बाटो बिरायौ बाबुराम !

बाटो बिरायौ बाबुराम !

नबराज बराल 

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीबीच एकताको प्रक्रिया निकै लामो समयदेखि चलेको हो । अहिले आएर यसले मुर्तता पाउँदैछ ।  आजभन्दा झण्डै दुई वर्षअघि २०७४ साल श्रावण १८ गते एउटा जुझारु र सक्रिय पत्रकार नबराज बरालले jhilko.com मा नयाँ शक्ति पार्टी निर्माण, उपेन्द्र यादवको पार्टीसहित अन्य पक्षसँगको एकताको प्रसंग र डा. बाबुराम भट्टराईमा आत्मकेन्द्रित व्यक्तिवादी सोंच र उनमा रहेको अस्थिरताका बारेमा त्यतिवेलै निकै राम्रो विश्लेषण गरेका थिए ।  डा. बाबुराम भट्टराईका सन्दर्भमा लेखेको यो टिप्पणी आज पनि त्यत्तिकै सान्दर्भिक छ । सं.

पोखराबाट घरमा पुग्दा साँझ पर्नै लागिसकेको थियो । आमा पिँढीमा बसेर तरकारी काट्दै रहिछिन् । मलाई देखिहालिन् । तर, मेरो आगमनले उनमा कुनै खुशियाली देखिएन । केही बोलिनन् । तरकारी लिएर भित्र छिरिन् । पकाउन थालिन् । अघिपछि देख्नेबित्तिकै खुुशी भइहाल्ने आमा आज किन बेखुशी भइन् ?आफैँसँग प्रश्न उब्ज्यो । चिन्ता र चासो मनमा एकैचाटी सल्बलाउन थाल्यो । म पनि सरासर भान्छामैै गएँ ।

के भो आमा ?–मैले सोधिहालेँ ।

‘तँसँग त मलार्ई बोल्नै मन छैन’–आमाले कारण खुलाइनन् ।

किन ?–मैले फेरि सोधेँ ।

उनले प्रतिप्रश्न गरिन्–‘तैँँले माओवादी किन छोडेको ?’

आमा रिसाउनुको कारण बुझिहालेँ । कारण राजनीतिक रहेछ । मेरो चिन्ता र चासोे मेटियो । ढुुक्क भएँ । उनकोे प्रश्नकोे उत्तर दिन आवश्यक नै ठानिन । हाँसेर  टार्न खोजेँ ।

तर, उनको अनुहारमा कुनै फेरबदल आएन । अनि स्पष्टीकरण दिएझैँ मैले भनेँ–माओवादी पार्टी पनि कांग्रेस, एमालेजस्तै पुरानो भइसक्यो । त्यसैले नयाँ शक्ति बनाउन माओवादी छोडेको हो ।

आमाको चित्त बुझेनछ । मैले कुरा नसिध्याउँदै उनी बोलिहालिन्–‘तेरो बा ६० बर्ष कटिसक्नुभो । म पनि ५० नाघिसकेँ । त्यसो भए त हामी पनि पुराना भयौँ । अब, नयाँ बा–आमा खोज्ने होलास् नि ?’–असाध्यै मन दुखेझैँ उनले अझै प्रश्न थपिन्–‘तँलाई चाहिँ बूढो हुनु पर्दैन ?’–आशीर्वाद दिँदै भनिन्–‘सधैँ यस्तै भइरहेस् !’

मलाई नरमाइलो लाग्यो । आमासँग केही बोलिन । प्रतिक्रिया दिने कुनै शव्द भेटिएन । मेरो कुरा सुन्ने मानसिकतामै उनी थिइनन् । २०७२ असोज ६ गते बाबुराम भट्टराईले एमाओवादी छोडेपछि मैले पनि छोडेको थिएँ । ‘बाबुराम गुट’का अधिकांस कार्यकर्ताका लागि उनको कदम नै आफ्नो कदम बनेको थियो । पार्टीभित्र बाबुराम अन्यायमा पर्दै आएकोले उनलाई साथ दिनुपर्छ भन्ने हाम्रो साझा बुझाइ हो । सोहीअनुसार उनको पक्षमा पार्टीभित्र संघर्ष गर्दै आएका थियौँ ।

तर, बाबुरामले एकल निर्णयमै एमाओवादी पार्टी र सभासदसमेत परित्यागको घोषणा गरे । पत्रकार सम्मेलनमा बाबुरामले भने–‘राजनीति गर्ने जुन कुनै मान्छेको चाहना देशको कार्यकारी प्रमुख बन्ने हुन्छ । म त्यो ठाउँमा पुगिसकेँ । अब, देशलाई कति सक्छु योगदान गर्नेछु ।’

