लोचन बिमली : जसले मलेशियामा हजारौं नेपालीलाई सहयोग गरे
लोचन बिमली मलेशियामा नेपाली समुदाय र व्यवसायीबीच अत्यन्तै स्थापित नाम हो । २५ वर्षभन्दा लामो समयदेखि मलेशियामा कार्यरत उनी नेपालीहरुका बीचमा असाध्यै लोकप्रिय नेपाल हाउस रेस्टुरेण्टका प्रोप्राइटर समेत थिए । उनी नेपाल मलेशिया व्यवसायी संघका संस्थापक अध्यक्ष हुन । सन् २००० देखि २००४ सम्म उक्त संस्थाका अध्यक्ष थिए । हाल उनी सौगात इम्प्लोयमेण्ट सर्भिस सञ्चालन गर्छन । उनी प्रवासी उद्धार कोष मलेशियाका सेक्रेटरी हुँदा उक्त कोषका अध्यक्ष पदमबहादुर बिक (पदम बाबा) थिए ।
नेपाली संघसंस्था, दूतावाससँगको समन्वय र स्वतन्त्र रुपमै पनि नेपाली समुदायका बीचमा आइपर्ने समस्या समाधानमा नेतृत्वदायी भूमिकामा छन् उनी । झापा, दुर्गापुरका स्थायी निवासी बिमली हाल नेपालमा आएका बेलामा jhilko.com ले गरेको छोटो कुराकानी :
जीवनको ऊर्जाशील समय मलेशियामा नै बिताउनु भयो होइन ?
हो । हाल म ५५ वर्षको भएँ । म २५ वर्ष भन्दा बढी समयदेखि त मलेशियामा नै छु ।
सुरुमा मलेशिया कुन सन्दर्भमा जानु भएको थियो ?
म व्यवसायको सिलसिलामा नै गएको थिएँ । सुरुमा म खासा व्यापार गर्थें । त्यसपछि सिंगापुरमा व्यापार गरें । र, पछि मलेशियामा केन्द्रित हुन लागें ।
नेपाली समुदायका बीचमा स्थापित समाजसेवीका रुपमा पनि तपाईंलाई लिइन्छ, समाजेसेवामा लाग्न के ले उत्प्रेरित गर्याे ?
म बाध्यताले समाजसेवी भएँ । त्यो बेलामा मलेशियामा नेपाली दूतावास समेत थिएन । त्यतिवेला पनि नेपाली समुदायमा गम्भीर घटनाहरु हुन्थे । हामीले प्रवासी उद्धार कोष नै खडा गरेर समस्यामा परेका नेपालीलाई सहयोग गर्न सुरु गर्याैं ।
उद्धार वा सेवाका केही प्रतिनिधि घटना भनिदिनुस न ?
त्यस्ता अनगिन्ती घटनाहरु छन् । कम्पनीबाट, जेलबाट, अरु समस्याबाट धेरै उद्धार गर्याैं । १९९८ को एउटा घटना म आज पनि झल्झली सम्झदैं छु । तनहुँ दुल्हेगौंडाका कुलबहादुर मगर भन्ने मजदुर मलेशियाको स्रेमबानमा रुखबाट लडेर मरे । ग्लानी इगर इन्तान अस्पताल, क्वालालम्पुरमा उनको मृत्यु पुस्टि भयो । उनलाई नेपाल पठाउने पहल सफल भयो ।
अस्पताललाई तिर्नुपर्ने ४८ हजार मलेशिया रिंगेट (त्यतिवेलाको नेपाली १४ लाख ४० हजार रुपियाँ) मलेशियाका तत्कालीन गृहमन्त्री ताजुल रोशली गजलीको सहयोगमा पूर्ण छुट गराई उनको शव नेपाल पठाइयो । हाम्रै कोषबाट उनको परिवारलाई दुई लाख ७० हजार नगद तत्कालीन गृहमन्त्री गोविन्दराज जोशी र हाम्रा अध्यक्ष पदमबहादुर बिक (पदम बाबा) मार्फत दिइयो । पछि पछि त यस्ता मृत्युको घटना आम जस्तै भयो । हामीले कतिलाई उद्धार गर्याैं, कतिलाई क्षतिपूर्ति भरायौं यसको लेखाजोखा छ, तर अहिले सबैको वर्णन नगरौं ।
अहिले त मलेशियामा छ लाखको हाराहारीमा नेपालीहरु छन् । उनीहरुलाई पर्ने धेरै समस्या के हो ?
