प्रहरी परिचालन र शान्ति सुरक्षा कायम गर्ने अधिकार मात्र प्रदेश सरकारलाई : गृहमन्त्री थापा

प्रहरी परिचालन र शान्ति सुरक्षा कायम गर्ने अधिकार मात्र प्रदेश सरकारलाई : गृहमन्त्री थापा

जनकपुर, १४ बैशाख । गृहमन्त्री रामबहादुर थापा वादलले संघीयताको भावना बमोजिम प्रहरी परिचालन र शान्ति सुरक्षा कायम गर्ने अधिकार मात्र प्रदेश सरकारलाई भएको बताएका छन् ।

 प्रदेश २ को जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले छुट्टै सिडिओ राख्ने अधिकार प्रदेश सरकारलाई नभएको समेत जिकिर गरे । 

प्रदेश २ सरकारले आफ्नो छुट्टै सिडिओ राख्ने गरी विधेयक ल्याउने तयारी गरिरहेको बेला गृहमन्त्री थापाले प्रदेश २ ले सिडिओ ल्याउने कुरा गरिरहेको छ, त्यसो गर्न कदापी नमिल्ने बताए ।

नेपालको संविधानले कहीँ पनि दोहोरो सिडियोको व्यवस्था नगरेको उनले स्पष्ट पारे । राज्य बिखण्डनको मुद्दा बोकेर हिड्ने सिके राउतलाई राजनीतिक मूलधारमा ल्याएर सरकारले ठूलो उपलब्धि हासिल गरेको समेत दावी गरे ।

देश विखण्डनमा लागेका तथा अराजक गतिविधि एवम् अपराधमा लागेकालाई नियन्त्रण गरी सरकारले देशको राष्ट्रिय अखण्डता, शान्ति सुरक्षा कायम गरेर राष्ट्रिय एकताका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । 

कतिपय राजनीतिक दलको नाममा, हत्या, हिंसा, चन्दा आतंक तथा अपराधलाई बढावा दिएकोले वार्ताको माध्यमबाट नभए नियन्त्रणको माध्यमबाट सही बाटोमा ल्याउन सरकार दृढ रहेको समेत उल्लेख गरे ।  

छिट्टै नै प्रदेश प्रहरीदेखि जिल्ला प्रहरी कार्यालयसमेत प्रदेश सरकारको मातहतमा जाने स्पष्ट पार्दै प्रदेश प्रहरीसम्बन्धी विधेयक संसदमा प्रस्तुत भइसकेकाले हरेक प्रदेशले आफ्नो सुरक्षा संयन्त्र बनाउन सक्ने बताए । 


प्रदेश स्तरीय सीमा सुरक्षा बैठकमा गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी पथिक, सुरक्षा सल्लाहकार सुरक्षाविद् प्राडा. इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी, सहसचिव इन्दु घिमिरेलगायत उपस्थित रहेको छ ।