संसदीय चुनाव : गधाको जन्ती

संसदीय चुनाव  : गधाको जन्ती

भारतमा १७ औं लोकसभाको निर्वाचन भइरहेको छ । तर, यो निर्वाचनले पनि भारतीय जनताको आधारभूत आवश्यकता पूरा गर्न नसक्ने सन्देश दिन त्यहाँ कलाकारहरुले गधाको जन्ती (गधे की बारात) शिर्षकको नाटक मञ्चन गर्दै आएका छन् । 

भारतीय लोकसभाको निर्वाचन विभिन्न मितिमा सात चरणमा हुँदैछ । तीन चरणको निर्वाचन सम्पन्न भइसकेका छन् । जहाँजहाँ निर्वाचन हुँदैछ यो नाटकलाई कलाकारले प्रदर्शन गर्ने गरेका छन् । नाटकमा संसदीय व्यवस्थाको चुनावी नौटंकीलाई हास्यव्यंग्यपूर्ण कटाक्ष गरिएको छ । 

लेखक हरिभाइ वडगांवकरद्वारा लिखित यो नाटकले भारतको धनी र गरीवबीचको खाडल, समाजको खोक्रोपन, राजनीतिको दोहोरो मापदण्डलाई नराम्रोसँग गिज्याएको छ । भारतीय राजनीतिको महासंग्रामको राजनैतिक हलचललाई व्यग्य गर्ने नाटक समूह मंडी हाउस हो ।

नाटकको कथा अनुसार, कुनै गाउँका गंगु कुम्हार नाम गरेका एकजना गाउँलेले देवताका गुरु वृहस्पतीलाई अचानक भेट्छन् । र, उनकै साथ लागेर भगवान इन्द्रको दरबारमा पुग्छन् । इन्द्रको दरबारमा अप्सराहरुको नृत्य भइरहेको हुन्छ । त्यसै समयमा गन्धर्भ चित्रसेनले अप्सरा रंभाको हात समाउँछ । यो देखेर इन्द्रले उनलाई पृथ्वीलोकमा गधाको रुपमा जन्म लिने श्राप दिन्छन् । श्रापबाट मुक्ति पाउन उसले अंधेर नगरीका राजा चौपट सिंहको छोरीसँग विवाह भएपछि मात्र गधाबाट मानव चोलामा फर्किन पाउने शर्त पनि राखिदिएको हुन्छ ।

श्रापबाट मुक्ति पाउन चित्रसेन गधाको रुपमा गंगुको घरमा काम सघाउँदै बस्न थाल्छ । एक दिन राजा चौपट सिंहले छोरीको विहे गर्न झ्याली पिट्न लगाउँछन । यता राजाकी छोरीले राजमहलदेखि मुफलिसको बस्तीसम्म लामो पुल जसले एकैरातमा बनाउन सक्छ त्यसैसंग मात्र विहे गर्ने शर्त राख्छिन । 

चित्रसेन (गधा) ले गंगु कुम्हारलाई आफुले एकै रातमा पुल बनाउन सक्ने शर्त पूरा गर्न सक्ने कुरा राजाको दरबारमा पु¥याउन सहयोग माग्छ । गंगु र उसकी श्रीमती गंगी दरबारमा गएर विन्ती गर्छन । र, शर्त अनुसार चित्रसेन (गधा)ले एकै रातमा पुल बनाउँछ । गंगु उसकी श्रीमती गंगी चित्रसेन –गधा)को जन्ती लिएर राजदरबार जान्छन् । ज्वाँइ गधा देखेर राजा चौपटसिंहलाई औधी रिस उठेको हुन्छ । तर छोरीको शर्त पूरा गरेकोले उनी बाध्य भएर विवाह गरिदिन्छन ।

यसप्रकारले चित्रसेनको श्राप पूरा हुन्छ । ऊ पूर्ववत मानव चोलामा फर्किन्छ । यसपछि चित्रसेनले गंगु कुम्हार उसकी श्रीमती गंगीलाई चिन्न पनि अश्वीकार गर्छ । र, पुल पनि भत्काइ दिन्छ । 

यो नाटकमार्फत जनसाधारणको भोटको माध्यमबाट नेताहरु राजमहलसम्म पुग्छन र पछि जनसाधारणलाई विर्सिदिन्छन भन्न खोजिएको छ । शासनमा पुग्न गरीव गंगुहलाइ उपयोग गर्ने र सत्ताको डंडा उनीहरुमाथि नै थोपर्ने नाटकको सन्देश हो । 

२०७६ साल वैशाख १४

यो पनि पढ्नुहोस

भारतको चौथो चरणको चुनावमा अपराधी र करोडपतिको सहभागिता बढी