खासमा म्यान पावर कम्पनीहरुको गैरजिम्मेवारीपन र नेपालीहरुमा श्रमप्रतिको सम्मान नहुनु नै समस्याको कारणको मूल जड हो । एजेन्सीहरुले आकर्षक कुरा गरेर श्रमजीवीहरुलाई प्रभावमा पार्ने, अनि उनीहरु भने जस्तो सेवा सुविधा नपाएर तनावमा, विचलनमा आउने मुख्य समस्या यही हो । हचुवाको भरमा वैदेशिक श्रम व्यवसाय गर्नेहरुका पछाडि मजदुर लाग्नु हुँदैन । लहडमा जानु पनि हुँदैन । गए पनि काम छाड्दा धेरै सोंच विचार गर्नुपर्छ ।
मलेशियामा रहेका नेपाली नेपालीबीचको सम्बन्ध चाहिं कस्तो छ ?
समग्रमा नराम्रो छैन । तर, अपवादका रुपमा नेपालीले नेपालीलाई ठग्ने, नेपाली नेपालीबीचमा झैझगडा गर्ने गरेको पनि पाइन्छ । केही बीचौलियाहरुले त मलेशियामा सञ्जाल नै खडा गरेर नेपालीहरुलाई ठग्ने धन्दा चलाउने अनि नेपालमा नेता, पहुँचवाला र पत्रकारहरुका बीचमा आएर साखुल्ले बन्ने गरेको देखिन्छ । यस्ता बीचौलियाहरु विरुद्ध पनि हामी लडिरहेका छौं ।
अहिले चाहिं यस्तै कारणले मलेशिया श्रम रोजगारीमा जाने कुरालाई नेपाल सरकारले नियन्त्रणमा लिन खोजेको त होइन ?
यो सँग कुनै साइनो छैन । हालका श्रम मन्त्री गोकर्ण विस्टले मलेशियासँग जुन श्रम सम्झौता गर्नुभयो, यो श्रम सम्झौता गर्नुपूर्व कूटनीतिक पहलबाट भएको भए यो समस्या आउँदैन थियो । उहाँलाई कसैले गलत सल्लाह दिएको र उहाँले त्यसलाई मान्दा नै आज यो समस्या आएको हो ।
कस्तो कूटनीतिक पहल ?
मलेशियाको दूतावास यहाँ छ र नेपालको दूतावास पनि उहाँ छ । यी कूटनीतिक क्षेत्रबाट पहल गरेर मन्त्रीले श्रम सम्झौता गर्नुभएको भए आज यो समस्या आउने थिएन । कूटनीतिक पहल नगरी हठात र हचुवा निर्णय गर्दा यो समस्या आएको हो ।
मन्त्रीको यो निर्णयले पुराना मलेशियामा कार्यरत नेपाली श्रमिकलाई केही असर त गरेको छैन ?
पुरानालाई कुनै असर गरेको छैन तर नयाँ जानका लागि अड्चन पैदा भएको छ ।
यसबारेमा तपाईंहरुले मन्त्रीसँग भेटेर कुराकानी गर्नुभयो कि ?
गरेको छैन । तर, यसबारेमा मन्त्रीबाट पनि पछिल्ला दिनमा कमजोरी भएको मानेर सच्याउने तिर उद्धत रहेको सुनेका छौं । यो राम्रो हो ।
तपाईं त मलेशियामा २५ वर्षभन्दा बढी बिताएको मान्छे । मलेशिया र नेपालका बीचमा के भिन्नता छ ?
