राजधानीको विषय सदनमा नल्याई अधिवेशन अन्त

राजधानीको विषय सदनमा नल्याई अधिवेशन अन्त

हेटौंडा । प्रदेश नं ३ को हिउँदे अधिवेशनले राजधानीको टुङ्गो लगाउनेको  बताइए पनि हिउँदे अधिवेशनमा राजधानीले प्रवेश पाउन सकेन । अस्ति वैशाख ८ गते बसको प्रदेश ३ को मन्त्रीपरिषदको वैठकले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष हिउँदे अधिवेशन अन्त गर्न र बैशाख ३० गते बजेट अधिवेशन आव्हान गर्न सिफारिस गरिसकेको छ । 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चैत्र १७ गते हिउँदे अधिवेशन आव्हान भएको दिन राजधानी १५ दिन भित्र टुङ्गोमा पु¥याइने सदनसमक्ष प्रतिबद्धता व्यक्त गरेका थिए । डोरमणि पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीसँग ९ दिने चीन भ्रमणमा जाँदैछन् । उनी चीन भ्रमणमा रहेको बेला प्रदेशको वैठक नबस्ने निर्णयका साथ सूचना टास गरी अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषदले निर्णय गरेको हो । 

संविधान अनुसार जेठ १ गते प्रदेश सरकारले प्रि बजेट ल्याउनै पर्छ ।  असार १ गते बजेट ल्याउनुभन्दा १ महिना अगाडि प्रि बजेट ल्याउनु पर्ने हुँदा बैशाख ३० गते बजेट अधिवेशन आव्हान गरिएको हो । 

नेपाली कांग्रेसको संसदीय दलको वैठकले राजधानीको कार्यसूचि नल्याउने हो भने बैठक चल्न नदिने निर्णय गरेको बुझेका मुख्यमन्त्री पौडेलले हिउँदे अधिवेशन आव्हान गरेको दिनमा सबैभन्दा पहिला मन्तव्य राख्दै यसै अधिवेशनले राजधानीको फैसला संवैधानिक तरिकाले गर्ने बताएका थिए । 

तर त्यसको भोलिपल्टदेखि नै हेटौंडाको राजनीतिक वृत्तमा मुख्यमन्त्रीले वैठकको संकट टार्न मात्र उक्त कुरा बोलेको चर्चा थियो । अन्ततः मुख्यमन्त्रीले सिङ्गो व्यवस्थापिका संसदलाई एक पटक झुक्याउन ‘सफल’ भएका छन् । 

हुनत राजधानीको टुङ्गो लगाउने अधिकार सभामुखको कार्यक्षेत्रभित्र पर्दछ । तर पनि सभामुख र मुख्यमन्त्री एउटै दलका भएका कारण मुख्यमन्त्रीको अनुमति नलिई विषयसूचि राख्ने ल्याकत सभामुखले राख्न सकिरहेका छैनन । नेकपाको संसदीय दलमा जुनियर व्यक्तिलाई संसदीय दलको नेतृत्व बनाउँदाको यो परिणाम अहिले प्रदेश ३ को सबै जनताले भोगिरहेका छन् । डोरमणि पौडेल पार्टीका उच्च नेतृत्वसँग छलफल नगरी केही निर्णय गर्न नसक्ने पूर्व एमालेका प्रदेश सांसदहरुले बताउँछन् । 

पार्टीका उच्च नेतृत्वहरु राजधानीको निर्णयले विवादमा आउन नपरोस् भन्ने सोंचका साथ बसिरहेको बुझिन्छ । सांसदहरुको भावना र मुख्यमन्त्री लगायतको जोड नमिलेको नेतृत्वहरु जानकार छन् । नेतृत्वलाई नझोसिकन राजधानीको टुङ्गो लगाइयोस भन्ने अध्यक्ष द्वयको स्पष्ट चाहना रहेको निकट स्रोत बताउँछ । समयबद्ध साप्ताहिकबाट