क्राउड फण्डिङ कर्पोरेट फण्डिङको विकल्प

क्राउड फण्डिङ कर्पोरेट फण्डिङको विकल्प

भवानी बराल

नेपालीमा एउटा भनाइ छ एक थुकी सुकी हजार थुकी नदी । अर्थात सामूहिक संकलनको माध्यमबाट लगानीको स्रोत जुटाउन कामले एउटा उद्वेश्य पूरा गर्न सकिन्छ । कुनै खास ठूलो कामको लागि धेरै मान्छे भिड (क्राउड) सँग थोरै थोरै पैसा लिनु वा फण्ड जुटाउनुलाई क्राउड फण्डिङ भनिन्छ  । आम रुपमा यो काम इण्टरनेटको माध्यमबाट गरिन्छ । ठूलो संख्याका व्यक्तिहरुबाट कुनै परियोजनाको लागि सानोसानो परिमाणमा आर्थिक स्रोत जुटाउने र ठूलो परिमाण बनाउने यो अभ्यास हो । क्राउड फण्डिङ लगानीको एउटा वैकल्पिक स्रोत हो । 

यस्तो लगानी विभिन्न प्रकारको हुन्छ । तर खासगरी यसलाई चारवटा नमूनामा प्रस्तुत गर्न सकिन्छ ।

लगानीमा आधारित 

यसप्रकारको फण्डिङमा कामको फाइदाको हिस्सा मिल्ने सर्तमा लगानी उठाइन्छ । निश्चित लगानी लगाएर कुनै परियोजनासम्पन्न गर्ने एक प्रकारको सहकारी प्रक्रिया हो ।  

क्रृणमा आधारित 

केही मानिसहरुले क्रृणको रुपमा धेरै व्यक्तिहरुबाट पैसा उठाइन्छ । पछि यसमा आफ्नो पैसा व्याजसहित लिनेदिने व्यवस्था गरिन्छ ।

अनुदानमा आधारित 

 यस्तो फण्डिङ नेता या राजनैतिक दललाइ दिइन्छ । कामको भरोसाको लागि अनुदान दिइन्छ । प्राय यो चुनावको बेलामा दिने गरिन्छ ।

इनाममा आधारित 

धेरै मान्छेले निहित वा पवित्र उद्वेश्यका पुरा गर्नका लागि पैसा दिन्छन । र, इनाम, पुरस्कारको रुपमा फिर्ता लिन्छन ।

राजनैतिक दल, कर्पोरेट र क्राउड पुँजी

राजनैतिक दल सञ्चालन गर्न पैसाको जरुरत पर्छ । राजनैतिक दललाई स्वतन्त्र र स्वायत्त बनाउने हो भने पार्टी सञ्चालन गर्ने अर्थ स्रोत पनि ठीक हुनु पर्छ । राजनैतिक स्वतन्त्रताको अभावमा राजनैतिक दलको भविष्य पनि अनिश्चित हुन्छ । पार्टी स्वतन्त्रता राजनैतिक स्वतन्त्रता विना कल्पना गर्न सकिन्न । दलको स्वतन्त्रता उसको खर्च स्रोतको सूत्रमा भर पर्छ । राजनैतिक दलले संकलन गर्ने आर्थिक अभियानले उसको हैसियत निश्चित गर्छ ।

राजनैतिक पार्टीले जुटाउने पैसाको महत्वपूर्ण स्रोत सदस्यता शुल्क हो । स्थायी सदस्यमार्फत सदस्यता शुल्कमार्फत स्रोत जुटाउनाले पार्टीलाई सांगठानिक रुपमा दुरुस्त मात्र राख्ने होइन पार्टी संगठनलाई अभिलेखसहित चुस्त राख्न पनि सघाउ पु¥याउँछ । पार्टी सदस्यको सक्रियतामा पनि बढाउँछ । पार्टीको वास्तविक आधार खुट्याउन सहज हुन्छ । पार्टी सदस्यले सदस्यता नवीकरण गर्न छोड्दै गएभने पार्टी विघटनको संघारमा पुगेको अर्थमा लिन सकिन्छ । 

दोस्रो महत्वपूर्ण स्रोत हो लेवी । यो स्थाई स्रोत हो । यसमा कुनै सदस्यको इच्छा अनुसार लेवीको स्वघोषणा गरिन्छ । अपवादमा वाहेक यो स्थायी स्रोत हो । यस्तो स्रोतमा कुनै जबर्जस्ती नगरिने भएकोले यसले आर्थिक रुपमा कार्यकर्तालाई नैतिक बनाउन पनि सिकाउँछ । स्वघोषणा गरिएको रकम बुझाउने यसले बानी लगाउँछ । पेशागत कार्यकर्तामार्फत तलव वा कमाइको निश्चित प्रतिशत उठाउने पनि गरिन्छ । यस्तो स्रोत संग्रह गर्दा पार्टीको लोकप्रियतालाई मापन गर्न पनि सकिन्छ । पार्टी लोकप्रिय हुँदै गए कार्यकर्ता, समर्थकहरुले गाँस काटेर स्रोत जुटाइदिन्छन । यस्तो लेवी समर्थकको लेभलसम्म उठाउन सकिन्छ । यसले दलको समर्थकसम्मको हैसियत जानकारी रहन्छ । ठूलो समुदायसँग निरन्तर राजनैतिक अन्तरक्रिया भैरहन्छ । यसले पार्टीको दिशा निर्देश पनि गरिररहन्छ ।

तेस्रो हो चन्दा, दानदातव्य । कुनै कार्यक्रम विशेषमा महाधिवेसन, चुनाव, संघर्ष आदि सञ्चालन गर्न यस्तो स्रोतमार्फत पैसा जुटाउने गरिन्छ । यस्तो निश्चित अवधिको लागि मात्र गरिन्छ । कार्यक्रम सकिएपछि यस्तो स्रोतलाइ निरन्तरता दिइन्न ।

