बाँके जिल्लामा पनि गाउँपालिकाका पदाधिकारी नै नदी दोहनमा सक्रिय 

बाँके जिल्लामा पनि गाउँपालिकाका पदाधिकारी नै नदी दोहनमा सक्रिय 

बाँके, ११ बैशाख । देशभरका अधिकाँश नदीजन्य पदार्थको अबैध उत्खनन् एवम् दोहनमा गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानीय नेता, साँसद र उनीहरुका नातेदारको संलग्नता रहेको पाइएको छ । 

जनप्रतिनिधि र सत्तासीन दलका नेता र साँसदहरु नै अबैध रुपमा नदीजन्य प्राकृतिक सम्पदाहरु ढुंगा, बालुवा र गिटी उत्खनन्मा सक्रिय हुँदा उनीहरुलाई कारबाही गर्ने निकाय मुकदर्शक बनेको छ ।

यसै सन्दर्भमा बाँकेको राप्ती सोनारी गाउँपालिका २ का राप्ती नदी, मुगुवा खोला, झिझरी खोला, परुवा खोला, गोभारपुरस्थित सुखार खोला र राप्ती नदीमा रातारात गिट्टी, ढुंगा, बालुवा तथा रोडा अवैध रुपमा चोरी निकासी हुने गरेको छ । 

स्थानीय तथा प्रदेश सरकारको समेत मिलेमतो र संरक्षणमा मापदण्ड बिपरीत नदीजन्य पदार्थ उत्खननमा सक्रिय हुनेहरुमा शक्ति माँ क्रसर उद्योगका दीपेन्द्र खत्री, शमशेरगञ्जस्थित भाग्यलक्ष्मी क्रसर उद्योगका सञ्चालक तथा खजुरा गाउँपालिकाका ६ का वडा अध्यक्ष सुमन मल्ल, राजपुलस्थित राप्ती बालुवा प्रशोधन केन्द्रका सञ्चालक एवम् गाउँपालिका सदस्य ज्ञानु ओली, दीपक क्रसर उद्योगका सञ्चालक दीपक खड्का रहेका छन् । मल्ल र ओलीले तत्कालीन एमालेबाट निर्वाचनमा जितेका थिए । खड्का भने नेपालीका कांग्रेसका महामन्त्री शशांक कोइराला र चर्चित युवा नेता गगन थापाका विशेष सम्बन्ध रहेका हुन ।


जिल्ला समन्वय समिति बाँकेका करारमा कार्यरत कर्मचारी मीन बहादुर मल्लको मिलेमतोमा क्रसर सञ्चालकहरुसँगै अन्य व्यवसायी सुमन मल्ल, नेपाली कांग्रेसका नगर सभापति प्रशान्त विष्ट, हुलाकी सडक निर्माणको बाँकेमा जिम्मा पाएका ठेकेदार तथा दाङका कांग्रेसी कार्यकर्ता तुलसीराम भण्डारी र सन्तोष बुढाले गैर कानूनी रुपमा मापदण्ड मिचेर क्रसर सञ्चालन गरेको पाइएको छ ।

क्रसर माफियाहरु यतिबेला गाउँपालिकाका कर्मचारी तथा पदाधिकारीलाई आर्थिक प्रलोभनमा पारी सेटिङमा टेण्डर मिलाइसकेका छन् । जिल्ला विकास समन्वय समितिका सभापति अजय श्रीवास्तव समेत यो धन्दामा जोडिएको समाचार छ । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको समेत यसमा संरक्षण रहेको चर्चा छ ।  

सोही गाउँपालिका वडा नं २ का मदन ओली र वडा नं. ६ का अध्यक्ष जनक बहादुर थारुले जथाभावी रुपमा उत्खनन सिफारिस समेत दिने गरेको पाइएको छ । अध्यक्ष थारुले गत माघ ४ देखि १८ गते सम्म २३ पटक घर बनाउने प्रयोजनका लागि बालुवा, गिट्टी, ढुंगा उत्खनन् गर्ने अनुमति दिँदा ठेकेदारहरुले चाहिने भन्दा बढी उत्खनन् गरी रातारात ढुवानी गरेका थिए । 

जसका कारण स्थानीय सडकको अवस्था नाजुक बनेको छ भने बायु र ध्वनी प्रदुषणका कारण धेरै बालबालिकाहरु बिरामी पर्ने गरेको स्थानीयको गुनासो छ ।  

यो पनि पढ्नुहोस 

राप्ती र बबईको दोहनमा नेता सक्रिय

दरौदीमा गोरखकाली क्रसर उद्योगको दादागिरी, प्रदुषणले विद्यालय नै प्रभावित

दरौंदी दोहनमा सुरेन्द्रलाई सांसदको साथ

जनप्रतिनिधिहरु नै अवैध उत्खननमा सक्रिय