प्रदेश २ को प्रदेशसभा बैठक अबरुद्ध

प्रदेश २ को प्रदेशसभा बैठक अबरुद्ध

२० बैशाख, जनकपुर ।  प्रदेश २ सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले प्रदेश २ को प्रदेशसभा बैठक आज अवरुद्ध गरेको छ । 

प्रदेश सरकारको गलत क्रियाकलापका बारे उठाइएको प्रश्नको जवाफ प्रदेश सरकारले नदिएको भन्दै नेकपा र काँग्रेसले आज दिउँसो बसेको प्रदेशसभाको तेश्रो अधिवेशनको पाँचौ प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

प्रतिपक्षी दुवै दलले सरकारको गलत क्रियाकलाप विषयमा जवाफ माग गर्दै अवरोध गरेपछि प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । 

बैठक शुरु भएलग्तै काँग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले सरकार एकलौटी ढंगले हिडिरहेको बताउँदै जवाफ दिन नमानेकाले बैठक चल्न नदिने अडान राखेका थिए । 

सरकारलाई सधै सहयोग गर्दै आएपनि विगतमा आफुहरुसँग भएको भद्र सहमति कार्यान्वयन नगरी प्रदेश सरकार भाग्न खोजिरहेको आरोप लगाउँदै कुशवाहाले प्रदेश सरकारका मन्त्रीहरु आफुखुसी योजनाको रकम रकमान्तर गरेर आफ्नो क्षेत्र तथा नातागोतलाई योजना बाँडफाड गरेकोले यी सबै कुराहरुको विषयमा सरकारले जवाफ नदिएसम्म प्रदेशसभाको बैठक सञ्चालन हुन नदिने बताए । 

यस्तै नेकपाकी सांसद ज्वालाकुमारी साहले प्रदेश सरकारले जनता आवास कार्यक्रम देखि सरकारको नीति कार्यक्रम सम्ममा आफुहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै पटक पटक सरकारसँग जवाफ माग गर्दा आश्वासन बाहेक ठोस जवाफ पाउन नसकेकोले बैठक चल्न नदिने बताए ।