लिम्बूहरु किरात हुन ?

लिम्बूहरु किरात हुन ?


भवानी बराल

किरात र लिम्बूको सम्बन्ध के हो भन्ने प्रसङ्गमा केही लेखकहरूले लिम्बूहरू किरात नै होइनन् भन्ने तर्क सारेपछि अन्योल सिर्जना हुँदै आएको छ । लिम्बूहरू वास्तवमा नामको पछि जात वा थर नलेख्ने वा नझुण्ड्याउने समूहमा पर्दछन् । उनीहरूले लिम्बू लेख्न अगावै ६ पुस्तासम्म राय लेखेको पाइएको छ । 

यसै ताका कतिपय लिम्बूहरूले सेन लेखेको पनि पाइन्छ । योभन्दा अगाडि केही पुस्तासम्म नामको पछि हाङसमेत जोडेको पाइएको छ । हाङ शब्दको प्रयोग गर्नुभन्दा पहिले नाम मात्र उल्लेख गरिन्थ्यो । जस्तै ः यलम्बर, गास्ती, स्थुङ्को आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ । तत्कालीन समयमा जात वा थर लेख्ने वा भन्ने प्रचलन थिएन । राय थरसमेत उपाधिको रूपमा प्रयोग गरिएको थियोे । यसको अर्थ राजा भन्ने हुन्थ्यो । राय पदवी धारण गर्ने पहिलो व्यक्ति विजयपुरका राजा पुङलाइङ हुन् । यिनी कोचवंशी थिए भन्ने विद्वान्हरूको भनाइ छ । इतिहासकार इमानसिं चेम्जोङले भने साक्वादेन थरका लिम्बू भनी लेखेका छन् । उनी आजको तुम्बाहाम्फे, निङ्लेकु, पङ्यागु, सिंगकलगायतका लिम्बूहरूको पुर्खा हुन् । दोस्रो राय पदवी धारण गर्ने व्यक्ति मुरेहाङ हुन् । उनी खेवाहाङहरूको पुर्खा मानिन्छन् । खेवाहाङहरूले पनि ६ पुस्तासम्म राय लेखेपछि लिम्बू लेख्न थालेको पाइन्छ । 

पश्चिम नेपालमा राय पद धारण गर्ने जुम्लाका राजा पुष्प मल्ल हुन् । उनले सन् १३३७ मा राय पदवी धारणा गरेका थिए । विजयपुर राज्यमा सेनहरूको राज्य भएताका अरुणपूर्वका सबै किरातहरूले राय लेख्ने प्रचलन थियो । यो राय उपाधि किरातहरूलाई दिइएको थियो । यो उपाधि किरात लिम्बूहरूले ६ पुस्तासम्म लगातार प्रयोग गरे । काठमाडौं उपत्यकामा ३३ पुस्तासम्म शासन सञ्चालन गर्दा होस् वा काँगडा सतलज उपत्यकादेखि पाटक पताञ्जली एवम् गन्धवी राज्यमा राज्य चलाउँदा होस् उनीहरूले कहिल्यै नामको पछि जात वा थर लेखेनन् । किरातहरू जातिवादी थिएनन् । उनीहरूमा जातीय अहंकार पनि थिएन । हिन्दू अतिवादी राजा पृथ्वीनारायण शाहको हमलाबाट वल्लो तथा माझ किरात हडपेपछि पल्लो किरातमा आँखा लगाए । पल्लो किरात लिम्बूवानसँग कयौंपटक युद्धमा नराम्ररी हार खान पुगेपछि गोर्खा राज्य विस्तारको क्रममा राजा पृथ्वीनारायण शाहले सम्झौता गरे । त्यसपछि पृथ्वीनारायण शाहका अमाल प्रशासकहरूले जात वा थरको खोजी गर्न थाले । यसबाट राई–लिम्बूहरूमा पहिचानको खोजी भयो । 

यही क्रममा केहीले आफू राय लिम्बू भएको बताए । त्यही राय शब्द विशेष गरेर रणबहादुर शाहदेखि यता जारी भएका लालमोहरहरूमा राई भनी प्रयोग गरिएको छ । कतिपयले अघि आफ्ना पूर्वजको सम्झना गर्दै याक्थुङहाङ लिलिमहाङको सन्तान भएको बताए । कतिले खाम्सोसोहाङ खम्बुकहाङको सन्तान भएको बताए । यहीँबाट खस पर्वतेहरूले उनीहरूलाइ लिम्बू र खम्बू भन्न थाले । यही भनाइलाई हड्सन पाण्डुलिपिमा लिम्बूहरू आपूmलाई याक्थुङवा भन्न रुचाउँछन् तर खस पर्वतेहरूले उनीहरूलाई लिम्बू भन्न थाले भनी लेखेका छन् । त्यसैगरी जे. आर. सुब्बाले धेरै इतिहासकारहरूले लिम्बू शब्द सन् १७७४ पछिको गोरखाली भनाइ हो भनी आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । त्यसरी नै काजिमान कन्दङ्वाले सन् १९९० मा सेनहरूको राज्यकालभरि किरातहरूलाई राय भनियो र पछि गोरखालीसँग सम्झौता भएपछि लिम्बू भन्न थालियो भनेका छन् । 

