हुनुहुन्थ्यो । म चाहिं विवाद समाधान कार्यदलको संयोजक भएको र विगतमा पनि हामी दुई जना रहने गरी विवाद समाधानका लागि कार्यदल बनेको थियो, त्यसमा भएको नाताले सहभागी बनेको थिएँ । हामीले त्यतिबेला पनि केही गृहकार्य गरेका थियौं । त्यसबारे दुई अध्यक्षलाई जानकारी गराउने र पार्टी एकतालाई छिटोभन्दा छिटो पूर्णता दिनका लागि अध्यक्षहरुलाई सहयोग पुग्ने हिसावले चन्द्रागिरि छलफलमा हामी सहभागी भएका थियौं । आउनै लागेको पार्टी स्थापना दिवसभन्दा अगाडि नै एकता प्रक्रियालाई सम्पन्न गर्ने सल्लाह चन्द्रागिरिमा भएको हो ।

दुई अध्यक्षले अहिले गरेको गृहकार्यमा धेरैजसो विषय टुङ्गिएका छन् । बाँकी विषयलाई पनि छिट्टै टुङ्गो लगाएर पार्टी स्थापना दिवस बैशाख ९ गते अगाडि नै एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउने सल्लाह चन्द्रागिरिमा भएको हो । एकता–प्रक्रियालाई कसरी छिट्टै पूर्णता दिने भन्ने विषयमा पार्टीका शीर्ष नेतृत्व पनि गम्भीर रुपमा चिन्तित हुनुहुन्छ । जनसंगठन र पार्टी एकताका विषयमा पनि विगतमा थुप्रै कार्यदलहरु बनेका थिए । 

एकता किन ग¥यौं ? 

नेपालको कम्युनिस्ट र जनवादी आन्दोलन एउटा उत्कर्षमा पुग्यो । सामन्तवाद–साम्राज्यवादविरोधी क्रान्ति÷आन्दोलन आधारभूत रुपमा सम्पन्न भयो भन्ने हाम्रो निष्कर्ष हो । कम्युनिस्टको नेतृत्वमा ००६ सालदेखि जुन आन्दोलन हुँदै आयो, हामीले सामन्तवादको प्रतिनिधि राजतन्त्र र राज्यव्यवस्थाको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यो पनि एउटा ऐतिहासिक उपलब्धि हो ।
कम्युनिस्टहरुको अगाडिको चुनौति वा लक्ष्य के हो त ? राजनीतिक रुपमा ठूलो उपलब्धि हासिल भएको अवस्थामा कम्युनिस्टहरुले केका निम्ति संघर्ष गर्ने ? परिवर्तित राजनीतिक अवस्थामा कम्युनिस्ट पार्टीको भूमिका के हुने ? भन्ने प्रश्नहरु उठे ।

कम्युनिस्ट पार्टीको अबको भूमिका भनेको समाजवाद निर्माणका निम्ति आन्दोलन र जनपरिचालन गर्नुपर्छ । कम्युनिस्ट पार्टीको अबको लक्ष्य प्राप्त राजनीतिक उपलब्धि (संघीय लोकतान्तिक गणतन्त्र)को रक्षा गर्दै समाजवाद निर्माण गर्ने हो । अबको हाम्रो राजनीतिक र रणनीतिक लक्ष्य समाजवाद हुनुपर्छ । त्यसको निर्माण र स्थापनाको निम्ति त्यही अनुसारको शक्तिशाली नेतृत्व पनि आवश्यक हुन्छ । नेपालका विभाजित कम्युनिस्टहरुलाई एकजुट गरेर एउटा शक्तिशाली नेतृत्व निर्माण गर्न जरुरी छ भनेर हामीले पार्टी एकताको आवश्यकता महसुस ग¥यौं र त्यही अवधारणा अनुसार यो एकता भएको हो ।

