दुई (कृष्णप्रसाद र बाबुराम) भट्टराईको एउटा कथा

दुई (कृष्णप्रसाद र बाबुराम) भट्टराईको एउटा कथा


भवानी बराल
    
‘किसुनजी’ उपनामले बढी परिचित नेताको नाउँ चाहिं कृष्णप्रसाद भट्टराई हो । उनका बाजे खलकहरु नेपालका राजाका दरबारिया पुजारी थिए । उनको पुख्र्यौली घर गोरखा जिल्ला हो । दरबारमा हुने गडबडीमा परेपछि उनको परिवार पनि काँशी (वनारस) वासी भए । कृष्णप्रसाद उतै जन्मे हुर्के बढे । भारतमा त्यतिखेर अंग्रेजको शासन चल्दथ्यो । अलि ठूलो भएपछि किसुनजी अंग्रेज विरोधी आन्दोलनमा लागे । 

यता नेपालमा चाहिं राणा शासन थियो । उनले  राणा सरकारको मूलोच्छेदन गर्न पर्ने ठह¥याए र वी.पी. कोइराला, सुवर्ण शमशेरहरुसँग मिलेर नेपाली कांग्रेस पार्टी खोले । यो वि.सं. २००६ साल चैत २७ गते कलकत्ताको कुरा हो । सुवर्ण शमशेर धनीमानी थिए । कलकत्तामा रहेका राणाखलक महावीर शमशेरको टाइगर सिनेमा हलमा भएको भेलाले कांग्रेस पार्टी गठन ग¥यो । 
    
काङ्ग्रेस पार्टी गठन भए लगत्तै राणा विरुद्ध सशस्त्र विद्रोह भयो । त्यही विद्रोह सफल भएपछि २००७ साल पागुन ७ गते प्रजातन्त्रको  घोषणा भयो । त्यतिबेलाका राजाहरुले प्रजातन्त्रलाई संस्थागत गर्न चाहेनन् । विसं २०१५ सालमा राजा महेन्द्रले संसदको चुनाव गराए । यो चुनावमा कांग्रेसले दुई तिहाइ सिट जित्यो । किसुुनजी चाँहि आफू नै पुख्र्यौली थलो गोरखाबाट चुनाव हारे । चुनाव हारे पनि वी.पी.ले उनको योग्यताको कदर गर्दै संसदको सभामुख बनाइदिए  । वि.सं. २०१७ साल पुष १ गते राजा महेन्द्रले संसदीय व्यवस्थालाई खारेज गरे । वीपीसहित थुप्रै कांग्रेसीलाई जेल हाले । 

    राजा महेन्द्रले २०१९ सालमा पञ्चायत व्यवस्था लागू गरे । किसुनजी पनि जेल परे । वीपी जेलबाट छुटेर भारत गए । तर किसुनजी भारत गएनन् । उनी नेपालमै बसेर गान्धिवादी क्रान्ति गर्नु पर्छ भन्थे । पछि ०३३ सालमा वीपी पनि ‘राष्ट्रिय मेलमिलापको नीति’ लिई नेपाल फर्के । ०३६ सालमा विद्यार्थी आन्दोलन उठ्यो । राजा वीरेन्द्रले पञ्चायत र बहुदलकाबीचमा जनमत संग्रह गराए । 

पञ्चायतले २४ लाख र बहुदलले २० लाख ल्याएको तथ्याङ्क देखाएर पञ्चायतलाई जिताइयो । त्यसपछि ०४६ सालमा काङ्ग्रेस र बाम मोर्चा मिलेर पञ्चायतको विरोधमा संघर्ष गरे । पञ्चायतले ५० दिनमा घँुडा टेक्यो । राजा वीरेन्द्रले बहुदलको घोषणा गरे । ०४७ सालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा किसुनजी नियुक्त भए । एक वर्षभित्रैमा उनले ०४७ सालको संविधान निर्माण गरेर राजामार्फत घोषणा गर्न लगाए । प्रधानमन्त्री हुनु अगाडिसम्म भान्जाको घरमा बसेका किसुनजीले प्रधानमन्त्री निवास बालुवाटार जाँदा पुरानो पानी खाने माटोको सुराइ, छाता र एउटा टयाङ्का लिएर गएका थिए । ०४८ सालको आमचुनाउमा काठमाण्डौ निर्वाचन क्षेत्रबाट हारे । उनले लगेको त्यहि सुराइ, छाता र ट्याङ्का लिएर बालुवाटारबाट निस्के ।  

