प्रदेश एकमा नेकपाका सभासद विभाजित : प्रदेश नामाकरण स्थगित

 प्रदेश एकमा नेकपाका सभासद विभाजित :  प्रदेश नामाकरण स्थगित


प्रदेश नं १ नेकपाका ६६ सभासदमध्ये ३४ सभासद कुनै न कुनै रुपमा पहिचानको सुवास आउने गरी प्रदेशको नामाकरण हुनुपर्ने अडानमा उभिएपछि प्रदेशको नामाकरण गर्ने मामिला स्थगित भएको छ । ती सभासदले कम से कम एक नं प्रदेशको नाम कोशीसँगै पहिचानसँग सम्बन्धित किरात शब्द जोडिनु पर्ने अडान राख्दै आएका छन् । पार्टी नेतृत्वले कोशी, सगरमाथा शब्दमा निर्णय गर्नुपर्ने मौखिक निर्देशनका विरुद्ध सभासद उभिएकोले नामाकरण हुन सकेन ।

नेकपाका ३४ सभासदसहित नेपाली कांग्रेसका २१ सभासदमध्ये १२ जना, संघीय समाजवादी फोरम नेपालका तीन जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना पहिचानको पक्षमा उभिएको प्रदेश सभासदहरुले बताएका छन् । पूर्व माओवादीका अधिकांस, पूर्व एमालेका केही सभासद आन्तरिक रुपमा पहिचानको पक्षमा खुलेका छन् । यसमा कांग्रेसका आधाभन्दा बढी सभासदले साथ दिने भएको सूचना वाहिर आएको छ । यता फोरम र लिम्बुवानसम्बद्ध सभासद पहिचानको पक्षमा रहँदै आएका हुन । यद्यपि लिम्बुवानबाट निर्वाचित विष्णु तुम्बाहाम्फे लिम्बुवान–किरात (खम्बुवान) नामको पक्षमा, फोरम सम्भवतः किरातको पक्षमा रहने सम्भावना छ । तर कांग्रेसी सभासदले पहिचानको कुन नामलाई समर्थन गर्ने हुन खुल्न सकेको छैन् । प्रदेश एकको प्रमुख प्रतिपक्षी कांग्रेसले एक नं प्रदेशमा राजनैतिक खेलोफड्को गर्न खोजेको पनि हुनसक्छ । माथिको सभासदको गणितमा कुनै फेबदल भएन भने कुनै न कुनै रुपको पहिचानसम्बद्ध नामाकरण हुने या नामाकरण हुनै नसक्ने परिस्थितिमा प्रदेश प्रवेश गरिरहने देखिन्छ ।

विराट क्षेत्रमा राजधानी रहने अमूर्त शब्द प्रयोग गरेर राजधानी विराटनगर मै रहने विषय अनुमोदन भैसकेको छ । राजधानीको विषय अब समसामयिक मुद्धाको विषय रहेन । राजधानी परिवर्तन गर्न नसक्ता आउने जनाधारको ह्रास परिपूर्ति गर्न र आफ्नो राजनैतिक भविष्य सुनिश्चित गर्न सभासदहरुले नामाकरणको मुद्धालाई सहाराको रुपमा लिएका हुन । 

प्रदेशको नामाकरण प्रदेशसभामा यतिखेर कोशी, किरात, सगरमाथा र चोमोलुङमा चार शब्दले आधिकारिक प्रवेश पाएको छ । यसमध्ये किरात र कोशी नामाकरणमा चर्को विवाद छ । पहिचान पक्षधरहरु किरात सभ्यताको नाममा सहमति हुनुपर्ने अडान राख्दै आएका छन् । 

किरात नामाकरणलाई खारेज गर्न कोशी सभ्यताको जबर्जस्त सूत्रलाई बाँकीले उठाउँदै आएका छन् । यिनै चार शब्दबाट प्रदेश एकको नाम नामाकरणको सम्भावना बढेर गएको छ । किरात र कोशी समायोजन गरेर किरात–कोशीमा सहमति हुन सकेन भने चोमोलुङमामा पनि सहमति हुन सक्ने सम्भावनाका लागि यो शब्दलाई पछिल्लो पटक औपचारिक रुपमा अगाडि सारिएको छ । पहिचानका केही पक्षधरहरुले भाषिक सुवास दिने ‘चोमोलुङमा’ शब्द मिलन विन्दु हुनसक्ने सम्भावनासँगै अगाडि सारिएको बताएका छन् । 

भोट–बर्मेली भाषा परिवारसँग सम्बन्धित ‘चोमोलुङमा’ नेपालस्थित विश्वको अग्लो शिखर माउण्ट एभरेष्ट वा सगरमाथाको परम्परागत नाम हो । इतिहासकार बाबुराम आचार्यले पछिल्लो पटक यसलाई सिगरमाथा नाम दिएका हुन । त्यसअघि वेलायती सर्वेयरको नाममा माउण्ट एभरेष्ट नाम राखियो । यसैले सगरमाथाका पछिल्लो पटक न्वारान गरिएका नाम सहमतिको बिन्दू हुन नसक्ने ठहर धेरैले गरेका छन् ।