लक्ष्य हासिल गर्न एकरुपता र त्यसका लागि नयाँ र शक्तिशाली पार्टी–संगठन–नेतृत्वको आवश्यकता पूरा गर्न यो एकता भएको हो । अबको हाम्रो लक्ष्य भनेको समाजवादको आधार निर्माण गर्नु हो । अबको वर्गसंघर्ष समाजवादको मार्गमा मुख्य बाधकका रुपमा आउनसक्ने दलाल, नोकरशाह र एकाधिकारवादी पुँजीपतिका विरुद्ध हुनेछ । समाजवादको वस्तुगत र आत्मगत आधार तयार गर्नका लागि विकास र समृद्धिलाई प्राथमिकता दिंदै राष्ट्रिय पुँजीको निर्माण र संरक्षण गर्नुपर्छ । औद्योगिक, कृषि क्रान्ति गर्नु अनिवार्य छ । यसरी मात्र समाजवादका लागि वस्तुगत आधार तयार गर्न सकिन्छ । यतिबेला हामीले अपनाइरहेको कार्यनीति सडक, सदन र सरकारको मोर्चाबाट समाजवादको वस्तुगत आधार तयार गर्नका लागि हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा समाजवादको आधार निर्माणका लागि हो ।

हाम्रो सन्दर्भमा समाजवाद निर्माणको आधार आर्थिक रुपमा आत्मनिर्भर अर्थतन्त्र, त्यसका लागि उत्पादक शक्तिहरुको विकास हो । अझै ठोस रुपमा भन्नुपर्दा औद्योगिक विकास, रोजगारीको सिर्जना, कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नु हो । अहिलेको निर्वाहमुखी कृषि उत्पादन प्रणालीले समाजवादको लक्ष्यलाई टेवा पु¥याउन सक्दैन । जलविद्युतको प्रचुर सम्भावना भएको हाम्रो देशमा विद्युत उत्पादन, पूर्वाधार विकासलाई समाजवादको लक्ष्य प्राप्तिसँग जोडेर तीब्र विकास गर्नुको विकल्प हामीसँग छैन । यी सबै सम्भावनाको अवरोधक भनेको दलाल, नोकरशाही र एकाधिकार पुँजीपति नै हुन् । पार्टी एकताको प्रष्ट उद्देश्य यिनै तत्वविरुद्धको प्रहार हो– समाजवादको लक्ष्य हासिल गर्नका लागि ।

भ्रष्टाचारी, कमिशनखोर र तस्करहरु दलाल पुँजीपति हुन् । यी राष्ट्रिय पुँजीका विरोधी हुन् । समाजवाद निर्माणका लागि राष्ट्रिय पुँजीपतिसँग निम्न पुँजीपति र किसानको मोर्चा बनाएर औद्योगिक क्रान्ति गर्नु अनिवार्य बनेको छ । हाम्रो यो उद्देश्य र लक्ष्यलाई चुनावी परिणाममार्फत् जनताले अनुमोदन गरेका छन् । विकास र स्थिरताका निम्ति शान्तिलाई सुदृढ गर्नुपर्ने अभिमत जनताले प्रस्ट रुपमा व्यक्त गरेका छन् । जनताको यही मतलाई सम्मान गर्दै नेकपा र यसको नेतृत्वको सरकार अघि बढ्ने प्रयत्न गरिरहेको छ । चुनावी घोषणापत्र अनुसार आफ्नो पहिलो वर्षमा सरकारले जुन योजना बनायो, आउने २५ वर्षभित्रमा नेपाललाई एउटा विकसित मुलुकका रुपमा स्थापित गर्ने उद्देश्यलाई मूर्त रुप दिने कोसिस गरेको छ ।

