फोरम र नयाँ शक्तिको एकतापछि राजपासँगको एकता टाढियो

फोरम र नयाँ शक्तिको एकतापछि राजपासँगको एकता टाढियो

२२ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको दल संघीय समाजवादी फोरमबीचको एकताले तत्काल राजपासँगको एकता टाढिएको छ ।

राजपाका नेताहरूले केही दिन पर्खेर सबै पार्टी मिलेर एकीकरण पार्टीको घोषणा गरौं भनी गरिएको आग्रह अनुसार तत्काल एकीकरणका लागि गरिएको कदम फिर्ता लिन नसकेको देखिएको छ । यसबाट उनीहरूबीच हुने एकता टाढिएको छ । 

यो पनि पढ्नुहोस

बाटो बिरायौ बाबुराम !

अहिलेको एकता सरकार छाडने र नछाड्नेबीचको एकता भएको हो । भट्टराईले विज्ञप्तिमा हस्ताक्षर गर्न अघि फोरमले सरकार छाड्नेबारे के गर्ने भनी सोधेको जवाफमा यादवले पार्टी एकीकरण भइसकेपछि बस्ने पार्टीको बैठकबाट हुन निर्णय अनुसार गर्ने प्रस्तावलाई भट्टराईले स्वीकार गरी हस्ताक्षर गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

सहमतिमा दुबै अध्यक्ष नयाँ शक्ति पार्टी नेपालका भट्टराई र फोरम नेपालका यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।

सरकार छाड्ने सन्दर्भमा राष्ट्रिय जनता पार्टीको तर्फबाट पठाइएको विज्ञप्तिमा  फोरम अध्यक्ष यादवले यही विषय उल्लेख गरी जवाफ फर्काएका थिए ।

समाजवादी पार्टी नेपालको गठन भइसकेपछि राजपासँग हुने भनिएको पार्टी एकीकरण तत्काल टाढिएको छ । नयाँ शक्ति र फोरमबीच वार्ता भइरहेका बेला नयाँ शक्ति पार्टीको कार्यालय पुगेका राजपाका नेताहरूले केही दिन पर्खेर एकीकरण गरेको भए सबै पार्टी एकैपटक एकीकरणको घोषणा गर्दा राम्रो हुने बताएका थिए । तर नयाँ शक्ति र फोरमबीचको एकीकरणसम्बन्धी वार्ता र छलफल धेरै लामो समयदेखि चलिआएको हो । शुरूवाती निर्वाचनमा दुबै पार्टीले मिलेर चुनाव लडेका थिए । पछि फोरमले राजपासँग सिटको तालमेल गरेर प्रदेश सभा र संघीय सभाका लागि चुनाव लडेको थियो । 

पछिल्लो समय पार्टी एकीकरण गर्ने पत्र फोरमले राजपालाई पठाएको थियो । तर राजपासँग एकीकरण हुन नसकी नयाँ शक्तिसँग हुन पुगेको हो ।

स्रोतका अनुसार नयाँ शक्ति पार्टीको कार्यालयमा पुगेर सके सबै पार्टी एकैपटक एकीकरणको घोषणा गरौं भन्ने राजपा नेताहरूमा महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरू थियो । त्यतिमात्रै होइन जनमुक्ति पार्टीका एमएस थापा पनि त्यतिखेर त्यहाँ पुगेका थिए ।

तपाईहरूसँग हुने भनेको एकता प्रक्रिया कहाँ पुग्यो भनी सोधिएको प्रश्नको जवाफमा राजपा उपाध्यक्ष सत्यनारायण मण्डलले भने “अब फोरमसँग होइन समाजवादी पार्टी नेपालसँग एकता प्रक्रिया अघि बढ्नेछ । त्यो पार्टीले चाहने हो भने हुन्छ, होइन भने हुँदैन । यसअघिको फोरम समाजवादी पार्टी बन्न पुगको छ ।”

यादवले राजपासँग कुरा अगाडि बढाएर नयाँ शक्ति पार्टीसँग गरेको व्यवहार दोस्रो पटक देखाएका हुन् । यसअघि राजपामा सामेल दलहरूसँग एकता प्रक्रिया अगाडि बढाएर टुंगै लागेको भनिरहँदा यादवले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग मिलेर संघीय समाजवादी फोरम बनाउन पुगेका थिए । यसपटक राजपासँग कुराकानी अगाडि बढाएर नयाँ शक्तिसँग एकीकरणको घोषणा यादवले गरेका छन् । 

चैत्रको दोस्रो साता लेखिएका यी समाचार पढ्नुहोस

बाबुराम र उपेन्द्र पार्टी एकता गर्दै 

फोरम र राजपाको एकता प्रसङ्गले तातेको प्रदेश दुई