बालुवाटारबाट मोही मुक्ति अभियान

बालुवाटारबाट मोही मुक्ति अभियान

साइँला भाइ

बालुवाटार भुमि प्रकरनमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सम्मेलन कक्षमा पत्रकार खचाखच भरिइ सकेका थिए । मन्त्रीको अत्तोपत्तो थिएन । पत्रकार ‘एक्सक्लुसिव’ समाचार बनाउन ध्याउन्न मै थिए । आआफ्ना बन्दोबस्तीको समान क्यामेरा, मोवाइल, कलम ठीकठाक गर्दै थिए । कोही गफिनमा व्यस्त थिए । यतिकैमा एकाध कुकुर लिएर सुरक्षाकर्मी कोठा भित्र पसे । कोठाचोटा कुकुरलाई सुँघाएर सुरक्षाकर्मी बाटो लागे । 

लगत्तै भूमिसुधार मन्त्री पद्मा अर्याल लावालस्करसहित भित्र पसिन । आसनग्रहन गरिन । पत्रकारतर्फ टोलाएर हेरिन । सारीको फन्को मिलाइन । कपालको लुँडो पछाडि फर्काइन । चस्मा पुछिन । दायाँवायाँ सहयोगीको लाम हेरिन । उपस्थित पत्रकारमध्ये आफ्नै बारीका पत्रकारहरुको बाक्लो उपस्थिति देखेर ढुक्क भएको भाव देखाइन । अनी उत्साहपूर्वक कुर्सिमा पलेँटी कसर बसिन र पत्रकारलाई प्रश्न सोध्न संकेत गरिन ।

एक जना आफ्नै बारीका जस्ता लाग्ने तर, गुटबन्दीमा परेर असन्तुष्ट भएका पत्रकारले सोधे, ‘बालुवाटार प्रकरन के हो ? महासचिवलाइ यत्रो आरोप लाग्दासम्म भूमि सुधार मन्त्रालय किन चुप्पी साँधेर बसेको छ ? यसको सत्यतथ्य बाहिर आउनु पर्ने हैन ? उपत्यकामा जात्रा सिद्धियो भनेर अर्को जात्रा निकाल्न खोजिएको हो ?

मन्त्री अर्यालले पद्मासनबाट उठेर भनिन, ‘भुमिसुधार मन्त्रालय चुप लागेर बसेको छैन् ।’

‘के हेरेर बसेको छ त ?’ अर्का पत्रकारले बीचैमा टोके ।

अलिअलि रिसाए जस्तो गरी मन्त्रीले फेरी कुरो बढाइन, ‘बालुवाटारमा म आउनु अघि के के भाको थियो मैले जान्ने कुरा होइन । जहाँसम्म बालुवाटारको जग्गाको कुरा छ, त्यस विषयमा गहिरो अनुसन्धान भएको छ । यतिमात्र होइन बालुवाटारको आठआना जग्गा महासचिव कमरेडले मोहीसंग किनेको रहेछ भन्ने मेरो ब्रम्हज्ञानमा आयो । यसर्थ यो जग्गाको खरिदविक्री जायज छ । जिम्दार सुवर्ण शमसेरको धेरै जग्गा थियो । त्यो जग्गाजमिन श्री ३ महाराजहरुका सन्तानले जोत्ने खन्ने कुरो भएन । त्यही भएर मोही राखिएको थियो । त्यही मोहीले प्राप्त गरेको जग्गा मध्ये आठआना जग्गा कमरेडले खरिद गरी मोहीलाई उद्धार गरिदिनु भएको हो ।’

अर्का पत्रकारले सोझै सोधे, ‘मोहीलाई उद्धार गर्नु पर्ने कारण चैं के परेछ ?’ 

