मैजारो भो नेकपाको एकता

मैजारो भो नेकपाको एकता

काठमाण्डौ । ७० वर्ष पहिले २२ अप्रिल १९४९ (२००६ वैशाख १०) मा गठित नेपाल कम्युनिष्ट पार्टीको दुई वटा धार नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ११ महिनापछि औपचारिक रुपमै तलदेखि माथिसम्म एउटा पार्टी भएको छ । भारत पश्चिम बंगालको राजधानी कोलकातामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । विश्व सर्वहारा क्रान्तिका अगुवा कम्युनिस्टहरूका प्रणेता लेनिनको जन्मदिवस पारेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । गत वर्ष जेठ ३ गते मदन भण्डारीको स्मृतिको अवसरमा पार्टी एकताको आँखीझ्याल मात्रै खुलेको थियो । लामो रस्साकस्सीपछि यतिखेर पूरै ढोका खुलेपछि एकताको मैजारो भएको घोषणा गरिएको छ । 

पहिलो घोषणा पत्र 

विश्व कम्युनिष्ट आन्दोलनको आँधीवेहरी आइरहेको बेला सन् १९४९ सेप्टेम्बरमा नेपाली कम्युनिष्टहरुको घोषणापत्र प्रकाशित भयो । प्रकाशित घोषणापत्रमा ‘नेपालमा विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पुँजीवादी आधिपत्यलाई पूरै खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा श्रमजीवी जनताको जनवादी राज्य स्थापना अर्थात् यस्तो राज्य व्यवस्था स्थापना गर्नुपर्ने’ लक्ष्य उल्लेख गरिएको थियो । तर, यतिखेर नेपालका कम्युनिष्टहरुलाई यो लक्ष्य पूरा नगरेकोमा व्यापक आलोचना हुँदै आएको छ । नेपाली कम्युनिष्ट आन्दोलन सांगठानिक र राजनैतिक रुपमा विभाजित हुँदै आएकोले नेपाली श्रमजीवि जनताले छुट दिँदै आएका थिए । यद्यपि नेपालका यी दुई धाराको एकतापछि भने नेकपाले छुट पाउन नसक्ने र ती जनताको हित गर्न नसके नेकपाले अब भने यो छुट पाउने छैन् । यतिखेर नेकपाको त्यो घोषणापत्रमा उल्लेख भएका विभिन्न उद्देश्यहरूमध्ये ‘सामन्ती व्यवस्था’ लाई राजनीतिक रूपमा अन्त्य गरी गणतन्त्र स्थापना गर्न देश सफल भएको छ । विसं २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको घोषणा भयो । तर त्यो घोषणा पत्रमा उल्लेख भए अनुसार नेपालमाथिको साम्राज्यवादी (विस्तारवादी) पुँजीवादी आधिपत्यलाई निर्मूल गरी मजदुरको नेतृत्वमा जनताको जनवादी राज्य स्थापना गर्ने कार्यभार बाँकी छ । 

टुटफुटको शृङ्खला 

कम्युनिस्ट पार्टीको स्थापनादेखि हालसम्म आरोह र अवरोहको यात्रामा टुटफुट र एकताका अनेकन घटना परिघटना भए । खासगरी सोभियत संघमा माक्र्सवादी लेनिनवादी वर्गसंघर्षको अवधारणा प्रतिकूल हुने गरी सन् १९५५ मा खु्रस्चेवको नेतृत्वमा शान्तिपूर्ण संक्रमण र सहअस्तित्वको संशोधनवादी बाटो समात्ने काम भएको धेरैको बुझाइ छ । सोभियत संघ र चिनियाँ नेता माओत्से तुङको नयाँ जनवादी चीनबीचको विवाद, चीनमा माओको निधनपछि देङ सिआओ पिङ समूहद्वारा गरिएको सत्ताकब्जा गरी माओको नयाँ जनवादी नीति विपरीत बजार समाजवादको संशोधनवादी नीति अंगीकार गरिएको बहस पनि विश्वव्यापी भइआएको छ । यस्ता बहसहरूबाट नेपाली कम्युनिस्ट आन्दोलन निरपेक्ष भई बस्न सक्ने कुरो थिएन । यी बहसको प्रभावबाट पार्टी विभाजनका शृंखलाहरू देखिए । कतिपय सन्दर्भमा आन्तरिक पक्ष प्रधान नरहे पनि नेपाली कम्युनिस्ट आन्दोलनमा विश्व कम्युनिस्ट आन्दोलनका वैचारिक विवादले पनि पार्टीको विभाजन भएको मानिएको छ । 

नेकपा पहिलोपटक २००६ मा रुसी ख्रुश्चेवपन्थी केशरजङ रायमाझी र माओ विचारधारा पक्षधर पुष्पलालको नेतृत्वमा विभाजित भएको इतिहास छ । रायमाझी धाराबाट विकसित विष्णुबहादुर मानन्धर, तुल्सीलाल अमात्य र कृष्णराज बर्माका साना कम्युनिस्ट पार्टीहरू अस्तित्वमा आए ।

