विकास पत्रकारिता र जीवहरुको रक्षा

विकास पत्रकारिता र जीवहरुको रक्षा

फणीन्द्र फुयाल (ज्वाला)

हिजोआज विकासका नाममा चिल्ला सडक बनाउने, वन बिनास गर्ने, कंक्रिटका भवन बनाउने, चाहिने भन्दा बढी मात्रामा यातायातका साधन उत्पादन तथा आयात गर्ने र तिनको धूवाँ, धूलो र कार्बनडाइअक्साइड मानव जातीले फोक्सोमा हुल्ने कार्य भइरहेको छ ।

बिज्ञान र बिकासका नाममा एटम बम, आणवीक भट्टी र अत्याधुनिक हतियार बनाउने होडबाजी संसारमा चालिरहेको छ । ध्वसंको यस्तो कृयाकलापलाई बिकास भन्नै मिल्दैन ।

बिश्वका तेस्रो दर्जाका भनिएका (अल्पबिकसित) मुलुकहरु कथित बिकसिक मुलुकहरुका लागि समस्याका बिषय बन्दै गएका छन् (उनीहरुको भाषामा) । अल्पबिकसित मुलुकले वन, जंगल, जडिबुटी, जल, हिमालय, बिश्वबाटै लोप हुँदै गएका जनाबर, किरामिरा आदि नजोगाइदिने हो भने बिकसित भनिएका मुलुकका मानिसहरु एक बर्ष त के एक महिना पनि धर्तिमा टिक्न सक्दैनन् । पर्यावरण र वातावरणका लागि ‘इको सिस्टम’ तिरन्तर चलिरहनु पर्छ ।

त्यसैले बिकास भनेको भौतिक बस्तु मात्र होइन । यो त स्वच्चछ हावा हो, पानी हो । विकास भनेको धर्तिका सबै जीवहरुको जीउन पाउने अधिकार पनि हो । बिकासका नाममा क्लोरोफ्लोरोकार्बन, कार्वनडाएअक्साइड लगायतका घातक तथा बिषाक्त ग्यास र बिकिरणहरु उत्पादन गरेर सेता हिमाल पगाल्न, जीवहरुको नाश गर्न हामी कसैलाई पनि छुट छैन । अबको बिकास पत्रकारिताले यस्ता एजेण्डाहरुको उठान गर्नुपर्छ जसले मानव जातिको मात्र नभई समग्र ब्रम्हाण्डको र यस ब्रम्हाण्डमा बसोबास गर्ने सवै जीवहरुको रक्षा गर्न सकोस्, भलो गर्न सकोस् ।

यस पृथ्वीमा पानीको भाग भन्दा माटोको भाग न्यून छ । तर पनि धर्तिमा बसोबास गर्ने जीवहरुका लागि पानीको हाहाकार मच्चिन थालेको छ । अफ्रिका मात्र होइन कतिपय यूरोपेली, अमेरिकी, र एसियाली मुलुकमा पनि पानीको चरम समस्या छ । नेपालको पनि शहरी क्षेत्रमा पिउने पानीको समस्या ज्वलन्त छ भने देशका बिभिन्न ग्रामिण भेगमा खाने पानी, सिँचाईका लागि चाहिने पानीको अभाव सिर्जना हुन थालेको छ ।

पानीका मुहानहरु बिस्तारै सुक्दै जान थालेका छन् भने जमिन मुनिको पानीको सहत पनि काठमाडौं उपत्यका लगायतका प्रमुख शहरी क्षेत्रमा सुक्दै जान थालेको बिभिन्न खोज तथा अनुसन्धानहरुले देखाएका छन् । यी सबै समस्या देखा पार्नुमा मानब जातीको सुखि र आनन्दीपनाको जीवनशैली भोग्ने चाहनाको परिणाम हो । बिकासको नाममा शहरीया खानपान र जीवनशैलीले मानिसको स्वास्थ्यमा प्रतिकुल समस्यासमेत देखा पर्न थालेको छ ।

बिकास पत्रकारिता भनेको फगत मन्त्री तथा सांसदले पूल शिलान्न्यास, बाटो उद्घाटन, मन्दीर निर्माण मात्र गरेको समाचार प्रकाशन, प्रसारण गर्नु होईन । यी भौतिक सामग्री निर्माणका लागि सरकारले बनाएको हरेक बर्षको योजना र नीति पनि बिकास पत्रकारिताको दायरामा पर्छ । बिकास पत्रकारिताले सरकारले हरेक क्षेत्रमा छुट्याएको बजेट कति सदुपयोग भयो र बजेट सिध्याउने नाममा कति प्रतिशत टालटुले काममा खर्च गर्यो ? त्यसका बारेमा खोजिनीति गरेर खबरदारी गर्न सक्नु पर्छ । बिकास पत्रकारिता सुशानसँग जोडिनै पर्छ । यसले देशको कुल ग्राहस्थ उत्पानका बारेमा चासो, चर्चा र चियोचर्चो गर्नैपर्छ ।