‘मोहीलाई उद्धार अरुले गर्दैनन् । हामी कम्युनिष्टहरुको धर्म भनेको मोहीलाई हित गर्नु हो । मोहीयानी हककोलागि हामी धेरै अगाडिदेखि लड्दैपड्दै आयौं । कमसेकम महासचिव कमरेडले एक जना भएपनि मोहीको उद्धार गर्नु भयो त्यो पनि त ठीकै हो ।’ मन्त्रीले गुनासो अनुरोध गरिन ।

मन्त्री अर्यालको कुरा सुनेर सम्मेलन कक्षमा हो हल्ला सुरु भयो । पक्षविपक्षमा पत्रकारहरु नै लागे । जबर्जस्ती यस्तो तर्क गरेर जोगाउने कुरा पाच्य नभएको भन्दै उफ्रन थाले । पत्रकारले मन्त्रीलाई ¥याख्¥याख्ती पार्न थालेको सहन गर्न मन्त्री अर्याललाई खपिनसक्नु हुँदै गयो ।

अलिक हतारिएका जस्ता लाग्ने पत्रकारले होहल्लाबीच उठेर सोधे, ‘बालुवाटारमा मात्र मोही छन ? देशभरका मोहीहरुको अत्तोपत्तो चैं के छ ?
अर्यालले फेरी उठेर जवाफ दिन थालिन, ‘हेर्नुस घुमाइफिराई त्यही बालुवाटारकोमात्र प्रश्न नसोध्नुस । अलि वरपरको पनि सोध्नुस । जहाँसम्म बालुवाटारको मोहीको हकहित गर्ने कुरा हो त्यो के भने माथिवाट अर्थात राजधानीबाट सुरु गर्ने भनेर लागिएको हो । महासचिव कमरेडले त्यसैको सुरुवात गर्नु भा हो । अब मोही हित गर्ने कार्यक्रम देशभर लागु हुनेछ । र, स्थानीय क्षेत्रबाट पनि मोहीको जग्गा

हाम्रा गौरवशाली नेताहरुले खरिद गरेर मोहीलाई मुक्ति दिनु हुनेछ ।’

‘मोही मुक्ति भनेको के हो ?’ अर्काले क्यामेरा अगाडि सार्दै सोधे । 

मन्त्रीले झटपट जबाफ दिइन, ‘दिशामुक्त भने जस्तै ।’

‘यस्तो वाइह्यात कुरा पनि गर्ने ?’ अर्का पत्रकार झोँक्किए ।

‘मैले भन्न खोजेको जसरी हिजोसम्म जताततै दिशापिसाव गरेर गाउँघरमा फोहरको डंगुर लगाइन्थ्यो । यस्तो फोहोरलाइ तह लगाउन हाम्रै कार्यकालमा सौचालय बनाएर दिशापिसाव तह लगायौं । यो लोकप्रिय कार्यक्रम बन्यो । यसर्थ अहिले नेपालका हरेक गाउँ दिशामुक्त क्षेत्र घोषणा भैसकेका छन् । यसलाई खुल्ला दिशामुक्त क्षेत्र योजना पनि भनिन्छ । त्यसरी नै मोही मुक्ति अभियान हामीले थालेका हौं । अब कोही मोहीहरु जग्गाको पुर्जा बोकेर ग्राहकको खोजी गर्दै रुवावासी गर्नु पर्नेछैन् । हरुवाचरुवाको मुक्ति पनि भैसकेको छ । कमलरी मुक्ति पनि केहि वर्ष अगाडि नै भैसकेको हो । कमलरी मुक्ति पछि नै शान्ता चौधरी सभासदसम्म भइन । अहिले सिइइ परिक्षा पनि दिइसकिन । सायद पास पनि गर्छिन होला नभएपनि फेल चैं नहोलिन ।’ मन्त्रीले पस्टीकरन दिइन । 

अर्का एक पत्रकारले अगाडि सरेर सोधे, ‘यस विषयमा महासचिव कमाउरेडको धारना के छ बुझ्नु भा छ ?’

मन्त्रीले भनिन, ‘उहाँलाई सोध्दा दूइलाइन कविता मात्र सुनाउनु हुन्छ । किन हो कुन्नी त्यही दूई लाइन बर्बराउनु हुन्छ । सायद मोही मुक्ति पछि उहाँको शरीरमा कवित्व चढेको पनि हुनसक्छ ।’

पत्रकारले सोधे, ‘कस्तो कविता ?’ 

मन्त्रीले भनिन्, ‘यस्तो कविता ।’  
पचास हजारमा किनेको बालुवाटार,
नपत्याउने सारै रुखो छ यो संसार ।

-समयबद्ध साप्ताहिकबाट