कस्तो विडम्बना ! उनले पार्टी परित्याग गर्दा हिजो साथ दिने कसैको मतलब गरेनन् । नयाँ शक्ति बनाउन आफूले एक्लै पार्टी परित्याग गरेको दावी गरे । त्यसपछि हामी अलमलमा प¥यौँ । आफ्नी छोरीसँग बाहेक अरु कसैसँग सल्लाह नगरेको उनले बताइरहँदा उनको समूहका सबैको मन कुँडियो । उनले ठीक गरेनन् भन्ने लागे पनि ठीक गरे भन्न वाध्य थियौँ । त्यतिबेलै मैले सोचेको थिएँ–बोटले पालुवा फेर्छ तर, जरा फेर्दैन । बाबुरामले माओवादीमै रहेर विचारको नयाँ पालुवा देलान् भन्ने लागेको थियो तर उनले माओवादी जरा नै फेरेको घोषणा गरे । जरा फेरेपछि बोट मर्ने निश्चित नै थियो । त्यसैले, टोपबहादुर रायमाझीलगायतका कैयौँ नेताले उनलाई साथ दिएनन् । तर, गुटमा विभाजित तल्लो स्तरका नेतारकार्यकर्ता अधिकांस उनैको पक्षमा लागे । किनकि, प्रचण्ड समूहको ‘काँडेबार’ छिचोलेर पार्टीमै बसिराख्ने अवस्था थिएन ।  

पत्रकार सम्मेलनमा उनले दिएको अभिव्यक्ति आफू केन्द्रित थियो । उनले त आफूले पाउने पाईसकेका थिए तर हामीले माओवादी पार्टी र उनको पक्षमा लागेर केही पाएका थिएनौँ । बरु, धेरै गुमाइसकेका थियौँ । बाबुरामको पक्षमा देखिएकै कारण पार्टीभित्रै फरक पार्टीका कार्यकर्ताको जस्तो नमीठो व्यवहार भोग्दै आएका थियौँ । यद्यपि, त्यसलाई हामीले स्वाभाविक रुपमा लिएर पचाउँदै आएका हौँ ।

जनयुद्धको भीषण आँधीमा आँखा चिम्लिएर होमिएका कार्यकर्ता कसैको पनि वैयक्तिक अपेक्षा केही थिएन । पार्टी राम्रो बन्दिए र नेताले बाटो नबिराइदिए भन्ने मात्रै चाहना थियो । खासमा रगतसँग खेल्नेहरु अवसर खोज्दै रणभूमिमा छिरेका थिएनन् । अन्याय, अत्याचार र अस्तव्यस्तताले खेद्दै रणभूमिमा पु¥याएको थियो ।

तर, विडम्बना ! जनयुद्धमा अरुलाई मुख्य र सहायक दुश्मन छुट्याउने कमाण्डरले शान्तिप्रक्रियामा आइसकेपछि सहयोद्धालाई नै मुख्य र सहायक दुश्मन देख्न थाले । कार्यकर्ता र जनताको अपेक्षामा पटक–पटक ठेस लागिरह्यो । जुधाउनका लागि बेस्सरी खुवाएर पालेका ‘साँढे’ झैँ नेताहरु जुध्न थाले । कार्यकर्ता मिच्चिइरहे । परिणामतः रक्तमुच्छेल गर्विलो इतिहास कलंकित बन्दै जान थाल्यो ।

संसार बदल्ने गफ चुट्नेहरु आफैँ बदलिन सकेनन् । आफू अनुकूल अर्को बदलिएन भन्दै एकले अर्कोलाई कुरीकुरी गरिरहे । व्यक्तिवादको उर्लँदो भेलले नेताहरुलाई क्रमशः दुई किनार बनाउँदै लग्यो । कार्यकर्ता पनि कुनै वल्लो किनार भए, कुनै पल्लो किनार । सोहीअनुरुप मजस्ता एक चौँथाई माओवादी कार्यकर्ता बाबुरामतिरको किनारमा पुगेका थियौँ ।

त्यतिबेला बाबुरामले आफ्नो समूहमाथि गरेको अवमूल्यन र अविश्वासमाथि पनि कार्यकर्ताले आँखा चिम्लिदिए । यद्यपि, उनले माओवादी कार्यकर्ताबाट नयाँ शक्तिको कुनै सम्भावना नदेखेर पार्टी परित्याग गरेको बताएका थिए । त्यसो भन्नु आफ्नै समूहमाथिको धोका थियो ।