यसपछि भने किसुनजी निकै निरास भए । सर्वमान्य नेता गणेशमान सिंहले पनि गिरिजा शैलीको विरोध गर्दै काङ्ग्रेस छोडे । ०५१ सालमा मध्यावधी चुनाउ भयो । कांग्रेसले बहुमत ल्याउन सकेन । त्रिसंकु संसद बन्यो सरकार गठन विघटन भइ रहे । सुरुमा ठूलो दलको नाताले एमालेले सरकार बनायो । यो सरकार ९ महिनामा ढलेपछि पूर्व पञ्च सूर्यबहादुर र लोकेन्द्र बहादुरलाई काङ्ग्रेस एमालेले पालैपालो प्रधानमन्त्री बनाए । ०५४ सालमा एमाले पार्र्र्टी पनि फुट्यो । त्यसपछि गिरिजाप्रसादले पहिले फुटेको माले र त्यसपछि एमालेसंग मिलेर सरकार बनाए । 

०५६ मा फेरि आम चुनाव भयो । कांग्रेसले किसुनजीको नेतृत्वमा चुनाव लड्यो । कांग्रेसले सामान्य बहुमत ल्यायो । किसुनजीले पहिलो पटक पर्साबाट चुवाव जिते । दोस्रो पटक उनी प्रधानमन्त्री चुनिए । त्यही सुराई, छाता र ट्याङ्का लिएर वालुवाटार छिरे । प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि फेरी त्यहि सामान लिएर फर्किए । 

०५८ मा राजा वीरेन्द्रको वंश नास भयो । ज्ञानेन्द्र राजा भए । होलेरीमा माओवादी विरुद्ध तत्कालीन शाही सेना परिचालन गर्न नदिएपछि गिरिजाले राजीनामा दिए । शेरबहादुर प्रधान मन्त्री बने । शेरबहादुरले संसद विघटन गरेपछि विस्तारै राजाले अधिकार लिँदै गए । ०६३ वैशाख १० गतेसम्म राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन चल्यो । यसबीचमा किसुनजीले कांग्रेस छोडिसकेका थिए । ललितपुरको बोडे आश्रममा उनको अन्तिम दैनिकीहरु सन्तमहन्त झैं विते । जिन्दगीभर सक्रिय राजनीति गरेका किसुनजीको अन्तिम दिन कुनै सन्तको झैं एकान्तवासमा वित्यो । ०६७ फागुन २१ गते उनको मृत्यु भयो ।
    
किसुनजीको सक्रिय राजनैतिक जिवनकै समयमा गोर्खा जिल्लाकै त्यो पनि भट्टराई बाहुनकै घरमा १८ जुन १९५४ मा वालक बाबुराम जन्मेका थिए । उनी एसएलसीमा बोर्ड प्रथम भएपछि उनको नाम चल्न थाल्यो । कहिल्यै दोस्रा नभएका उनले इन्जिनियरिङ गर्दै विद्यावारिधि गरे । अखिल भारत नेपाली विद्यार्थी संघमार्फत नेपाली राजनीतिमा लागेका बाबुराम ०४६ सालको आन्दोलनमा आइपुग्दा आन्दोलनको एक घटक संयुक्त राष्ट्रिय जनान्दोलन संयोजन समितिको प्रवक्ता थिए । ०४८ सालमा मशाल, विद्रोही मसाल र सर्वहारावादी श्रमिक संगठनको एकीकरण पछि बनेको एकता केन्द्रको नेता बने र त्यसको खुल्ला संगठन संयुक्त जनमोर्चाको अध्यक्ष भए । ०४८ सालको संसदीय निर्वाचनमा यो मोर्चाले ९ सिट जितेको थियो । तर, ०५१ को मध्यावधि निर्वाचन यसले बहिष्कार ग¥यो । २०५२ फागुनमा ४० सूत्रीय माग राख्दै मोर्चा पनि मातृ पार्टी नेकपा (माओवादी) संगै जनयुद्धमा गयो । 

