दानवीर सुवर्ण शमशेरकै छोराले गरे बाबुको बेइज्जती

दानवीर सुवर्ण शमशेरकै छोराले गरे बाबुको बेइज्जती

काठमाडौं । आफ्ना पिता पुर्खाले दिएको दान तथा राखेको कीर्तिलाई  अझ थप्दै जानुलाई सन्तान दरसन्तानले आफ्नो कर्तव्य  ठान्ने गर्छन् । तर हाम्रो मुलुकमा यस्ता धनाढ्यहरु पनि छन् जो आफ्ना पिता पुर्खाले दिएको दान तथा कीर्ति हडप्ने ध्याउन्नमै तल्लीन हुन्छन् । यही ध्याउन्नमा लागेकै कारण यतिबेला नेपाली कांग्रेसका नेता रुक्मशमशेर राणा चर्चामा छन् ।   दान फिर्ता गर्ने अभियानको सहयोगी बन्दै ¥याल काडे वापत सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल पनि यतिबेला निकै चर्चामा छन् ।

 नेपाली कांग्रेसमा मुर्धन्य नेता एवम् मन्त्रिपरिषदका पूर्वअध्यक्ष जनरल सुवर्णशमशेर राणाले आफ्नो जीवनकालमा जति सम्पत्ति दान दातव्यमा खर्च गरे त्यसलाई अहिलेको मुद्रामा मूल्यांकन गर्ने हो भने पाँच खर्ब रुपैंयाँ भन्दामाथि रहेको नेपाली कांग्रेसका जानकारहरु बताउँछन् ।   जनकारहरुका अनुसार  नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटार दरबार सुवर्ण शमशेर राणाको थियो । उक्त दरबारले करिव पाँच सय रोपनी जग्गा ओगटेको थियो ।  

सुवर्ण शमशेर राणाले उक्त दरवारसहित आधा जग्गा राज्यलाई दान दिए । बाँकी आधामध्ये करिव दुई सय रोपनी जग्गा पञ्चायतकालमा तत्कालीन राजा महेन्द्रले नाममात्रैको मुआव्जा दिएर अधिग्रहण गरी प्रधानमन्त्री निवास, प्रधान न्यायधीश निवास, राजसभा स्थायी समितिका सभापतिको निवास लगायतका संरचना निर्माण गरे । बाँकी रह्यो करिव २५ रोपनी जग्गा । तर, पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा लागे वापत सरकारले  उक्त जग्गा हडप्यो । 

 पञ्चायती व्यवस्था समाप्तिपछि २०४७ सालमा तत्कालीन सरकारले  पञ्चायतको विरुद्धमा लागेवापत जसजसको जग्गा सरकारले हडपेको थियो त्यसलाई फिर्ता गर्ने निर्णय ग¥यो । उक्त निर्णय अनुसार सुवर्ण शमशेर राणाका छोरा रुक्मशमशेर राणाले वालुवाटारको २५ रोपनी जग्गा फिर्ता पाउने भए । तर, कुरा यही २५ रोपनीमा मात्रै सीमित रहेन ।

 भूमाफियाहरुसँग मिलेर रुक्म शमशेरले एक सय ५४ रोपनी जग्गा फिर्ता लिए ।  फिर्ता लिएको एक सय ५४ रोपनीमध्ये एक सय २९ रोपनी फिर्ता गैरकानुनी ठहर भएको छ । गैरकानुनी रुपमा फिर्ता लिइएको एक सय २९ रोपनी जग्गामध्ये धेरैजसो भाटभटेनी सुपरमार्केट कम्पनीका साहु  मीनबहादुर गुरुङको नाममा देखिएको छ भने केही जग्गा नेकपाका महासचिव विष्णु पौडेल लगायत गैरकानुनी रुपमा फिर्ता गराउन मद्दत गर्नेहरुको नाममा छ । वालुवाटारको उक्त जग्गाको हालको चलनचल्तीको मूल्य प्रति आना करिव एक करोड रुपैंया रहेको छ । जसमध्ये ८ आना नेकपाका महासचिव पौडेलका छोराको नाममा देखिएको छ । 

