निकारागुवा र क्युवामा भेनेजुयलाजस्तै गर्ने अमेरिकी दाउ

निकारागुवा र क्युवामा भेनेजुयलाजस्तै गर्ने अमेरिकी दाउ

अमेरिकाले निकारागुवा र क्युवामा भेनेजुयलामा गरेजस्तै सत्ता कब्जा गर्ने योजना बनाएको रूसी गुप्तचर संस्था जीआरयुका प्रमुखले सत्तर्क गराएका छन् । ल्याटिन अमेरिकाका समाजवादी सरकारहरूलाई ध्वस्त पार्ने योजना अनुसार अमेरिकाले यस्तो योजना बनाएको प्रमुख इगोर कोस्त्युकोभले खुलाए ।

ल्याटिन अमेरिकाका लागि सुरक्षा खतरा थप्नु अमेरिकाको विदेश नीति रहेको मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा उनले यस्तो बताए । अमेरिका ल्याटिन अमेरिकाको पूर्ण क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्यले यस्तो नीति लिएको हो । अमेरिकाको विदेश विभागले ल्याटिन अमेरिकामा आफ्नो प्रभाव विस्तार गर्न वर्सेनी कम्तीमा १.५ अर्ब अमेरिकी डलर बराबरको खर्च औपचारिक रूपमा गरिआएको छ । विशेष र गैर बजेट कार्यक्रम खर्च त यो क्षेत्रका लागि धेरै बढी रहेको छ ।

निकारागुवामा अमेरिका समर्थित प्रतिपक्षीले राष्ट्रिय संवादलाई बिथोलिरहेको छ । उनीहरूले विरोध गरिरहेका छन् । डेनियल आर्टेगाको सरकार र प्रतिपक्षबीच फेब्रुअरीमा वार्ता शुरू भएको थियो ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले निकारागुवा र क्युवा विरूद्ध आर्थिक नाकाबन्दी थप्ने निर्णय गरेको थियो ।

भेनेजुएलामा निर्वाचित राष्ट्रपति निकोलास मदुरोको सत्ता कब्जा गर्न अमेरिकाले त्यहाँको एक प्रतिपक्षी नेता जुआन गुआइदोलाई अन्तरिमकालीन राष्ट्रपति घोषणा गर्न  लगाएको थियो ।