हेर्नुस, भूगोलका हिसावले खासै भिन्नता छैन । मलेशिया पनि पहाड र समथर जमिन भएको देश हो र नेपाल पनि । तर, विकासको दृष्टिले नेपाल मलेशियाभन्दा अझै एक सय वर्षपछि छ । त्यहाँको विकास देख्दा लोभ लाग्छ र नेपालमा पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लागिरहन्छ ।
कुनै पनि देशको विकासका लागि त्यहाँको श्रम र पुँजीको समायोजन अत्यन्त महत्वको कुरा हो । त्यो महत्व मलेशियाले बुझ्यो तर नेपालले अझै बुझेको महसुस भएको छैन । खासमा महाथिर महम्मद जस्ता प्रधानमन्त्री पाउनु मलेशियाको सौभाग्य हो, जो सँग अति दूरसम्म हेरेर निर्णय लिने एउटा स्पष्ट भिजन छ ।
नेपालमा पनि तपाईंकै जिल्लाका प्रधानमन्त्री हुनुहुन्छ । जसलाई दुई तिहाइको समर्थन पनि छ नि ?
नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीसँग पनि अत्यन्त ठूलो भिजन छ । देशका लागि केही गरौं भन्ने पनि छ । तर, उनका अरौटे, भरौटे र आसेपासेहरुले गर्दा उनी कामयावी हुन सकेका छैनन् । देशलाई समृद्ध बनाउन र जनता सुखी हुन नेताले सपना देखेर मात्र हुँदैन । त्यो सपना साकार पार्ने योजनाहरु हुनुपर्छ, जसको एक वा दुई वर्षमा परिणाम निस्कने विश्वास जनतामा पलाओस । योजनाकारहरुसँग भिजन, मिशन र लक्ष्य देखिएन भने प्रधानमन्त्रीमा जति नै हुटहुटी भए पनि विकास, समृद्धि आउँदैन ।
नेपालको श्रमशक्तिको यत्रो वैदेशिक पलायन छ, तपाईंलाई ठीक लागिरहेको छ ?
म वैदेशिक रोजगारदाता भएर पनि के भन्छु भने यो ठीक होइन । त्यसैले मैले परिणाम देखिने विकासको कुरा गरेृृको हो । विकासले समृद्धि ल्याउँछ । त्यसले सँगसँगै देशभित्र नै रोजगारी सिर्जना गर्छ । त्यसपछि वैदेशिक रोजगारीको आवश्यकता नै पर्दैन ।
नेपालमा विकास हुनै नसकेको हो त ?
मैले के भन्न खोजेको भने समग्र विकास, व्यापार, वाणिज्य, कृषि, पर्यटन आदिलाई दृष्टि दिने योजनाकार नै भएनन् नेपालका नेतृत्वसँग । हो, नेपाल एउटा सार्वभौम देश हो । प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक सम्पूर्ण आन्दोलनका परिणाम आजको संघीय गणतान्त्रिक नेपाल हो । हजारौंहजार शहीदको वलिदान र त्यागपूर्ण संघर्षको परिणाम आजको नेपाल हो । तर, संघर्षपछिको सामाजिक रुपान्तरण नेपालमा देखिएन । यो नेताहरुकै असफलता हो ।
त्यसोभए नेपालमा के वैदेशिक योजनाकार र परामर्शदाताको आवश्यकता छ ?
मैले त्यसरी पनि भनिन । जिम्मेवारी र भूमिका दिन कञ्जुस्याइँ नगर्ने हो भने नेपालमा धेरै योजनाकारहरु हुनुहुन्छ, जोसँग भिजन, मिशन र लक्ष्य पनि छ । जहाँसम्म वैदेशिक योजनाकार र परामर्शदाताको कुरा गर्नुभयो, आवश्यकता परेको खण्डमा त्यो पनि ठूलो कुरा होइन । हेर्नुस, देश बनाउने कुरामा अरुको वुद्धि र योजना पनि सुन्नुपर्छ । त्यसका लागि मलेशियाकै योजनाकार चाहियो भने पनि हामी व्यवसायीहरु त्यसको सहजता या वातावरण निर्माण गर्न तयार छौं । त्यतिमात्र होइन हामी लगानी ल्याउने भूमिकाका लागि पनि तयार छौं । यो त नेपाल सरकारको चाहनाको विषय हो ।
प्रतिक्रिया