त्यसपछि नयाँ मान्छे खोज्दै उनी उच्च ओहोदाका अवकाश प्राप्त र कार्यरत कर्मचारी खोज्दै हिँडे । ठूला व्यवसायीहरु भेट्न थाले । तर, माओवादी पार्टी छोडेर आउन उक्साउने अरबपतिहरुले नै उनलाई साथ दिएनन् । त्यसपछि उनी ‘कोइ न कोइ पुरानो पोई’ भनेझैँ माओवादीवृत्तका नेतारकार्यकर्तातिर फर्किए । समय घर्किसकेको थियो । ठूलो कसरत गर्दा पनि केन्द्रीय तहका प्रभावशाली नेताहरुले उनलाई साथ दिएनन् । किनकि, बाबुरामप्रतिको उनीहरुको मन मरिसकेको थियो ।

उनको दाहिने हात मानिएका टोपबहादुरले नै भने–‘बाबुरामले ३२ चोटी पार्टी छोडिसके । उनी फेरि माओवादीमै फर्कन्छन् । व्यक्तिको पछि लागेर साध्य हुँदैन ।’

बाबुरामको पक्षमा खुलेका सभासद् कुनै एक जनाले पनि माओवादी छोडेनन् । प्राविधिक कारण देखाए पनि उनीहरुले पार्टी नछोड्नुमा बाबुराम नै प्रधान कारण थिए ।

केही समयपछि बाबुरामले माओवादी कार्यकर्ताको भेला बोलाए । यद्यपि, भेलामा उनको समूहका तल्लो स्तरका अधिकांस नेतारकार्यकर्ता आए । भेलामा उनले अतिथिका रुपमा मधेशी नेतालाई मात्रै बोलाएका थिए । माओवादी कार्यकर्ताको जिज्ञासा मेटाउँदै बाबुरामले नयाँ शक्ति वामपन्थी पार्टी नै बन्नेमा ढुक्क हुन आग्रह गरे । दुई दिने भेलापछि सबै कार्यकर्ता जिल्ला–जिल्लामा गए । नयाँ पार्टीको पक्षमा माहोल बनाउन होमिए ।

भेलामा माओवादी मात्रै देखिएपछि ‘नयाँ बोतलमा पुरानै रक्सी’ भन्ने आलोचना हुन थाल्यो । त्यो आलोचनाको खण्डन गर्न उनले केही हप्तापछि नै ३५ जनाको केन्द्रीय सचिवालय टिम घोषणा गरे । जसमा माओवादीका दुई नेता मात्रै परेका थिए । उनको पक्षमा मरिमेटेर लाग्ने नेता गंगा श्रेष्ठ, कुमार पौडेललगायत नै सचिवालयभित्र अटेनन् ।  

सचिवालय घोषणा कार्यक्रममा उनले भनेका थिए–‘हामी छिट्टै एकलाख संस्थापक सदस्य रहेको पार्टीको घोषणासभा गर्छौँ र त्यहीँबाट देश बनाउने स्पष्ट भिजन जनतामा पेश गर्छौँ ।’ उनले त्यतिबेलै एक सय ३५ जनाको अन्तरिम केन्द्रीय परिषद् बनाउने बताएका थिए । तर, केही हप्तापछि नै आफ्नै प्रतिवद्धतालाई कुल्चँदै करिब साढे दुई सयको कमिटी बनाए । पछि किस्ता–किस्तामा थप्दै लगे ।

जे–जे भए पनि पार्टी घोषणा कार्यक्रमका लागि कार्यकर्ताहरु अहोरात्र खटिए । व्यापक प्रचार–प्रसार र तयारी भयो । घोषणासभाको दुई, तीन दिन अघिदेखि राजधानीका चोक–चोकमा बाबुराम भट्टराईको विशाल तस्विर भएका होडिङबोर्ड टाँगिए । राष्ट्रिय स्तरका मुख्य पत्रिकाका ‘फ्रन्ट पेज’ भरी बाबुरामकै ठूलो तस्विरसहितको विज्ञापन छापियो । त्यतिबेलै कार्यकर्ताले चरम व्यक्तिवाद देखियो भन्दै बाबुरामको चर्को आलोचना गरेका थिए । पार्टी घोषणा भयो । तर, कुनै भिजन आएन ।