 जनअधिकार प्राप्तिका लागि नेपालमा अहिलेसम्म भएका आन्दोलनमा ज्यान गुमाउनेहरुको संख्याबारे राज्यले अभिलेख राखेको देखिन्छ तर  आफ्नो निजी सम्पत्ति खर्च गर्नेहरुको अभिलेख राखिएको पाइँदैन ।  २००७ साल यताको राजनीतिक इतिहासलाई हेर्ने हो भने सुवर्णशमशेर राणा बराबर यो मुलुकमा अरु दानवीर देखिएका छैनन् । इतिहासका दस्तावेजमा उल्लेख भए अनुसार २००७ सालको राजनीतिक आन्दोलनमा नेपाली कांग्रेसका आठ हजार जनमुक्ति सेना थिए । 

सबैका हातमा त्यतिबेलाको अत्याधुनिक हतियार थिए । जुन हतियार सरकारी सेनासँग थिएनन् । नेपाली कांग्रेससँगै आफ्नै हवाई जहाज थियो तर त्यतिबेलासम्म राज्यसँग हवाई जहाज थिएन । नेपाली कांग्रेस आफैले रेडियो संचालन गरेको थियो तर त्यतिबेला राज्यसँग रेडियो थिएन । यो अथाह खर्चका लागि कसैसँग एक सुका पनि चन्दा मागिएको थिएन । सबै खर्च सुवर्णशमशेर राणाले बेहोरेका थिए । उनी नेपालका सबैभन्दा ठूला जमिन्दार त थिए नै भारतमा पनि उनको नाम सर्वाधिक धनाढ्यहरुको सूचिमा थियो । भारतका १० जना करदाताहरुको सूचिमा उनको नाम हरेक वर्ष चढ्ने ग¥थ्यो । भारतका २०–२५ वटा  ठूला शहरमा उनका दरवार तथा  उद्योग धन्दाहरु थिए ।  यति ठूलो ऐस आरामलाई छोडेर प्रजातन्त्र स्थापनाको संघर्षमा उनले आफ्नो धेरै सम्पत्ति खर्च गरे । उनी श्री ३ भीमशमशेरका नाति थिए । तर, सी ग्रेडका राणा भएका कारण जर्नेल भन्दा माथिल्लो पदमा  पुग्ने अधिकार उनले पाएका थिएनन् । यो अधिकार नपाएपछि उनले भारतमा गएर उद्योग, व्यापार सुरु गरे । प्रसस्त सम्पत्ति कमाए । २००७ सालको राजनीतिक अभियानमा मात्रै होइन २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि पनि जनअधिकार प्राप्तिका लागि सुवर्ण शमशेर राणाले अरबौं सम्पत्ति खर्च गरे । इतिहासका अभिलेखमा उल्लेख भए अनुसार २०१७ सालको कु पछि सुवर्णले नेपाली कांग्रेसका प्रत्येक नेता तथा कार्यकर्ताका लागि मासिक रुपमा भत्ताको व्यवस्था गरेका थिए ।  

मन्त्री पदमा बसिसेकाहरुले सुवर्णबाट मन्त्रीले पाउने सरहको भत्ता पाउँथे, सांसद भइसकेकाहरुले पनि सांसदले पाए सरहको भत्ता पाउँथे ।  

 पिता सुवर्णले गरेको दान पुण्यको प्रतापकै कारण छोरा रुक्मशमशेर राणाको पनि सम्पत्ति थपिँदो छ । ठकुरीमध्येका सर्वाधिक धनी फत्तेजंग शाहकी एक्ली छोरी रुक्मशमशेरकी श्रीमती हुन् । उक्त सम्पत्ति सबै रुक्मले प्राप्त गरेका छन् । रुक्मकी एक्ली छोरी बैंकर्स अनिलकेशरी शाहले विवाह गरेका छन् । अनिल केशरी वृन्दा शाहका एक्ला छोरा हुन् । भीरकोटे राजा तारकबहादुर शाहकी बुहारी वृन्दा शाह होटल मल्लका मालिककी छोरी हुन् । यसरी मुलुकका चार जना सर्वाधिक धनाढ्यहरुको सम्पत्ति उपभोग गरिरहेका रुक्मशमशेर राणाको डावर इण्डिया नामक बहुराष्ट्रिय कम्पनीमा मात्रै २५ प्रतिशत शेयर रहेको बताइन्छ । तर पनि उनले आफ्ना दानबीर बाबु सुवर्णले दिएको दान फिर्ताका लागि गैरकानुनी बाटो अवलम्वन गरेको देखिएको छ । 

