शेयर बजारमा नयाँ माहोल, नेप्सेको बृद्धिसँगै लगानीकर्ता उत्साहित

शेयर बजारमा नयाँ माहोल,  नेप्सेको बृद्धिसँगै लगानीकर्ता उत्साहित

११ बैशाख, काठमाडौं । पछिल्लो समयमा निरन्तर उकालो यात्रामा रहेको शेयर बजार बुधबार झण्डै २० अंकले बढेको छ । कारोबारमा आएका अधिकांस कम्पनीहरुको शेयरमा कारोबार चाप देखिएको छ भने लगानीकर्ताहरु बाणिज्य बैंकहरुतिरै झुम्मिएका देखिन्छन् । नेप्सेको बृद्धिसँगै लगानीकर्ता उत्साहित देखिन्छन् । धेरै समयपछि बजारबढेसँगै लगानीकर्ताको हँसिलो मुहार देख्न सकिन्छ । 

११ सय अंकको विन्दू नै न्यूनतम विन्दू भएको र अब शेयर बजार बुलिस बाटोमा लाग्ने विश्वाससँगै लगानीकर्ताले निर्धक्कसाथ शेयरमा लगानीगर्दा बजार चम्किएको हो । पुराना लगानीर्तामा थप जोश बढेको छ भने नयाँ लगानीकर्ता पनि थपिन थालेका छन् । दिनहुँ जसो शेयर सम्पति बढ्दा भरखरै मात्र किनवेचमा सक्रिय लगानीकर्ता समेत दंग परेका छन्। नयाँ वर्ष लागेपछि नयाँ माहोल बनेको अनुभुती शेयरबजारमा भईरहेको छ । अब दिगो सुधारतर्फ अघि बढ्न थालेको विश्लेषणहरु भइरहेका छन् ।

नेप्से सूचक बुधबार १९.१४ अंकले बढेर १२७९.२९ विन्दुमा अडिएको छ । बजार समग्रमा १.५२५ ले सुधार भएको हो । १७२ कम्पनीको ९५ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ३४ लाख ८ हजार ३७४ कित्ता शेयर खरिदबिक्री भएका छन् । 

नेप्सेमा १० वटा समूहको शेयर कारोबार भएकामा ८ समूहका सूचक बढेका छन् भने २ वटा समूह मात्र ऋणात्मक छन् । सबैभन्दा धेरै होटेल समूहको सूचक ६०.११ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहमा २७.२ अंक र विकास बैंक समूहको सूचक ३९.३४ विन्दुले माथि लागेका छन् । 
 
कारोबार रकममा नेपाल बैंक अगाडी रहेको छ , यस्को ९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।