पार्टी घोषणापछि अन्तरिम परिषद्लाई नै केन्द्रीय परिषद्को मान्यता दिइयो । त्यसपछि परिषद् सदस्य थपिँदै गए । जम्बो कमिटीमा बस्नुको अर्थ नभएको भन्दै कैयौँ परिषद् सदस्यले राजीनामा  दिए । कतिपयले  पार्टी नै छोडे । ‘माओवादी टीके पार्टी भो’ भनेर आरोप लगाउने बाबुरामले आफू संयोजक रहेको पार्टीमा त्यसरी नै  निधार थाप्ने जति सबैलाई टीका लगाइ दिँदै जान थाले ।

पार्टी निर्माण र विस्तारको क्रममा उनको छलफल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग हुन थाल्यो । फोरमसँगको निकटता पार्टीभित्रका कार्यकर्ताले रुचाएनन् । पार्टी बाहिर पनि आलोचना हुन थाल्यो । सञ्चार माध्यमले पार्टी एकता हुन लागेको भन्दै गत बर्ष समाचार प्रकाशित गरे । तर, बाबुरामले एकताको कुरालाई निराधार हल्ला भएको बताए । सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले भनेका थिए–‘नयाँ शक्तिमा व्यक्तिगत रुपमा जोसुकै मान्छे आउन सक्छन् तर, सिंगो पार्टीसँग नयाँ शक्तिको एकता हुँदैन । किनकि, फरक–फरक अंग जोडेर नयाँ शरीर बन्दैन ।’

तर, केही महिना बित्न नपाउँदै उनले पार्टी एकता प्रक्रिया थाले । दर्जनौँ साना पार्टीसँग एकता गरिसके । उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकता गर्न दिनहुँजसो बैठक चलाए । तर, मिलेन । उपेन्द्रले समेत बाबुरामलाई नेतृत्व स्वीकारेको देखिएन । पार्टी एकता नहुँदै फोरमकै चुनाब चिन्ह ‘मसाल’ नै नयाँ शक्तिको पनि चुनाब चिन्ह बनाइयो । यद्यपि, यो वाध्यात्मक भनिएको थियो ।

निर्वाचन आयोगले नयाँ शक्तिको ‘आँखा’ चुनाब चिन्ह नदिएकोले फोरमको ‘मसाल’ लिनुपर्ने अवस्था आउनु नयाँ शक्तिको ‘अदूरदर्शीताको उपज’ थियो । किनकि, गंगा चौधरीको पार्टीसँग एकता गरेपछि महाधिवेशन गरेर चुनाब चिन्ह फेरेको निर्णय गरेको भए न सरकारलाई सराप्न पथ्र्यो न त अरुको चुनाब चिन्हमै निर्वाचनमा जानुपथ्र्यो । बरु, अरु पार्टीको चुनाब चिन्ह लिएर स्थानीय चुनाबमा नजानु नै वुद्धिमानी हुन्थ्यो । संगठन निर्माण र विस्तार गरेर केन्द्र र प्रदेशको चुनाबमा मात्रै भाग लिँदा पनि केही फरक पर्नेवाला थिएन ।

पोखरा, काठमाडौँजस्ता महानगरपालिकाको प्रमुख पद फोरमलाई दिएर चुनाबमा जाँदैमा आफ्ना मत सुरक्षित हुन्छन् ठान्नु नेतृत्वको ‘राजनीतिक अपरिपक्वता’ थियो । यस्ता विभिन्न कमजोरी र गलत बाटोको कारण नयाँ शक्ति न राम्रो न त ठूलो पार्टी बन्ने स्थितिमा पुगेको हो ।

बाबुरामले माओवादी छोडेपछि पुराना पार्टीले विभिन्न कालखण्डमा राम्रो इतिहास निर्माण गरिसकेको तर ती पार्टीबाट परिवर्तन सम्भव नभएको बताएका थिए । अरु पार्टी र तिनका नेताको आलोचना नगर्ने समेत उनको प्रतिवद्धता थियो । तर, समय बित्दै जाँदा उनले मध्यरातमा समेत प्रचण्डलाई सत्तोसराप गरे । एक दिन त राति एक बजेपछि उनले प्रचण्डलाई सामाजिक सञ्जाल फेसबुकमार्फत दर्जनजति गम्भीर आरोप लगाए । त्यसपछि पनि प्रचण्डलाई ‘भ्रष्ट’, ‘षड्यन्त्रकारी’, ‘खाओवादी’लगायतका आरोप लगाउँदै आइरहेका छन् । पार्टी छोडेर सत्तोसराप गर्दै हिँडेपछि प्रचण्डले पनि बाबुरामलाई माया मान्नुपर्ने ठाउँ थिएन । धोका दिनेलाई पनि माया त ‘प्रेम’मा मात्रै हुन्छ, ‘राजनीति’मा हुँदैन ।