जनयुद्धको समयभरि बाबुराम राजनैतिक विवादमा तानिए । अन्ततः २०६२ असोजको चुनबाङ बैठकमा ‘लोकतान्त्रिक गणतन्त्र’को कार्यदिशा पारित भएपछि उनी स्थापित भए । चुनबाङको त्यहि निर्णयलाई टेकेर सात राजनैतिक दलसंग ०६२ मंसीर ७ गते बाह्रबुँदे समझ्दारी भयो । त्यहि समझदारीको जगमा भएको दोस्रो जनान्दोलनले करिव अढाई सय वर्षको इतिहास भएको राजतन्त्रको अन्त्य ग¥यो । दोस्रो जनान्दोलनका ‘आर्किटेक्चर’ नेपालको प्रधानमन्त्री भए । संविधानसभा निर्वाचनपछिको पहिलो सरकारमा यिनी अर्थमन्त्री थिए । अर्थ मन्त्रालयको कार्यभारलाई जिम्मेवारीपूर्वक निर्वाह गरेकोले लोकप्रिय मानिएका थिए ।
    
राष्ट्रिय सहमतिको पाठ्यक्रम घोक्दै आएका यी कान्छा भट्टराईले परीक्षा दिँदा बहुमतीय विषयको दिए । जनान्दोलनका सहयात्रीसंग सहमतिको कुरा गर्ने कान्छा भट्टराईले मधेसी मोर्चाको टेको समाए । जेठा भट्टराई सुराई, छाता बोकेर लोकप्रिय भएका थिए । कान्छा भट्टराई विदेशी गाडी बहिष्कार गरेर नेपाली गाडि ‘मुस्ताङ’ चढेर लोकप्रिय हुन खोजेका थिए । 

कान्छा गम्भीर छन्, अन्तरमुखी छन् । जेठा हल्का र बहिर्र्मुखी थिए । कान्छा भट्टराई बोलेर विवादमा पर्छन तर जेठा भट्टराईले बोल्दा सबैलाई हँसाउथे । जेठा भट्टराई उन्मत्त हाँसो निकाल्थे, कान्छा यस्तै सयकडा दुई प्रतिशत जति हाँस्दा हुन । जेठा पानमसलाले कालो भएका बत्तिसा देखाएर हाँस्थे । कान्छाको दाँत आजसम्म परिवार बाहेक कसैले देखेका छैनन् होला । दुवै भट्टराई एक अर्का विरोधी विचारका थिए । 

जेठा शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्थे । कांग्रेसले हतियार उठाउँदा पनि उनले विरोध गरे । विदेश बसेर आन्दोलन गर्ने विचारका विरोधी थिए । कान्छाले सशस्त्र विद्रोह नै गरे । १० वर्षसम्म बम बारुद खेलाए । तर अन्ततः उनले पनि बाटो मोडे । कम्युनिष्ट पार्टीलाई संविधान घोषणा भएको अघिल्लो दिन नै सदालाई तिलाञ्जली दिए । १२ जुन २०१६मा नयाँ शक्ति नामको पार्टी गठन गरे । पार्टीको संयोजक बने । उनको पार्टीको पाँच ‘स’ वाला सिद्धान्त छ । कुनै बेला गान्धी बन्ने भनेर नथाक्ने यी कान्छाले नेहरुको बाटो समाए । आफैले बनाएको संविधानको विरोधमा उत्रिन मधेस झरे । 