भर्खरै मात्र सम्पन्न लगानी सम्मेलनमार्फत् नेपाललाई विकासको तीब्र गतिमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने प्रयास थालिएको छ । त्यस सम्मेलनमा सरकारले एउटा आधार पत्र पनि प्रस्तुत गरेको थियो । पन्ध्रौं पञ्चवर्षीय योजना तयार हुँदैछ । यतिबेला हामी अति कम विकसित मुलुकका रुपमा गणना भइरहेका छौं । अब विकसशील हुँदै आउने २५ वर्षमा नेपाललाई समृद्ध र विकसित मुलुकमा रुपान्तरित गर्ने लक्ष्य नेकपा नेतृत्वको सरकारले लिएको छ । बजेट भनेको विकासको योजना हो । सरकारको लक्ष्यलाई आगामी बजेटमा अझै मूर्त रुपमा प्रस्तुत गरिनेछ । सरकार यतिबेला योजना निर्माणमा पनि उत्तिकै खटिरहेको छ । विगतका अनुभवको जगमा टेकेर हाम्रा सांसदहरुले आगामी दिनमा जनताका बीचमा गएर कहाँ, कस्ता विकास र पूर्वाधारका योजना आवश्यक छ भन्ने राय–सुझाव लिइरहेका छन् । त्यही आधारमा विकास र बजेटको योजना तर्जुमा गर्नका लागि सरकार कटिबद्ध छ ।

विकासका लागि शान्ति अपरिहार्य छ तर शान्ति–प्रक्रिया अझै पूर्ण भएको छैन । शान्ति–प्रक्रियालाई पूर्णता दिंदै देशमा सुदृढ स्थायित्व कायम गर्ने चुनौति पनि सरकारका अगाडि छ । जनक्रान्तिद्वारा पराजित गणतन्त्र र संघीयताविरोधीहरु सल्बलाइरहेका छन् । देशलाई हिजोकै अवस्था र व्यवस्थातिर फर्काउने कोसिस उनीहरु गरिरहेका छन् । विभिन्न नाम र बहानामा देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने यस्ता तत्वहरु समृद्धि र समाजवादका विरोधी हुन् । शान्ति, जनवाद र समाजवादविरोधीहरुलाई निस्तेज गर्नु पनि यतिबेला सरकारको दायित्व हो । देशभित्रका प्रतिगमनकारी र विदेशीको स्वार्थमा धार्मिक र साम्प्रदायिक दङ्गा भड्काउने प्रयास कायमै छ । विखण्डनकारी र अतिवादी तत्वहरु पनि यतिबेला सक्रिय छन् । संघीयतालाई कार्यान्वयन गर्न सकिएन भने अतिवादी र विखण्डनकारीहरुलाई नै बल पुग्छ । सरकार यसतर्फ पनि सजग छ ।

विकास–निर्माणलाई तीब्र बनाउन सकिएन र बेरोजगारी हटाउन सकिएन भने स्वाभाविक रुपमा यस्ता तत्वले मौलाउने अवसर पाउँछन् । विकास–निर्माणको मुख्य बाधक भनेको भ्रष्ट, दलाल, नोकरशाही, राजस्व ठगी गर्ने र भूमाफियाहरु त्यस्ता तत्व हुन्; जसले विकासका काम रोकिराखेका हुन्छन् । विकासमा अवरोध गर्दा र राष्ट्रिय पुँजीको सञ्चयमा अवरोध पु¥याउँदा मात्र उनीहरुको स्वार्थ पूरा हुन्छ । पार्टी एकताको उद्देश्य यस्ता तत्वलाई निस्तेज गर्ने पनि हो । यसो गर्न सकेमात्र पार्टी एकताको लक्ष्य र उद्देश्य हासिल गर्न सकिन्छ । पार्टी र समाजमा समेत प्रभावी बनेको यस्तो प्रवृत्तिलाई निस्तेज र निरुत्साहित गर्न सकिएन भने समाजवादको लक्ष्य हासिल गर्न सकिन्न ।

