श्रीलंकाको हिंसात्मक घटना नेपालको ढोकामा उभिएको खतरा संकेत

श्रीलंकाको हिंसात्मक  घटना नेपालको ढोकामा उभिएको खतरा संकेत

काठमाडौ ।श्रीलंकामा भएको हिंसात्मक घटनामा लुकेका विषयहरू नेपालको लागि चिन्ताको विषय हुने सक्ने देखिएको छ ।

नेपालमा नेकपाको दुई तिहाईको बलियो सरकार विदेशी आदेशका अगाडि सामान्यरूपले कमजोर हुन नसक्ने देखेर त्यसलाई कमजोर पार्न विदेशी शक्तिले विभिन्न हतकण्डा अपनाउने आंशका बढेर गएको छ ।

यही वैशाख ८ गते अन्तर्राष्ट्रियरूपमा आतंकवादी समूहको पहिचान बनाएको इस्लामिक अतिवादी संगठन इस्लामिक राज्य (इस्लामिक स्टेट) आइएसले श्रीलंकाका चर्चहरू र होटलहरूमा आक्रमण ग-यो ।

इराक र सिरियामा सक्रिय विद्रोहीहरूको साँठगाँठमा आइएसले अमेरिकी प्रभावमा रहेका चर्च र भारतीय लगानी रहेका होटेलहरूमा लक्षित गरी आत्मघाती बम बिस्फोटन आइएसले गराएको जिम्मा लिएको छ ।

यसमा झण्डै तीन सयको मृत्यु र ५ सय बढी घाइते भएको समाचार सार्वजनिक भएबाट यसले विश्व समुदायलाई नै तरंगित पारेको छ ।

श्रीलंका दक्षिण एसियाली मुलुक हो । यहाँ भएको यो भयानक हिंसात्मक घटनाका बाछिटा यसको वरपर समेत पर्नसक्ने आँकलन गर्न थालिएको छ ।

दक्षिण एसियामा नेपालको भूराजनीतिक परिस्थितको संवेदनशीलता धेरै उच्च तवरको रहेको छ ।

नेपाल विश्व रंगमञ्चमा उदाइरहेका दुई ठूला जनसंख्या भएको देश र आर्थिक शक्तिको दौडमा रहेका देश चीन र भारतबीचमा परेकोले यसको भूराजनीतिक संवेदनशीलता उच्च हुन पुगेको जो कोहीले सहजै देख्न सक्छ ।

उदीयमान चीनसँग अमेरिकाको भीषण द्वन्द्वको अवस्था बन्दै गएको छ । चीनले विश्वको सर्वाधिक शक्तिशाली देशको रूपमा आफूलाई उभ्याएर विश्वभर वर्चस्व जमाउने तयारी गरेको देखेपछि अमेरिकाले भएसम्म रोक्ने प्रयास गरिरहेको छ ।

चीनसँगको व्यापार युद्धमा लागेको अमेरिकाले भारतलाई चीनको धेरै नजिक जान नदिन खोजिरहेको छ ।

हुनत चीन र भारतबीचको निकटतम सम्बन्ध त्यसै पनि सहजहुने राजनीतिक अवस्था नभए पनि आर्थिक सम्बन्धका कारण यी दुबै निकटतम अवस्थामा रहेकाले अमेरिकालाई विश्वास गर्न गाह्रो भइरहेको छ ।

दक्षिण एसियाली संगठन सार्कलाई कमजोर गर्ने प्रयास एकातर्फबाट भइरहेको छ भने पाकिस्तानलाई एक्ल्याउने प्रयास गरिएको छ ।

भारतले यो क्षेत्रमा पाकिस्तानलाई एक्ल्याउने प्रयास गरेको देखिएको छ ।

पाकिस्तान बाहेकका सार्कका देशहरू र पूर्वी एसियाका देशहरूलाई मिलाएर बीबीएन बनाउने प्रयास गरेबाट भारत यस्तो प्रयास गरिरहेकोबारे कसैलाई प्रमाण दिनुपर्ने आवश्यकता नरहेको विज्ञहरूको भनाइ छ ।

आइएस जस्ता संगठनहरूले अमेरिका र त्यसका साझेदार देशलाई आक्रमणको निशाना बनाइरहेको देखिएको छ । यसका लागि उनीहरूले अल्पविकसित देशमा त्यस्ता गतिविधि बढाउन सहज हुने बुझाइका आधारमा योजना बनाइरहेका छन् ।

नेपालमा यस्ता धार्मिक दङ्गा भड्काउन सक्ने आततायी घटना नभएको भए पनि दक्षिण एसियामा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्समा यस्ता हर्कतहरू हुँदै आएको देखिएको छ । नेपाल र भारतबीचको खुला सीमाको व्यवहार छ ।

यो व्यवहारको फाइदा उठाउँदै भारत र तेस्रो देशका आततायीहरूले नेपालस्थित अमेरिकी र भारतीय लगानीका ठूला परियोजनामाथि यस्ता हिंसात्मक घटना निम्त्याउन खोज्दा धार्मिक दङ्गा भड्काउने चलखेल गर्न नसक्नेमा विश्वस्त हुन सक्ने ठाउँ छैन् ।

अर्कोतर्फबाट हामी हामी कुटनीतिक गतिविधिमा कमजोर भइआएका छौं । 

श्रीलंकाको यो घटनाले नेपालको ढोकामा खतरा उभिएको संकेत गरेको छ ।

यहाँ संयुक्त राष्ट्रसंघको आडमा चीन र भारत विरूद्ध गतिविधि गर्न गराउन खोज्ने शक्ति अनमिनको बिदाइ भएदेखि रूष्ट रहेको कतिपयको बुझाइ रहेको छ ।

नेपालका तराई क्षेत्रमा इस्लामिक, देशैभरि क्रिश्चियन र नेपालका अतिहिन्दुवादीहरूको क्रियाशीलता बढेका समाचारहरू र अध्ययन प्रतिवेदनबाट देखिएका छन् ।

यस्तो अवस्थामा धर्मको आडमा हुन सक्ने कुनै पनि असहिष्णु घटनाले नेपाललाई उसको आधारलाई भत्काइ दिन बेर नभएको रणनीतिकारहरूको कथन छ । 

नेपालको भूराजनीतिक अवस्थामा खुला सीमाको कारण आक्रमण हुँदै आएको छ ।

सुरक्षा बैठकहरूमा नेपालको बाटो भएर आतंकवादी गतिविधि गर्नेहरू छिर्ने गरेको आरोप भारतीय पक्षले लगाउँदै आएको विषय नौलो भने होइन् । यी सबै परिदृश्यमा नेपालले संवेदनशीलता दर्शाउनुपर्ने देखिएको छ ।