प्रधानमन्त्रीविरुद्धको प्रस्तुति अमर्यादित भन्दै उनको सर्वत्र आलोचना समेत भयो । ‘ढाका टोपी दिवस’का बेला पनि नेपाली संस्कृतिको धज्जी उडाउँदै उनले फेसबुकमा लेखेपछि माफी नै माग्नुप¥यो । एक विद्वान, दूरदर्शी र भिजन भएको नेताको परिचय बनाएका पूर्वप्रधानमन्त्री र एउटा पार्टीको प्रमुखको प्रस्तुति एउटा तल्लो स्तरको नबुझ्ने कार्यकर्ताको जस्तो हुनुले पार्टीलाई नै क्षति ग¥यो ।

पार्टी छोडेपछि उनले नेपालमा राजनीतिक क्रान्ति सकिएकोले अब आर्थिक क्रान्ति शुरु गरेको बताएका थिए । तर, पार्टीका कुनै कार्यक्रम आर्थिक क्रान्तिउन्मुख बनेनन् । प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्दै कपडामा हस्ताक्षर उठाएर प्रधानमन्त्री तथा आफ्ना पूर्वअध्यक्ष प्रचण्डलाई नै बुझाउने काममै बाबुरामले एक बर्ष खेर फाले । तर, प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा रहेका नेता थिएनन् । पक्षकै हुन् । कांग्रस र एमाले सोको विपक्षमा हुँदा निर्णय नभएको हो भन्ने दुनियाँलाई थाहा थियो ।

माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्दै ५७ वटा विषयमा संविधानमा ‘नोट अफ डिसेन्ट’ नै गरेको छ । त्यतिबेला बाबुराम आफैँ माओवादी पार्टीमा थिए । उनैले सम्झौताको दस्तावेज भन्दै नयाँ संविधानलाई ‘आधा भरी र आधा खाली गिलास’को संज्ञा दिएका थिए । अंकगणित महत्वपूर्ण नहुने भए उनी आफैँ प्रधानमन्त्री हुँदै प्रगतिशिल संविधान घोषणा गर्थे होलान् १ तर, बाध्यताले उनैले पहिलो संविधानसभा विघटन गरेका थिए ।

सत्य लुकाएर बुझ पचाउँदै त्यस्ता कार्यक्रम ल्याउनुले नयाँ शक्तिको पक्षमा खासै माहोल आएन । नयाँ भन्ने दरिलो आधार बनेन । संगठन, व्यवहार, कार्यक्रम र नीतिमा कतै पनि नयाँपन देखिएन । नयाँपनबिनाको पार्टीलाई नयाँ मान्दिनु पर्ने वाध्यता कसैलाई भएन । त्यसैले, नयाँ शक्तिले अरु पार्टीका कार्यकर्ता र जनतालाई आकर्षण गर्न सकेन । यद्यपि, बाबुरामले के के न गर्लान् भन्ने विश्वास सर्वत्र थियो । तर, समय बित्दै जाँदा बाबुरामबाट केही नयाँ आएन । नयाँ पार्टी निर्माण हुन समय लाग्छ भन्न त सकिएला तर, बाबुराम नेपालको राजनीतिमा नयाँ थिएनन् । उनी तीन दशक लामो समयसम्म कम्युनिष्ट पार्टीमा लागेर जनयुद्धको सहायक कमाण्डर हुँदै देशको कार्यकारी प्रमुख बनिसकेको संस्था हुन् । त्यसैले बाबुराम नेतृत्वको नयाँ शक्ति तीन दशकको योगफल वा परिणाम हो ।

बाबुरामले माओवादी छोड्दा राजनीतिक क्रान्ति सकिएको घोषणा गरेका थिए । तर, डेढ बर्ष नबित्दै प्रहरीबाट पक्राउ परे । चुनाब चिन्ह माग्दै निर्वाचन आयोग घेराउ कार्यक्रम गर्दा उनी प्रहरीबाट प्रक्राउ परेका हुन् । त्यसपछि उनले नेपालमा लोकतन्त्र नै आएको रहेनछ भन्ने अभिव्यक्ति दिए । लोकतन्त्र नै नआएको भए राजनीतिक क्रान्ति सकिएको रहेनछ भनेर स्वीकार्न सक्नुपथ्र्यो, स्वीकारेनन् । उनी नयाँ र विज्ञानको कुरा त गर्छन् तर मान्छेबाट पनि गल्ती हुन्छ र स्वीकार्नुपर्छ भन्ने मान्यता राख्दैनन् । उनको कुरा र स्वभाव अन्तरविरोधी देखियो ।