जसरी बिकास भन्ने शव्द गहन, फराकिलो र भेग छ बिकास पत्रकारिता पनि त्यस्तै छ । पञ्चायतकालको बिकासको कुरा गर्ने हो भने त्यतिबेला राजा बिरेन्द्र देशका बिभिन्न स्थानमा भ्रमण गर्न हबाइजहाज चढेर जन्थे । उनी मुगु, मन्थली, डोल्पा, हुम्ला लगायतका जिल्लाको भ्रमण गर्दा सरकारी कर्मचारीले बिकासको नमूना देखाउन र राजाको अगाडि बिकास भएको छ भन्ने भान पार्न नजिकैका खेतमा रातारात साग र टिप्ने बेला भएका काउलीका बोट गाडेका हुन्थे । त्यो ‘कस्मेटिक कृषि’ देखेर राजा पनि मख्ख पर्थे र नेपाल कृषि प्रधान देश भएको र यो कुरा प्रमाणित भएकोमा खुसि हुँदै राजा दरबार फर्किन्थे ।

राजा राजधानी फर्किएपछि उनको भ्रमणका बारेमा सरकारी सञ्चारमाध्यममा सामाचार र तस्बिरहरु छापिन्थे । यस्तो बिकास र बिकास पत्रकारिता देखेर तत्कालीन राजा खुसिले गद्गद् हुन्थे । बिकासका नाममा यसैगरी दशकौँ बिते ।

यथार्थ एउटा र धरातल अर्कै भएपछि बिकासको मूल फुट्नै सकेन । त्यतिबेलाको पत्रकारिता पनि फलानोले यसो भन्नुभो, उसो गर्नुभो, आदिमै सिमीत भयो । बिकास पत्रकारिताको अर्थ जानिए बुझिए पनि यसको अभ्यास नैं बसेन ऊ बेला । बिकास पत्रकारितका लागि गोरखापत्रले तत्कालिन संवाददाता किशोर नेपाललाई देशका बिभिन्न स्थानका ग्रामिण इलाकामा गएर समाचार संकलन गर्न खटाउनुलाई भने प्रशंसनीय कार्य मान्नु पर्छ ।

हिजोका दिनमा देशको पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव थियो । पत्रकारिता बारे ज्ञानको कमि थियो । पत्रकारिताका कलेजहरु आजका जस्ता छ्पछ्याप्ती थिएनन् र आजका जस्ता तालिम केन्द्रहरु पनि जताततै थिएनन् । त्यही भएर पनि बिकास पत्रकारिताले उत्ति सारो फड्को मार्न सकेन । ज्ञानको कमिले गर्दा यसको दायरा फराकिलो हुन सकेन ।

तर आज न्यू मिडिया र सोसल मिडियाले गर्दा हरेक नागरिक पत्रकार बनिरहेका छन् । उनीहरु बिकासका नाममा भएका र हुने गरेका हरेक गतिबिधिहरु स्वय्म अध्ययन, अनुसन्धान र अनुगमन गरी सञ्चारमध्यमहरुलाई समाचार कन्टेन्टहरु उत्पादन र बितरण मात्र गरिरहेका छैनन्, आफैं पनि ति बिषयका बारेमा आलेख, समाचार तथा विचारहरु लेखेर पोष्ट गर्ने र संचारमाध्यमलाई उपलब्ध गराउने समेत गरिरहेका छन् ।

अवको बिकास पत्रकारिताले सडक बन्यो मात्र होइन उक्त सडक बनाउँदा कति वटा रुख कटान भए? बिजूलीका तार टाँगिए मात्र होइन, त्यसले कति घरलाई लाभान्वित ग¥र्यो ? सरकारले यति खर्वको बजेट भाषण ग¥र्यो मात्र होइन बजेटमा लोपोन्मुख, अल्पसंख्यक जातजाति, महिला, बालबालिका, टुहुरा, तथा बिधूवाहरुलाई के कस्तो अवसर, व्यबस्था र सुबिधि दिने नीति तथा कार्यक्रम ल्यायो ? यो प्रमुख सरोकार हुनुपर्छ ।

त्यसैले बिकास पत्रकारिताको दायरा निकै फराकिलो बन्दै गएको आजको यस सन्दर्भमा कम्तिमा पनि नेपाल सरकारको स्वामित्वमा रहेका चार सञ्चारमाध्यमहरु गोरखापत्र, रेडियो नेपाल, रासस र नेपाल नेपाल टेलिभिजनले यस खालका समस्या र समाचारलाई प्रमुखताकासाथ स्थान दिएर अन्य सञ्चारगृहलाई पनि यसतर्फ लाग्न अभिप्रेरित गर्नुपर्छ ।