पहिलो आम चुनाउमा एमाले–माओवादी गठबन्धनमा जान राजी भए । तर, एकसाता नवित्दै बाम गठबन्धन छोडेर कांग्रेसको प्रजातान्त्रिक गठबन्धनमा गए । गोर्खाबाट नारायणकाजी श्रेष्ठलाई हराउँदै सांसद चुनिए । चुनावकै बेलामा यिनको नजिकका राजनैतिक नातेदारले झट्का दिए । धेरैले यिनको पार्टी छोडे । यिनी घुम्न माहिर छन् । विदेशमात्र होइन भर्खरै यिनले मध्यपहाडी लोकमार्गको मेचीकाली छिचोले । पाँचथर च्याङ्थापुदेखि महाकालीको झुलाघाटसम्म कैंयौ सभाहरु गरे । 

जेठाले विवाह गरेनन । नातेदारलाई राजनीतिमा पनि ल्याएनन् । कान्छाका जहान परिवार छन् । पत्नी हिसिला पार्टी राजनीति र छोरी मानुषी युवा विद्यार्थी राजनीतिमा छिन । कान्छाको उत्तराधिकारी निस्किसकेका छन् । 
    
जेठा भट्टराई गीतामा विश्वास गर्थे । कान्छा माक्र्सवादको भाष्यमा हरदम त्रुटी केलाउँछन । छिद्रबाट छिर्ने राजनैतिक दर्शन निकाल्छन् । जेठा र कान्छा दुबै पार्टी पीडित थिए । पार्टी भित्रका ‘दलित उत्पीडित’ भएरै रहे । संगठनबाट सिमान्तकृत पनि थिए । जेठालाई पार्टीले कहिल्यै सघाएन । अन्ततः उनी काङ्ग्रेसबाटै अलग भए । कान्छाको हालत पनि त्यस्तै थियो । 

कान्छाले ‘धोविघाट’ बैठक गरेर प्रधानमन्त्रीमा आफ्नो नाम उतिबेला बल्लतल्ल चढाएका थिए । उनी आफूलाई एकलव्य ठान्छन् । द्रोणाचार्य को हो उनलाई नै थाहा छैन् । जेठा भट्टराईले प्रधानमन्त्री बन्न बाबुरामले जस्तो ‘धोवी बैठक’ गरेनन् । जेठा भट्टराई नेपाललाई सिङ्गापुर बनाउने कुरा गर्थे । मेलम्चीको पानीले काठमाण्डौ धुने कुरा गर्थे । यो काम नहुँदा एक्लो वृहस्पति भएको दुःखेसो गर्थे । रक्सी खान सांसद भएको मजाक पनि गर्थे । आफ्नो विहे नभएको तर कुमारत्व पनि नरहेको हाकाहाकी बोल्थे । उनी मस्तमौलाना थिए । कान्छा भट्टराई पनि बोल्नलाई चाहिं मुफट नै छन् । उनले एमालेलाई लिङ्ग नछुट्टिएको पार्टी भने । उनी राष्ट्रिय पूँजीको विकास गर्ने कुरा गरिरहन्छन् । प्रधानमन्त्री हुँदा ‘शान्ति, संविधान र राहत’ दिने कुरा गर्थे । के के दिए जनताजनार्दनलाई थाहै होला । उनलाई परबाट चिन्नेहरु हर्फनमौला झैं मान्छन । उतिबेला नजिकबाट चिन्ने उनको पार्टीका वैद्यहरु त्यतिबेलै संशोधनवादी ठान्थे । 

दुबैको केही मानेमा समानता पनि छ । दुवै अध्ययनशील हुन् । दुबै गोर्खा पुख्र्यौली थातथलोका हुन । दुबै दरबारका पुजारी खलकका सन्तान हुन । दुबै पत्रकारिताको माध्यमबाट उदाएका पात्र हुन । कान्छा भट्टराईले जनादेश, झिल्को आदि पत्रिकाको लामो समयसम्म सम्पादन गरे । जेठा भट्टराई नेपाल पत्रकार संघको संस्थापक सभापति नै हुन ।