राष्ट्रपतिको आजदेखि चीन भ्रमण, छ विषयमा सम्झौता हुने

राष्ट्रपतिको आजदेखि चीन भ्रमण, छ विषयमा सम्झौता हुने

११ वैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको नौ दिने चीनको राजकीय भ्रमणका क्रममा छ वटा दुई देशीय सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

२५ अप्रिलदेखि चीनमा शुरू हुने दोस्रो ‘द बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सम्मेलनमा भाग लिने गरी हुन लागेको राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर गर्ने प्रतिनिधिमण्डल समेत सहभागी हुने भएको छ ।

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिनको उपस्थितिमा  अप्रिल २९ मा दुई देशबीचका सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ मा गरेको चीन भ्रमणका क्रममा गरेको नेपाल चीन परिवहन यातायात सम्झौताको कार्यान्वयनका तपसिलहरूमा गरिने सम्झौता महत्वपूर्ण छ । यो सम्झौताबाट नेपालले शेन्जेन, लियायुंगाग, झानजियाङ र तियान्जिङका समुद्रको बाटो उपयोग गर्न पाउने भएको छ । यसले भारतमाथिको एकल निर्भरतालाई घटाउने छ ।

भारतका बन्दरगाहका अलावा नेपालले चीनका बन्दरगाहको उपयोग गर्न पाउने छ ।

परराष्ट्र स्रोतका अनुसार कलाकृतिको अवैध ओसार पसार रोक्ने सम्झौतामा हस्ताक्षर हुन सक्नेछ ।

बीआरआई अन्तर्गत हिमालपारिका बहुआयामिक सम्पर्क सञ्जालसम्बन्धी सम्झौता, भन्सार र मौसमको जानकारीबारे आदान प्रदान गर्ने सम्बन्धी सम्झौतहरू रहेका छन् ।

बीआरआईको पहिलो सम्मेलनमा नेपालको तर्फबाट उपप्रधानमन्त्रीको रूपमा हालका सभामुख कृष्णबहादुर महराले भाग लिएका थिए ।

नेपालबाट बीआरआईको दोस्रो सम्मेलनमा राष्ट्रपतिको भ्रमणका क्रममा दुईपक्षीय सम्झौतामा हस्ताक्षर हुने गरी यो राजकीय भ्रमणको आयोजना भएको छ ।

 यो भ्रमणको बदलिदो भूराजनीतिक परिवेशमा ठूलो कुटनीतिक महत्व रहेको कुटनीतिज्ञहरूको बुझाइ रहेको छ ।