गुट र व्यक्तिलाई प्राथमिकता दिंदा.......

गुट र व्यक्तिलाई प्राथमिकता दिंदा.......

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मापदण्डलाई छाडेर आफ्नो गुट निकटका व्यक्तिलाई प्राथमिकता दिन खोज्दा जिल्लाको पार्टी एकता प्रक्रिया ११ महिना लम्बियो । जब मापदण्ड पकडियो, बरिष्ठता र एकतालाई समातियो एकै निर्णयले जिल्लाको एकता टुङ्गियो । 

चाहे पोलिटब्युरो निर्माणमा होस्, चाहे जनवर्गीय संगठनको एकता अनि कार्य विभाजनसहितका विषयमा निश्चित मापदण्ड बनाउने हो या जिल्ला एकताको मापदण्ड कार्यान्वयन गरियो भने कुनै अप्ठ्यारो पर्दैन । बरिष्ठता र एकताको मापदण्डलाई सबैतिर लागू गर्दा धेरै होचो, अर्घेलो हुँदैन । फेरि पनि शीर्ष नेतृत्वले गुट र व्यक्तिलाई रोज्दा पार्टी एकता डेडलक हुन्छ । बाँकी एकताको कार्यभार पूरा गर्न अर्काे ११ महिना लाग्न सक्छ ।  

त्यसभन्दा चाँडै औपचारिकतामा एकता भए पनि कामकार्वाहीमा गत्यावरोध हुन्छ । देशीविदेशी शक्ति, जसले नेपालको कम्युनिस्ट पार्टी र आन्दोलनलाई एकीकृत देख्न चाहँदैनन्, तिनले खेल्ने आधार निर्माण हुन्छ । 

पूर्व माओवादीमा प्रदेश सदस्य, खासगरी तीन नम्बर प्रदेशमा जुन गुटबाद हावी भयो, यसले अहिलेको नेतृत्वलाई एकीकृत रुपमा काम अगाडि बढाउँदा निकै नै हम्मे पर्ने देखिन्छ । त्यसको नकरात्मक असर आगामी दिनमा नराम्रोसँग पर्ने देखिन्छ ।