राजपामा झा र यादवलाई संयोजक रोक्ने चाल

राजपामा झा र यादवलाई संयोजक रोक्ने चाल

१३ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलका नेताहरू अनिल झा र राजकिशोर यादवलाई संयोजक बन्न नदिने योजना अनुसार पदाधिकारीहरूबाट अध्यक्ष मण्डल भंग गर्ने प्रस्ताव ल्याइएको झा र यादव निकट नेताहरूको बुझाइ छ ।

राजपाले बिहीबार बसेको पदाधिकारी बैठकबाट निर्णय गर्न सकेनन् ।

पदाधिकारीहरूको बैठकमा बोल्ने क्रम बिहीबार सके पनि अध्यक्ष मण्डलका नेताहरूले पार्टी बैठक लम्ब्याएर शुक्रबार सारे ।

पदाधिकारीहरूले नेतृत्वको गरेको चर्को आलोचनाबाट अध्यक्ष मण्डलका नेताहरू चिन्तित हुन पुगेको पार्टीको एक नेताले जनाए ।

ती नेताका अनुसार उनीहरूले ठाकुरलाई सर्वमान्य नेता मान्न तयार छन् तर अधिकार सम्पन्न नेताको रूपमा मान्न तयार छैनन् ।

पदाधिकारीहरूले बोल्ने अधिकांशले स्पस्ट र चर्कोरूपमा पार्टीले महन्थ ठाकुरको संयोजकबाट हटाएर चक्रिय प्रणालीमा संयोजक बनाउने निर्णय गरेको काम गल्ती भएको बताएका थिए ।

 यो निर्णयलाई सच्च्याउने कामको रूपमा ठाकुरलाई अधिकारसम्पन्न नेताको रूपमा बनाउन अध्यक्ष मण्डलले अधिकार दिनुपर्ने रायसुझाव अध्यक्ष मण्डलका सदस्यहरूका लागि गाह्रो काम भएको छ ।

चक्रिय प्रणाली अनुसार अहिलेसम्म राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी संयोजक बनिसकेका छन् । संयोजक पाउनेहरूमा अनिल झा र राजकिशोर यादव रहेका छन् । उनीहरूले आफूहरू पनि संयोजक पाउनुपर्ने अपेक्षा गरेका छन् । उनीहरूले आफ्ना निकट भन्ने गरेका छन् जे गर्नुपर्ने हो हामी पनि संयोजक बन्नु पर्छ ।

पार्टीका एक नेता अनुसार पदाधिकारी बैठकबाट आएको सुझाव र अध्यक्ष मण्डलका नेताहरूको आंकाक्षालाई ध्यान दिएर निर्णय हुने भएको छ । यसअघि शरतसिंह भण्डारीको संयोजकत्वका बेला बसेको बैठकबाट ठाकुरलाई महाधिवेशन मूल आयोजक समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यसलाई पूर्णता दिने आवश्यक कार्यविधिको आवश्यकता रहेको छ । त्यसलाई तय गर्न एक समिति बनाइनेछ । अर्को अध्यक्ष मण्डलका बाँकी दुई सदस्यले पनि चक्रिय प्रणाली अनुसार संयोजक बन्नु पर्ने पार्टीको सम्मानका लागि आवश्यक भएको छ । यसबारे निर्णय गरिनेछ ।

यसका लागि चार महिनाको समय लाग्छ । दुई दुई महिनाको संयोजकको कार्यविधि तोकिएकोमा झा र यादवलाई उनीहरूको कार्यविधिमा कार्य गर्न दिनुपर्ने प्रस्तावमा अध्यक्ष मण्डलले छलफल गर्नेछ ।

यो विधि ६ पार्टी एकीकरण गर्ने बेला बनेको थियो । तर पार्टीका सहअध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव सहमहासचिव र सचिवलगायतका पदाधिकारीहरूले ठाकुर नेतृत्वको महाधिवेशन मूल आयोजक समिति गठन गरी अघि बढ्नुपर्ने दबाब दिएका छन् ।

यसअघि शरतसिंह भण्डारीद्वारा प्रस्तावित तथा राजेन्द्र महतो समर्थित महाधिवेशन गर्ने प्रस्तावलाई पदाधिकारी बैठकले अस्वीकार गरेको छ । उनीहरूले वडादेखि माथिका सबै निकायमा प्रतिनिधि छनौट गरी सम्मेलन गरी महाधिवेशन पूरा गर्ने निर्णय हुनुपर्ने बताएका छन् । पार्टीको अध्यक्ष मण्डल अहिले सबैभन्दा शक्तिशाली निकाय भएकाले यो सबै निर्णय अध्यक्ष मण्डलमा जानेछ । त्यहाँ अहिले ठाकुर तटस्थ बसेका छन् । पाँच जनाले गर्ने निर्णयलाई आफू मान्ने सहमति दिएकाले संयोजक शरतसिंह भण्डारी र राजेन्द्र महतोलाई अनिल झा र राजकिशोर यादवको आंकाक्षा अनुरूप निर्णय गराउने योजना बनाउन सहज हुने पार्टी नेताहरूको बुझाइ छ । 

झा र यादव निकट स्रोतका अनुसार उनीहरूको पार्टीको एकीकरण सम्मानपूर्वक भएको दर्शाउन पनि यी दुईलाई संयोजक बनाउनुपर्ने आवश्यकता रहेको छ । 

ठाकुरलाई संयोजक बनाउने काम गलत भएको भनाइ पदाधिकारीहरूको सही हो भन्ने सहभागी पार्टीहरूको सम्मान गर्नु पनि लोकतान्त्रिक विधि र सम्मानको दृष्टिले महत्वपूर्ण हुन्छ । चक्रिय प्रणालीबाट एउटा संयोजक बन्ने र अर्को बन्न नपाउनु उचित नहुने उनीहरूको बुझाइ छ ।