नेपाल चौबाटोको मादल : जसलाई मन लाग्छ मज्जाले बजाउने !

नेपाल चौबाटोको मादल : जसलाई मन लाग्छ मज्जाले बजाउने !

१२ वैशाख, इलाम । विदेशी अझ पछिल्ला समय पश्चिमा देशहरुको तीब्र गतिविधि हेर्दा नेपाल चौबाटोको मादल जस्तै भएको छ, जसलाई जतिखेर बजाउन मन लाग्छ बजाउने !

भारत निकट संस्था र राजदुतावासले त कुनै अनुमति नलिई नेपालमा आफ्ना गतिविधि बढाएकै हो, अब पश्चिमा देशका संस्था र पश्चिमा राजदुतहरुले पनि विभिन्न विकास परियोजना, सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन लागि समन्वय एवम् सहजीकरणको नाममा आफ्नो नीति लागू गर्ने र नेपालको र छिमेकी देशको सार्वभौमिकतामा गम्भीर प्रभाव पार्ने कार्यमा सक्रिय रहेका छन् । 

विभिन्न क्षेत्रमा भ्याइसकेर आज वैशाख १२ गते अमेरिकन कर्नर संस्था ‘एक्सन फर डिजास्टर प्रिपरेशन ग्रुप’ इलामका विभिन्न विद्यालयमा अन्तरक्रियामा सहभागी हुने भन्दै यहाँका प्रशासन त्यसको सुरक्षा र व्यवस्थापनका लागि दौडधुप गरिरहेका छन् । 
 
अमेरिकी राजदुत रेण्डी वेरी पनि आजै इलाम पुगेर इलाम–७ स्थित आदर्श माविको अंग्रेजी कक्षा अवलोकन गर्ने तयारी गरेको भन्दै अमेरिकी दुतावासका कर्मचारीले बताएका छन् । भारतमा निर्वाचन भइरहेको र त्यसको सीमा नजिक उनको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यहाँ स्मरणीय छ, पूर्व राजा ज्ञानेन्द्र शाहले पनि यही क्षेत्रमा पुगेर सेल्फी खिचेका थिए ।  
 
अमेरिकी दुतावासका क्षेत्रीय भाषा अफिसर विश्व गौतम, लाइब्रेरियन अफिसर एलिना शाक्य लगायत वैशाख ११ गते नै होटेल भ्युमा बसेका छन् ।