नेपाली कांग्रेसका नेताहरुलाई कार्यकर्ताको प्रश्न

नेपाली कांग्रेसका नेताहरुलाई कार्यकर्ताको प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही बैशाख ११ गतेदेखि जागरण अभियान सुरु गरेको छ । २०७६ सालभित्र तीन पटक जागरण अभियान गर्ने नेपाली कांग्रेसले जनाएको छ । पहिलो चरणको जागरण अभियान जेठ ११ गतेसम्म चल्नेछ । जसका लागि ७७ जिल्लामा केन्द्रीय  प्रतिनिधि खटाइएको छ । एक महिनासम्म बस्तुस्थिति अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी केन्द्रीय  प्रतिनिधिहरुलाई दिइएको छ । 

जागरण अभियान अन्तर्गत जिल्ला गएका केन्द्रीय प्रतिनिधिहरुलाई  कार्यकर्ताहरुले उस्तै खालका प्रश्न सोधेका छन् । तर ती प्रश्नको उत्तर दिन उनीहरुले सकिरहेका छैनन् ।  
कार्यकर्ताहरुको प्रश्न छ – 
१.  विधानमा दुई महिनाभित्र केन्द्रीय समिति तथा विभागलाई पूर्णता दिने प्रावधान छ  । तर महाधिबेशन सम्पन्न भएको तीन वर्ष वितिसक्दा पनि केन्द्रीय समिति तथा केन्द्रीय विभागहरुले किन पूर्णता पाउन सकेनन् ? 
२ . राज्य पुनसंरचना भएको चार वर्ष पुग्न लाग्दा समेत प्रदेश समिति,  प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, पालिका तथा वडा कार्य समितिहरु किन बन्न सकेनन् ?
 ३. महासमितिको बैठक सम्पन्न भए लगत्तै तत्काल पार्टीका संगठनहरुलाई पूर्णता दिने भनिएको थियो, तर चार महिना वितिसक्यो, नेतृत्व के हेरेर बसेको छ ?
 ४. नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा आएको डेढ वर्ष पुग्न लागेको छ, तर अहिलेसम्म छाँया सरकार गठन भएको खोई ? 
५ नेपाली कांग्रेसका सांसदहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न किन सकेनन् ? 
६ प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा संसदमा उपस्थित नै हुँदैनन् भनेर मिडियामा समाचार आउन थालेका छन्, सभापति देउवा यस अवधिमा कति पटक संसदमा पुग्नु भयो ? र, कति पटक बोल्नु भयो ? 
७ . सत्तामा हुँदा  आन्तरिक झगडा भए पनि प्रतिपक्षमा आउना साथ एक ढिक्का हुने चरित्र नेपाली कांग्रेसले बोकेको थियो, तर यसपटक प्रतिपक्षमा आउँदा नेपाली कांग्रेसको आन्तरिक झगडा झन चर्र्किएको देखिएको छ, किन ? 
८. विधानद्वारा निर्धारण गरिएको चार वर्षको अवधिमा १४ औं महाधिबेशन हुन नसक्ने परिस्थिति के कति कारणले बन्यो ? सभापति देउवा आफ्नो पद लम्व्याउने अभियानमा रहेका छन् भन्ने मिडियामा आएको समाचार सत्य हो ?
९. १४ औं महाधिबेशनको मिति निर्धारण नहुँदै करिव आधा दर्जन नेताहरुले सभापतिको उमेदवार हुँ भन्दै प्रचार प्रसार गर्न थालेका छन्, यस्ता प्रचार प्रसारले पार्टीमा थप विवाद ल्याउँदैन ?
 १० चुनावमा पार्टीको उमेदवारलाई असहयोग र अन्तर्घात गर्नेहरुमाथि किन कारवाही भइरहेको छैन ?
११. मुलुकका जल्दाबल्दा समस्याप्रति पार्टीको धारणा आउन नसक्नुको कारण के हो ?  सिके राउत प्रकरण,  विप्लव माओवादीलाई प्रतिवन्ध लगाइएको प्रकरण, बालुवाटारको सरकारी जग्गा अपचलन गराइएको प्रकरण लगायतमा पार्टीको धारणा हरेक साता परिवर्तन हुनुको कारण के हो ? 
१२ महासमितिको बैठकले पारित गरेको विधानको प्रावधानलाई उल्ट्याउने हैसियत केन्द्रीय समितिको बहुमतले कसरी पायो ? 
 यस्ता दर्जनौ प्रश्नका कारण नेपाली कांग्रेसको पहिलो चरणको जागरण कार्यक्रम प्रत्युत्पादक हुने देखिएको छ । यस्ता प्रश्नको उत्तर आफूहरुले दिन नसक्ने बताउँदै  यी प्रश्नहरु लिखित रुपमा लगेर नेतृत्वलाई बुझाउने केन्द्रीय प्रतिनिधिहरुले जनाएका छन् ।   
तर कतिपयले भने आफ्नो कार्यकाल थप्ने रणनीति अन्तर्गत सभापति देउवाले जागरण अभियान भन्दै केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाएको विश्लेषण गरेका छन् । यस विषयमा पार्टीभित्रको प्रतिपक्ष पनि बोलेको छैन । समयबद्धबाट