अर्कोतिर  पुष्पलालको धाराबाट विकसित माओ विचारधारामा पूर्व कोशी प्रान्तीय कमिटी, को–अर्डिनेसन केन्द्र, (कोके) हुँदै नेकपा माले ,नेकपा (माक्र्सवादी) पार्टीहरू बनेको पाइन्छ । मनमोहन अधिकारी नेतृत्वको तत्कालीन माक्र्सवादी र मालेबीचको एकीकरणबाट २०४७ सालमा नेकपा (एमाले) बन्यो । यसैगरी माओवादी धारामा चौथो महाधिवेशन, नेकपा मशाल मिलेर नेकपा एकताकेन्द्रका रूपमा त्यतिखेर बनेको देखियो । प्रचण्ड, मोहन वैद्य, निर्मल लामा आदि प्रमुख रहेको एकताकेन्द्र गठन हुँदा यसमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट विद्रोह गरेर शीतलकुमारको नेतृत्वमा आएको विद्रोही ‘मसाल’, रूपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा श्रमिक संगठन र रूपचन्द्र विष्टको नेकपा (जनमुखी) पनि सामेल भएको देखिन्छ । संसदमा रहने वा संसद् छाडेर जनयुद्धमा जाने कार्यनीतिक सवाल तथा माओवाद वा माओविचारधाराको वैचारिक विवादको कारण एकताकेन्द्र विभाजित हुँदा नारायणकाजी पक्ष संसदीय धारामै रह्यो । बहुमत समूह प्रचण्डको नेतृत्वमा माओवाद मानेर नेकपा (माओवादी) गठन गरेर दशवर्षसम्म जनयुद्धमा होमिएको थियो । दोस्रो जनान्दोलनको राजनैतिक प्रविधिसँगै नेपालका राजनैतिक दलहरु संघीय लोकतान्त्रिक गणतन्त्रको साझा न्युनतम कार्यक्रम अनुसार संविधानसभाको निर्वाचनमार्फत नयाँ व्यवस्थामा आउन राजी भए र यो यात्राको एक परिदृश्य सम्पन्न भयो ।  

एकताको सार 

पुष्पलालले निर्माण गरेको यी दुई धारको गत वर्षदेखिको एकताको प्रक्रिया टुङ्गिएको छ । तर, एकताको सांगठानिक आधारले मात्र राजनीतिलाई ठीक लिकमा हिँडाउन सक्तैन । बढ्दो विश्व भूमण्डिलीकरण, उत्तर आधुनिक दार्शनिक दर्शनको दवदवा, आर्थिक उदारीकरण तथा नव आर्थिक उदारीकरण, सूचना प्रविधिको विकास, कर्पोरेट हाउसको बढ्दो प्रभाव, दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्थाको थिचोमिचोबीच समाजवादको यात्रा कसरी तय गर्छ यो पार्टीको भविष्य पनि त्यसैमा निहित हुनेछ । नेपालको भू–राजनैतिक अवस्थामा विश्व राजनैतिक रंगमञ्चमा खेल्ने नेपाली कम्युनिष्टहरुको भूमिकामा यो पार्टीको पनि भविष्य गाँसिएको छ । मित्रराष्ट्र छिमेकी देशहरुको राजनैतिक व्यवस्था भिन्नभिन्न छ । चीन आफ्नो मौलिक समाजवादी व्यवस्थामा अभ्यासरत छ । भारत परम्परागत संसदीय व्यवस्थाको चार किल्ला भित्र छ । भारत पनि यताका दिनमा आर्थिक तथा सामरिक विकासको चरणमा छ । 

चीनको द्रुत आर्थिक विकाससँगै सिंगो विश्व हल्लाउने महत्वाकांक्षी योजना ‘एक प्रदेश एक मार्ग’ (वान बेल्ट वान रोड) सहित उदाएको छ । अर्को पूरै एसियालाई आन्तरिक द्वन्द्वमा फसाउने अमेरिकाको ‘हिन्द–प्रशान्त रणनीति’को काखमा नेपाल बसेको छ । सत्तारुढ पनि भएकोले यी सबै रणनीतिमा नेकपाले नेपाल र नेपाली जनताको हित हेर्न सकेन भने भारतीय कम्युनिष्टहरुको नियति देख्न आइतवार पर्खनु पर्दैन । यस्तै दोवाटोमा आइपुग्दा नेकपा (नेकपा) एकताको मैजारो भएको छ । समयबद्ध साप्ताहिकबाट  

जिल्ला अध्यक्ष र सचिवको नामावली

कम्युनिस्ट पार्टीको अबको भूमिका भनेको समाजवाद निर्माणका निम्ति आन्दोलन र जनपरिचालन

पार्टी एकीकरण घोषणासभा चलिरहँदा कार्यक्रस्थलबाट माधव नेपाल वाहिरिनुका कारण.....

नेकपाको संगठन सञ्चालनमा नौलो प्रयोग : जिल्ला अध्यक्षको कमाण्डमा केन्द्रीय सदस्य !