यसैगरी उनको ससुरा फत्तेजंग शाहले गत वर्ष दरवार मार्गमा रहेको करिव ५ रोपनी जग्गा तथा त्यहाँ रहेका करिव आधा दर्जन घरहरु बाँकेको नेपालगञ्ज अस्पताललाई दान दिएका थिए । त्यो सम्पत्ति करिव ५ अर्ब रुपैंया मूल्यको रहेको बताइन्छ । त्यो सम्पत्तिमा पनि रुक्मले आँखा लगाएका छन् । उनले आफ्ना ९५ वर्षीय सुसुरा शाह विरुद्ध समेत अदालतमा मुद्धा दायर गरेका छन् ।  

 यस प्रसंगमा नेपाली कांग्रेसबारे धेरै नै जानकार वरिष्ठ पत्रकार हरि अधिकारीले  आफ्नो फेसबुकका लेखेका छन् –‘सरकारी जग्गा अपचलनको यो घृणित खेलमा जग्गादाता उदार हृदय जनरल सुवर्ण शमशेर जबराका छोरा रुक्म शमशेर राणा स्वयम्को समेत सक्रिय सहभागिता देखिनु चाहिँ यस घृणित खेलको सबैभन्दा दुखद पक्ष रहेको छ । सुकीर्तिवान पिता जनरल सुवर्णका प्रतापले रुक्म शमशेरले राज्यका ठूलठूला ओहोदा समेत प्राप्त गरेको प्रसङ्गमा हेर्दा बाबुले दिएको दानमाथि उनले राखेको कुदृष्टि धेरै नै खेदजनक बन्दछ ।

 

अहिले सार्वजनिक भएका सरकारी दस्तावेजहरूले खुलासा गरे अनुसार सो सरकारी जग्गा हडप्ने कुत्सापूर्ण योजना मुख्यतः भाटभटेनी सुपर मार्केट चेनका मालिक मीनबहादुर गुरुङ र घरजग्गा कारोबारी रामकुमार सुवेदी तथा शोभाकान्त ढकालले बनाएको र त्यसलाई आफ्नो समयका शक्तिशाली नोकरशाह ंमन्त्रीद्वय छविराज पन्त र माधवप्रसाद घिमिरेले आफ्नो अख्तियारको दुरुपयोग गरी टुंगोमा पु¥याएका थिए भन्ने देखिन्छ । आफ्नो समयका ती निकै चल्तापुर्जा नोकरशाहहरूले गरेको अख्तियारको दुरुपयोगलाई रोक्नुपर्ने जिम्मेवारी बोकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपबहादुर बस्नेतले त्यसलाई रोक्नुको सट्टा दुरुत्साहन गरी सो लूटबाट आफ्नो हिस्सा लिएको रोचक प्रसङ्ग पनि हालै उदाङ्ग भएको छ । गुरुङहरूले गरेको लूटबाट हिस्सा हत्याउने काममा दीप बस्नेतलाई धेरैले साथ दिएको देखिन्छ जसमध्ये अलि बढी चर्चा पाएका छन् सत्ताशीन दलका महासचिव, पदाशीन सांसद एवम् पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले । लुम्बिनी अञ्चलका प्रभावशाली वामपन्थी नेता पौडेलले पनि सरकारी जग्गा ब्रह्मलूटमा सामेल भई काठमाडौको उच्च महत्वको इलाका बालुवाटारको आठ आना बहुमूल्य जग्गामा हातसाफ गरेका रहेछन् ।’ समयबद्ध साप्ताहिकबाट