उनले ‘पाँच स’लाई पार्टीको सिद्धान्त भनेका छन् । पाँचै ‘स’ को अर्थमा कुनै विचार छैन । त्यसैले, विचार मिल्ने पार्टीसँग एकता हुन्छ भन्नु भ्रामक र अराजनीतिक कुरा मात्रै हो । समृद्धि त बाबुरामको मात्रै एजेण्डा होइन । पुराना पार्टीहरुले समेत स्थापनाकालदेखि नै विकास अर्थात, समृद्धि नै भन्दै आएका छन् । ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’, ‘हात–हातमा मोवाइल, घर–घरमा इन्टरनेट’, ‘गाउँ–गाउँमा सिहँदरबार’ जस्ता नाराहरु विकासकै एजेण्डाअनुरुप बनेका हुन् ।

संविधान कार्यान्वयनपछि सबै दलहरुको मुख्य एजेण्डा स्वभावैले समृद्धि नै हुन्थ्यो । बाबुरामले संविधान कार्यान्वयनमा बेवास्ता गर्दै अरुलाई उछिन्न मात्रै खोजेका हुन् । ‘गेम’ शुरु नहुँदै दुगुरेर सबै मेरो एजेण्डामा आए भन्नुलाई वेइमानी नै मान्नुपर्छ ।

पहिलो ‘स’ भनेको ‘स्वाधीन र सार्वभौमिता’ भनिएको छ । यो कुनै नौलो विचार होइन । संविधानमै लेखिएको छ कि, हाम्रो मुलुक स्वाधीन र सार्वभौम छ ।

दोस्रो ‘स’ भनेको समानुपातिकरसमावेशीरसहभागीतामूलक लोकतन्त्र भनिएको छ । यो पनि संविधान बनेर कार्यन्वयनमै गइसक्यो । जसअनुसार विभिन्न कोटा छुट्याइएका छन् । समावेशीतालाई ख्याल राख्दै निर्वाचनमै प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला तथा वडामा दलित र अल्पसंख्यक अनिवार्य हुने व्यवस्था छ । राज्यका सबै तहमा सबै पक्षको सहभागीता सुनिश्चित गराइएको छ ।

तेस्रो ‘स’ भनेको ‘सुशासनरसदाचार’ भनिएको छ । यो पनि सबैले भन्दै आएको कुरा हो । नयाँ होइन । कसैले भद्रगोल र भ्रष्टाचारलाई आफ्नो नीति मानेका छैनन् ।

चौथो ‘स’ भनेको ‘समतामूलक समृद्धि’ हो । यो त संसारकै साझा बाटो हो । अमेरिका, क्यानडा, चीनजस्ता मुलुकहरु पनि थप समृद्धिकै खोजी र प्रक्रियामा छन् । सबै राजनीतिक पार्टीहरुले विकासकै कुरा गरेका छन् । प्रक्रिया र परिणामकै मात्र अभाव हो ।

पाँचौ ‘स’ भनेको ‘समुन्नत समाजवाद’ हो । यो पनि उस्तै नारा हो । समाजवाद त कांग्रेसको पनि लक्ष्य हो । कम्युनिष्टहरुले साम्यवादको परिकल्पना गरेका छन् । फरक यत्ति हो, बाबुराम साम्यवादबाट समाजवादमा झरे ।

त्यसैले, ‘पाँच स’ नौलो एजेण्डा वा विचार होइन । बरु, उनले नयाँ भन्दै ‘वाम लोकतान्त्रिक विचार’को वकालत गरेका छन् । त्यसले उनी स्वयंलाई नै व्यंग्य गरेको छ । माओवादीमा छँदा एमालेलाई न कांग्रेस न कम्युनिष्टको आरोप लगाउँदै ‘तेस्रो लिङ्गी’को संज्ञा दिने बाबुरामले अहिले त्यस्तो विचारको कुरा गर्नु आफ्नै विगतप्रति खिस्सी गर्नु मात्रै हो । ‘लेफ्ट’ र ‘डेमोक्रेटिक’ विचार भनेको ‘बाहिर मोजाभित्र जुत्ता’ जस्तै नमिल्दो कुरा हो । यसै कारण न ‘लेफ्ट’ न त ‘डेमोक्रेटिक’ विचार बोक्नेहरु नै नयाँ शक्तिमा आउन चाहे । बरु, दुबैथरि तर्सिए । लेफ्टको नजरमा उनी कम्युनिष्ट रहेनन् र डेमोक्रेटको नजरमा उनी जनयुद्धको एक ‘आतंककारी’ नै छन् । तसर्थ, विचारमा पनि बाबुरामको बाटो देखिएन । बाटो बिराएकै ठहरियो ।