किसानको हित, औद्योगिकीकरण, राष्ट्रिय पुँजीको संरक्षण, जलविद्युत र पूर्वाधार निर्माणको क्षेत्रमा तीब्र विकास गरेर मात्रै पार्टी एकताको लक्ष्य र उद्देश्य हासिल गर्न सकिन्छ । यिनै विषयलाई ध्यान दिंदै सरकारले भन्सारलगायतका नीति अवलम्बन गर्ने कोसिस गर्छ । हामीले राष्ट्रिय उद्योगको संरक्षणका लागि त्यस किसिमका कानुनको निर्माण गर्नुपर्नेछ । सामाजवादका निम्ति बाधक कतिपय सामाजिक व्यवस्था अझै कायम छन् । छाउपडी, छुवाछुत लगायतका प्रथा संविधानतः गैरकानुनी भए पनि व्यवहारमा कायम छन् । बलात्कार, अपहरण र हत्याजस्ता सामाजिक विकृति पनि समाजवादतर्फ बढ्नका लागि आधारभूत रुपमा बाधक हुन् । सामन्तवादका अवशेषका रुपमा रहेका यस्ता विकृति र अन्धविश्वास, महिला र पुरुषबीचका विभेदको अन्त्यका लागि अभियान चलाउनु पर्छ । यसका लागि समाजवादप्रति प्रतिबद्ध बलियो पार्टी आवश्यक छ । समाजवाद प्राप्तिका लागि गठन भएको नेकपाले संगठित रुपमा यस्ता सामाजिक र सांस्कृतिक विकृति र विसंगतिविरुद्ध अभियानात्मक संघर्ष सञ्चालन गर्नुपर्नेछ र लडाइँ लड्नुपर्नेछ ।

यतिबेला हामी समाजवादका लागि संघर्षको चरणमा छौं । हाम्रो सन्दर्भमा औद्योगिक, कृषि क्रान्तिलाई पूर्णता दिएर मात्रै समाजवादको लक्ष्य प्राप्त गर्ने आधार निर्माण हुन्छ । कम्युनिस्टको अन्तिम लक्ष्य भनेको साम्यवाद हो । साम्यवादमा पुगिसकेपछि अरु त अरु कम्युनिस्ट पार्टी नै रहदैन । वर्गीय हित भनेको कम्युनिस्ट पार्टीको प्रस्तावना हो । साम्यवादपछि कुनै वर्ग हुँदैन । वर्ग नै नभएपछि कुनै राजनीतिक लक्ष्य पनि हुँदैन । समाजमा वर्गको अस्तित्व रहँदासम्म मात्र वर्गस्वार्थको रक्षाका लागि पार्टी गठन हुने हो । सामन्त, पुँजीपतिको स्वार्थका लागि उनीहरुले पार्टी बनाएजस्तै सर्वहारावर्गको स्वार्थ रक्षाका लागि कम्युनिस्ट पार्टीको गठन हुने हो । वर्गसंघर्ष भनेको विपरीत वर्गका बीचको लडाइँ हो ।

म फेरि पनि जोड दिएर भन्छु कि यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादको यात्रातर्फ बढिरहेको छ । यसलाई अवरोध गर्न खोज्ने शक्तिहरु पनि छन् । अबको संघर्ष समाजवादतिर देशलाई लग्ने कि पुरानै अवस्थामा फर्काउने भन्ने हो । एक वर्ष अगाडि भएको पार्टी एकता समाजवादको बाटो र लक्ष्यलाई सहज बनाउन र समाजवादका बाधकहरुलाई पञ्छाउन सजिलो बनाउनका लागि हो । सर्वहारावर्गको शक्तिशाली नेतृत्व कम्युनिस्ट पार्टीबाट मात्रै समाजवादतिर मुलुकलाई डो¥याउन सकिन्छ भन्ने भावका साथ हामी एकताबद्ध भएका हौं । वस्तुगत रुपमा नेपाललाई विकसित मुलुक बनाएर मात्रै समाजवादको लक्ष्य हासिल गर्न सकिन्छ । पार्टी एकतालाई छिट्टै पूर्णता दिने हाम्रो प्रयास पनि त्यसैको निरन्तरता हो । (हेटौंडामा भएको एक कार्यक्रममा व्यक्त विचार) समयबद्ध साप्ताहिक