प्रदेश एकका सभासदलाई चारदिने पुर्जी

प्रदेश एकका सभासदलाई चारदिने पुर्जी

१५ वैशाख, विराटनगर । प्रदेश नम्बर एकको नामाकरण र प्रदेशको राजधानी तोक्न चार दिने म्यादसहितको पुर्जी प्रदेश सभाले सभासदलाई काटेको छ । आइतवार (वैशाख १५ गते) जारी गरिएको पुर्जीको म्याद आगामी १९ गते विहीवारसम्म छ । पत्र अनुसार विहीवारभित्रमा सबै सभासदले प्रदेशको राजधानी र नामांकनको लिखित प्रस्ताव बुझाउनु पर्नेछ ।


प्रदेश सभाको नियमावलीको नियम नै कोड गरेर पठाइएको पत्रलाई जानकारहरुले सभासदलाई ‘राजनैतिक कोटेसन’ भर्न लगाएको अर्थमा लिएका छन् । यो पत्र सामाजिक सञ्जालमा सार्वजनिक हुनासाथ अनेक टीकाटिप्पणी पनि सुरु भइसकेको छ । 


संविधानतः दुई तिहाई प्रदेश सदस्यको मतले राजधानी र नामांकनको निर्णय गर्ने व्यवस्था छ । तर, एक नं. प्रदेशले भने नियमावलीमै यस्तो व्यवस्था गरेको छ । 


प्रदेश एकलाई पहिचानको आधारमा किरात, लिम्बुवान, कोशी, सगरमाथा आदि नामाकरण गर्नु पर्ने माग उठ्दै आएको छ । किरात राई यायोक्खाले किरात र किरात याक्थुङ चुम्लुङ तथा लिम्बुवान सम्बद्ध पार्टीले लिम्बुवान नाम हुनु पर्ने माग गर्दै आएका छन् ।


९३ सभासद संख्या रहेको प्रदेशमा ५६ जना प्रत्यक्ष निर्वाचित हुने र ३७ सदस्या समानुपातिक पद्धतिबाट चुनिन्छन । यसमध्ये नेकपा (नेकपा) ६६ सदस्यसहितको दुई तिहाइ बहुमतमा छ । यसरी नै नेपाली कांग्रेसको २१, संघीय समाजवादी फोरम नेपालको ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १÷१ जना तथा स्वतन्त्र १ जना सदस्य छन् ।