विचार मिल्ने पार्टीसँग मात्रै एकता हुन्छ भनेर उपेन्द्रको नेतृत्वको फोरम रोज्नु सोझा कार्यकर्ताको आँखामा छारो हाल्ने प्रयत्न मात्रै हो । नयाँ शक्तिको ‘पाँच स’ कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्रै होइन सबैले स्वीकार्छन् । जुनसुकै पार्टीसँग एकता गर्दा फरक पर्दैन ।

तर, फरक पृष्ठभूमिका कारण कांग्रेस र एमालेले बाबुराम नेतृत्वको पार्टीसँग एकता गर्न मान्दैनन् । सुहाउने र मिल्ने पार्टी माओवादी केन्द्र नै हो । नेतृत्वको प्रश्न मुख्य तर आन्तरिक प्रश्न हो भने पनि फोरमसँग झैँ माओवादीसँग छलफल गर्ने हो भने प्रचण्ड बाबुरामलाई नेतृत्व दिन पनि तयार होलान् । समस्या प्रचण्डमा होइन, बाबुराममै देखियो । प्रचण्ड बाबुरामलाई नेता मान्न तयार भए पनि बाबुराम प्रचण्डलाई कार्यकर्ता मान्न तयार नहुनुले पनि दूरी बढाएको अनुमान गर्न सकिन्छ । प्रतिष्पर्धामा भाग नलिने तर बाहिर गएर धाँधली भयो भन्नु हार स्वीकार्नु हो । क्षमता नभएपछि जतिवटा ग्राउण्ड फेरे पनि विजयी बनिँदैन भन्ने कुरा बाबुरामले बोध गरेको देखिएन ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओली पनि पटक–पटकका महाधिवेशनमा पराजित हुँदै नेतृत्वमा पुगेका हुन् । बाबुरामले पनि त्यो हिम्मत गर्नैपथ्र्यो । बैठकमा महाधिवेशनको माग गर्ने तर महाधिवेशनमा हल छोडेर हिँड्ने ‘फष्ट लिडर’ बन्ने लक्षण होइन । ‘हरुवा गोरुको छेरुवा दाऊ’ थियो ।

माओवादी पुरानो भयो तर म चाहिँ नयाँ नै छु भनेर बाबुरामले चलख्याईँपूर्वक दावी गरे । तर, हजार पटक भने पनि कसैले पत्याएन । जनयुद्धमा ज्यान गुमाउने १७ हजारको ‘ट्याग’ लागिरह्यो । बाबुुरामको इतिहास माओवादी आन्दोलनसँग अटुट रुपमा जोडिएको रहेछ । उनले जतिसुकै प्रयत्न गरे पनि टुट्ने देखिएन । किनकि, माओवादीसँगको उनको नाता रगतको हो । रक्तसम्बन्ध आजीवन मात्र होइन, पुस्तौँपुस्ता कायम रहन्छ ।

त्यसैले उनी माओवादीसँगै मिल्दा उनको साख घट्दैन । बरु, बढ्छ । नयाँ शक्तिमा झैँ उनी माओवादीमा सक्रिय हुने हो भने माओवादी नै पहिलो पार्टी बन्न सक्छ । पहिलो पार्टी भएपनि र नभएपनि समृद्ध नेपाल बनाउने बाबुरामको चाहना हो भने पनि कसैले रोक्दैनन् । किनभने, नयाँ नेपाल माओवादीकै एजेण्डा थियो, हो र हुनेछ ।

बाबुराम मात्रै होइन, प्रचण्ड–देउवा–ओलीहरु पनि नयाँ नै हुन् । किनकि, उनीहरु पनि समय अनुसार फेरिएका छन् । हिजो  ‘भारतको एजेण्ट’ भनेर चिनिने ओली अहिले ‘राष्ट्रवादी’ मानिएका छन् । हिजो प्रचण्डको टाउकाको मूल्य तोक्ने देउवा अहिले प्रचण्डको ‘लगौँटीयार’ भएका छन् । गत स्थानीय तहको चुनाबमा गोलाकारभित्रको हँसिया–हथौडामा भोट नै हाले । केपी ओलीले गाई र कमल थापाले सूर्यमा मत दिए । यो समय अनुसार पार्टी फेरिएको प्रष्ट प्रमाण पनि हो ।