यसका अतिरिक्त राजनैतिक नियुक्ति, सरुवा, बढुवा, ठेक्कापट्टा, लाइसेन्स रजिष्ट्रेशन, वैदेशिक व्यापार, आदि गरिदिए वापत दलहरुले निश्चित प्रतिशत लिने गर्छन । यस्तो अतिरिक्त स्रोतहरु यतिवेला मुख्य स्रोत बनेका छन् । यस्तो स्रोतको प्रयोगले राजनैतिक स्वतन्त्रतामात्र हैन पार्टी स्वतन्त्रतालाई समेत धरापमा हाल्नेछ ।

कर्पोरेट र क्राउड पुँजी

ठूला व्यापारिक वित्त घरानाको पुँजी परिचालन गरेर कुनैपनि क्षेत्रमा लगानी गरिएको पुँजी नै कर्पोरेट पुँजी हो । यस्तो पुँजी कर्पोरेट वित्त सिद्धान्तमा आधारित हुन्छ । यसको मौलिक सिद्धान्त अनुसार लगानी, पुँजी शोषण र मुनाफालाई मुख्य रुपमा व्याख्या गरिन्छ । यीनै शब्दको पूर्ण व्याख्या नै यसको मुलभूत सिद्धान्त हो । यसको लामो व्याख्या हुन्छ । यसर्थ यस्तो सप्रसंग व्याख्या अर्कै प्रसंगमा गर्न उचित हुन्छ ।  

कर्पोरेट पुँजीको पहुँच नपुगेको कुनै क्षेत्र छैन । क्रमसः कर्पोरेट पुँजीको प्रभाव राजनीतिमा पनि पर्न थालेको छ । कर्पोरेट पुँजीले विकसित देशमा मात्र हैन विकासशील देशमा पनि आफ्नो हाथ फैलाइ सकेको छ । भारतीय राजनीतिमा कर्पोरेट पुँजीको प्रभावले यूपीए र एनडिए गठबन्धनलाई नचाएको छ । भारतीय जनता पार्टीले अगाडि सारेको हिन्दू ‘धर्मतन्त्रात्मक सांस्कृतिक राष्ट्रवाद’ भारतीय कर्पोरेट पुँजीको क्षेत्रीय उत्पादन हो । कर्पोरेट पुँजीको प्रभावमा परेर नै भारतीय माक्र्सवादी पार्टीको राजनैतिक जहाज डुबेको हो । संसारभर कर्पोरेट पुँजी सञ्चारमाध्यममा प्रभावशाली बनेको छ । अमेरिकाको पूरै सञ्चारमाध्यम ६ वटा कर्पोरेट हाउसको स्वामित्वमा छ ।

कुनै समय थियो धर्मको पकड राजनीतिमा थियो । चर्च र पादरीहरुको इशारामा राजनैतिक व्यवस्था चलायमान हुन्थ्यो । अझै पनि कतिपय मुस्लिम देशहरुमा धर्मको ठाडो प्रभाव राजनीतिक व्यवस्थामा छ । मौलाना, मौलवीहरुले शासन व्यवस्था चलाउँछन । इरानमा राजतन्त्र त सकियो त्यसको साटो त्यहाँ खुमेनीहरुको धार्मिकतन्त्र सुरु भयो । पहिलो र दोस्रो विश्व युद्धसम्म राजनीतिक सत्ता युद्धका गोलाबारुदले निर्णय गरे । यो शताब्दीमा भने अर्थतन्त्रले राजनीतिक व्यवस्थालाई सञ्चालन गर्ने हैसियतमा पुगेको छ । विश्व कै अर्थतन्त्र केहि कर्पाेरेटको हातमा पुगि सकेको छ । अबको शताब्दीमा केही कर्पोरेटले विश्व व्यवस्थालाई चलाउनेछन् । राजनीतिक पार्टी, समाज, सञ्चारमाध्यम, धर्म कर्पोरेटको कोप भाजनमा पर्नेछन् । यस्तै कोपभाजनबाट बच्न भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट विहार बेगुसरायका लोकसभामा उम्मेदवार डा. कन्हैया कुमारले चुनावमा खर्च गर्न कर्पोरेट समक्ष हात नपसार्ने निर्णय गरे । तर, चुनाव खर्च जुटाउन उनले अर्कै माध्यम अपनाए । उनले चुनाव खर्चको लागी विद्युतीय अपील गरे । यो अपिल पछि उनलाई सहयोग आउन सुरु भयो । उनको यो अभियानमा एकैदिनमा २८ लाख भारु जम्मा भएको थियो । यो संकलित पुँजी जम्मा गर्ने स्रोतलाइ उनले ‘क्राउड’ पुँजीको नाम दिएका छन् । 

नेपालमा कर्पोरेट प्रवेश 

नेपालको सन्दर्भका हरेक क्षेत्रमा कर्पोरेट पुँजीको प्रवेश सुरु भएको छ । अबका केही समयमा यस्ता पुँजीले राजनीतिमा घोडा चढ्यो भने पनि अनौठो नमाने हुन्छ । यसको बाछिटा देखिन थालेको छ । हिन्द–प्रशान्त रणनीति अनुसार यस्तो पुँजीहरु व्यापक परिमाणमा आउन लागेको छ । राष्ट्रिय पुँजीको विकास पनि नभएको नेपाल जस्तो देशमा कर्पोरेट पुँजीको प्रवेशले यसको राष्ट्रिय चरित्रलाइ तहसनहस गर्नेछ ।