लिम्बुवान माग्दै स्प्रिङ आन्दोलनकर्मी अनशन बस्ने

लिम्बुवान माग्दै स्प्रिङ आन्दोलनकर्मी अनशन बस्ने

१९ बैशाख, धरान । प्रदेश नम्बर एकको नामाकरणको चर्चा चलेसँगै पूर्वमा पहिचानवादी शक्तिहरूले आन्दोलन घोषणा गर्ने क्रम जारी छ । प्रदेशको नाममा लिम्बुवान छुट्न नहुने भन्दै लिम्बुवान स्प्रिङ आन्दोलनसम्बद्ध युवाहरूले प्रदेश सभाअगाडि अनशन बस्ने भएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्प्रिङ आन्दोलनले नामाकरणको टुङ्गो नलागेसम्म भद्र आन्दोलनका रूपमा अनशन बस्ने बताएका हुन् । ‘ऐतिहासिक शासकीय विरासत बोकेको लिम्बुवान आन्दोलनले राजनीतिक, संवैधानिक, सामाजिक सबै किसिमबाट अुनमोदन भई जनमत प्राप्त गरिसकेको अवस्था पनि छ । राज्यले विगतमा लिम्बुवान आन्दोलनसँग पटक पटक गरेका सम्झौताहरूको कार्यान्वयन गर्न पनि पूर्वमा लिम्बुवान प्रदेश बन्ने सशक्त आधार हो ,’ विज्ञप्तिमा भनिएको छ । 

पूर्वमा अलग्गै लिम्बुवान प्रदेश स्थापनाका लागि संवैधानिक जटिलता फुकाउनुपर्ने लिम्बुवान स्प्रिङ आन्दोलनको धारणा छ । यद्यपि तत्काललाई एक नम्बर प्रदेशमा लिम्बुवान नामाकरण गरेर लिम्बुवानवासीको साझा मनोविज्ञानलाई सम्मान गर्नुपर्ने उनीहरूले बताएका छन् ।

यता, प्रदेश सचिवालयले विशेष कारण दर्शाउँदै बिहीबारदेखि सुरु हुुने भनिएको प्रदेश सभाको ३४ औँ बैठक बैशाख २२ गते आइतबार बस्ने गरी सूचना जारी गरिसकेको छ । प्रदेश सचिव गोपाल प्रसाद पराजुलीले सूचना टाँस गरी सो कुराको पुष्टि गरेका छन् । यता, लिम्बुवान स्प्रिङ आन्दोलनकारीले भने घोषित कार्यक्रमलाई आइतबारबाट सुरु गर्ने जनाएका छन् । ‘बिहीबार प्रदेश सभा बैठक स्थगन भएपनि हाम्रो निर्णय यथावत छ,’ अभियन्ता टङ्क सेलिङले भने, ‘आइतबारबाट हामी अनशन थाल्नेछौँ ।’ 

स्प्रिङ आन्दोलनले अभियन्ता इक्साहाङ चेम्जोङलाई लिम्बुवानकेन्द्रित आन्दोलनका लागि संयोजकको जिम्मेवारी दिएको छ । चेम्जोङ लगायत एघार आन्दोलनकारीहरू गत चैतमा भएको धनकुटाको विरोध प्रर्दशनका क्रममा पक्राउ परेर चर्चामा पनि आएका थिए ।

सामाजिक सञ्जालबाट जोडिएका विभिन्न सङ्गठन, क्षेत्र र पेशामा आबद्ध युवाहरूले गत चैत २६ गते स्प्रिङ आन्दोलनका नाममा आफूहरू सङ्गठित भएको बताए । लिम्बुवान आन्दोलनमा भएका श्रङ्खलाबद्ध टुटपश्चात् युवाहरूको सक्रियताले एकीकृत आन्दोलनलाई बल पुगेको छ  ।