नेपाल खाल्डोबाट किरातहरू विस्थापित भई याक्थुङहाङ लिलिमहाङ र खाम्सोसोहाङ अलग भएपछि यिनैका सन्तान आजका लिम्बू र राई भएका हुन् । यिनीहरू वास्तवमा एकै सन्तान थिए । राजधानी सार्ने कुरामा मत विभाजन भइ दुई जातिमा विभक्त भएका हुन् । तत्कालीन समयमा राई र लिम्बू नभनिए तापनि कालान्तरमा आएर तिनै समूह राई र लिम्बू जातिको रूपमा चिनिए । दूधकोशीको सिमाना पृथ्वीनारायण शाहले अरुण पश्चिमका सबै भूभाग जिती अरुणपूर्व छिर्न नसकेपछि अरुण सिमानाको रूपमा विकास भएको हो किनकि अरुण पारिका धेरै ठाउँहरूमा लिम्बू सेनाहरूले लडेको प्रमाणहरू फेला परेका छन् । लिम्बूवानको गठन हुँदा छ थरबाट दूधकोसीसम्म खेवाहाङहरूले शासन गरेको कुरा डा.हर्क गुरुङ ‘मैले देखेको नेपाल’ नामक यात्रा संस्मरणमा उल्लेख गरेका छन् । खेवाहाङहरूले खोटाङमा चाम्लिङचिम्लिङ गढ निर्माण गरेको कुरा इमानसिं चेम्जोङले आफ्नो पुस्तकमा लेखेका छन् । 

अघिल्ला लेखहरूमा प्रत्येक जातीय समुदायमा तीन समुदायको सम्मिश्रण भएको कुरा उल्लेख भइसकेको छ । ती तीन समूहमा तिब्बती, चिनियाँ र किरात पर्दछन् । ती तीन समुदाय राई, लिम्बू, गुरुङ, मगर, तामाङ प्रायः सबै जातिमा सम्मिश्रित रूपमा पाइन्छ । अझ नेवार समुदायमा ब्राह्मण क्षेत्रीहरूको समेत मिश्रण छ । जस्तै–उदाहरणको लागि आचार्यले बौद्ध मत ग्रहण गरेपछि बज्राचार्य नामक छुट्टै थरको विकास भएको पाइन्छ । यता तत्कालीन समयमा बस्ती पातलो हुँदा भैयाद (भाइसरह) बनाएर भए पनि राख्ने चलन चलाएका थिए । यसर्थ कुनै पनि जाति शुद्ध  रहेको छैन । त्यसरी नै राई जातिमा पनि किरातहरू मात्र रहेका छैनन् । 

राई जाति चीनको खाम प्राप्तबाट अरुणको गडतिर हुँदै खम्बुवानमा बसोबास गर्न आइपुगेको पाइएको छ । खाम्सोसोहाङका सन्तान भने बनेपाबाट पूर्व प्रस्थान गरेको पाइएको छ । राई जातिमा तिब्बती र चिनियाहरूको पनि सम्मिश्रण रहेको पाइन्छ । यता याक्थुङहाङ लिलिमहाङ शब्दबाटै पूर्वमा ‘याक्थुङ लाजे’ र पछि राज्यको पुनर्संरचना गर्दा ‘लिम्बुवान’ राज्यको नामाकरण गरिएको हो । त्यसैले लिलिमहाङका सन्तान नै आजका लिम्बू जाति हुन् । याक्थुङहाङ लिलिमहाङ उपत्यकाका अन्तिम किरात राजा योक्नेहाङका छोरा भएको र योक्नेहाङ उपत्यकाका अन्तिम किरात राजा भएकाले पनि किरात र लिम्बूबीच वंशानुगत सम्बन्ध रहेको पाइन्छ । लिम्बू जाति किरात होइन भन्ने भनाइ सत्य छैन  । 

आठ किरात र लिम्बू विद्रोहपछि लिम्बूवान भएको तथ्यले लिम्बू जाति किरात होइनन् भन्नेहरुलाई दिग्भ्रमित तुल्याएको हुनसक्छ तर बिर्सनै नहुने कुरा आठ किरात–चिनियाँ सरदारका सन्तानबीचको विद्रोहपछिका आठ किरातहरु पनि केही लिम्बू भएका छन् । अर्को लिम्बू र लिम्बूवान शब्द किरात राजा याक्थुङहाङ लिलिमहाङकै नामसँग सम्बन्धित छ । लिम्बू र लिम्बूवान शब्द अरुबाट आयातित होइन ।