अहिलेको कांग्रेस सात सालको जस्तो छैन । एमाले २८ सालताकाको ‘टाउको काट्ने’ पार्टी होइन । माओवादी पनि जनयुद्धकै सेरोफेरोको पार्टी रहेन । सबै फेरिए । त्यसैले, एजेण्डापिच्छे पार्टी फेरेर साध्य हुँदैन । बरु, समय अनुसार पार्टीले नै एजेण्डा फेर्नुपर्छ ।

संसारभरिका राजनीतिक इतिहासले भन्छ, इतिहास बुढो हुँदैन । छिमेकी मुलुक चीन करिब सय बर्ष अगाडिको चिनियाँ कम्युनिष्ट पार्टीकै नेतृत्वमा संसारकै शक्तिशाली बनेको हो । माओत्सेतुङको पालामा भएको राजनीतिक, सांस्कृतिक र आर्थिक जगमै यो स्तरमा आएको सर्वविदितै छ ।

अर्को छिमेकी भारत पनि माहात्मा गान्धीको पालाको कांग्रेस आईकै नेतृत्वमा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भयो र उसैको नेतृत्वमा अहिलेको शक्तिशाली मुलुक बनेको हो । उत्तर कोरिया, दक्षिण कोरिया, रसिया तथा अमेरिकन र युरोपियन मुलुकहरु पनि पुरानै पार्टीको नेतृत्वमा यो स्तरमा आइपुगेका हुन् । त्यसैले हाम्रो देशका पार्टी पुराना भएकोले देशको समृद्धि नभएको होइन । पुराना पार्टीमा नयाँ र सक्षम नेता नभएर यो हालतमा आइपुगेका हुन् ।

पुराना पार्टीलाई ‘थोत्रा’ भन्ने बाबुरामको तर्कले मात्रै नयाँ शक्ति बन्न सकेन । नयाँ बन्नका लागि उदाहरणीय नमुना काम गर्नुपथ्र्यो । एक लाख संस्थापक सदस्य छन् भनेर दावी गर्ने पाटीलाई कुनै नयाँ काम गरेर देखाउनका लागि डेढ बर्ष पर्याप्त समय हो ।  

नयाँको नाममा बाबुराम बिनाबाटोतर्फ यात्रारत देखिए । बाटोबिना यात्रा गर्दा अवश्य पनि दुर्घटनामा परिन्छ । अरुको बाटोमा पनि नहिँड्ने र आफूले पनि नयाँ बाटो नखन्ने नेतृत्वसँग ‘युद्धको सिपाही’झैँ विवेकी कार्यकर्ता हिँड्न वाध्य छैनन् । यसैगरी बाटो बिराइरहे भने बाबुरामको पनि अमेरिकाका विद्वान नेता रुजबेल्टकै हालत हुनेछ । स्मरण रहोस्, रुजबेल्टले पनि आफैँले दुई दशकभन्दा बढी समय नेतृत्व तहमा रहेको ‘रिपव्लिकन पार्टी’ पुरानो भयो भनेर सन् १९१२ मा नयाँ शक्ति भन्दै ‘प्रोगे्रेसिभ पार्टी’ खोलेका थिए । उनको पार्टी चार बर्ष नपुग्दै १९१६ मा विघटन हुन पुग्यो ।

बाबुराम डेढ बर्षसम्म प्रधानमन्त्री हुँदा पनि कायापलट गरेका होइनन् । एक जना सांसद भएको पार्टीलाई मन्त्री दिने, जम्बो मन्त्रीमण्डल बनाउनेलगायतका कामले निकै आलोचना खेपे । ‘धोवीघाट गठबन्धन’ गरेर प्रधानमन्त्री भएपश्चात् अर्थमन्त्री हुँदाको साख गुमाए । मधेसीलाई बोकेर सरकार बनाएपछि बचेखुचेको साख पनि फोरमसँग एकताको कुराले अझै गि¥यो । यद्यपि, बाबुराम अझै पनि मुलुकलाई चाहिने अव्वल र ‘भिजिनरी’ नेता हुन् । उनी माओवादीमै समाहित भएर अगाडि बढ्नु नै वुद्धिमानी ठहरिनेछ । तर, यसरी नै बाटो बिराउँदै हिँडिरहे भने बाबुराम नहराउलान् भन्न सकिँदैन ।