जसको एजेण्डा बिक्दैन उसको पार्टी टिक्दैन

जसको एजेण्डा बिक्दैन उसको पार्टी टिक्दैन

राजनीतिक पार्टी भनेको एजेण्डा, नीति, सिद्धान्त, कार्यक्रम र संगठन हो । जुन पर्टीमा यस्ता गुण हुदैनन् त्यो राजनीतिक पार्टी नभएर एनजीओ मात्र हुन्छ । त्यो एउटा टोले क्लव जस्तै हुन्छ । त्यस्तो राजनीतिले जनता बराल्छ, रनभुल्लमा पार्छ ।


पार्टी टिक्नका लागि एजेण्डा बिक्ने खालको हुनुपर्छ । जनताले पत्याउने र सम्भव हुने एजेण्डा बोकेको दल नैं लोकप्रिय हुन्छ । कुनै पनि दलले लिएको रणनीति, कार्यनीति, सिद्धान्त सबै कुरा राष्ट्र र जनताका सरोकारका विषयमा केन्द्रित भएमा त्यो दल टिकाउ पनि हुन्छ बिकाउ पनि हुन्छ ।


नेपाली राजनीतिको लामो ऐतिहासिक कालखण्डमा धेरै दलहरु जुट्ने र फुट्ने गरेको हामीले देख्दै र भोग्दै आएका छौँ । जुट्ने भन्दा फुट्नमै रमाउने र फुटेरै कीर्तिमान कायम गर्ने नेपाली कम्युनिष्टहरुलाई यतिबेला फुट्ने भन्दा पनि जुट्ने योग मिलेको छ । यतिबेला पूर्व एमाले र माओवादी पार्टी मिलेर सत्तारुढ दल नेकपा बनेको छ । 

बिभिन्न कम्युनिष्ट घटकहरुको मिलनपछि विश्वमै रक्षात्मक स्थितिमा रहेको कम्युनिष्ट दक्षिण एसियाली मुलुक नेपालमा भने शानदारका साथ जनताको विश्वास जितेर दुई तिहाइ बहुमतका साथ सत्ता सम्हालि रहेको छ ।


पूर्व माओवादी नेताहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच पार्टी एकता गर्ने समति पत्रमा हस्ताक्षर भएको छ । संघीय समाजवादी फोरम खोलेका वर्तमान स्वास्थ्यमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले यही बैशाख २३ गते पार्टी एकता घोषणा कार्यक्रमको तिथि र स्थान जुराइसकेका छन् ।


त्यसैगरी चोइटा चोइटामा बिभक्त भएका पूर्व पञ्चहरु पनि एकताको रोटी बेल्दैछन् । यद्यपि त्यो रोटी पकाउन भने बाँकी नै छ । कमल थापा, पशुपति शमशेर, प्रकाशचन्द्र लोहनीहरु बिक्ने खालका एजेण्डा बनाउन व्यस्त छन् किनकि उनीहरुलाई राजनीतिको धावनमार्गमा निकै लामो समय दौडिनु छ ।


जनयुद्ध सँगै लडेका मोहन वैद्य र गोपाल किरातीहरु पनि सहकार्य (कार्यगत एकता) को मिलनबिन्दु खोजिरहेका छन् । यता विप्लव समूह, आहुती र अन्य बामपन्थी घटकहरुले पनि मिल्नुको मजा मज्जैले बुझेका छन् ।


आफ्नो स्वार्थमा पार्टी फोर्ने र आफनो स्वार्थमा पार्टी जोड्नेहरुलाई जनताले भने राम्रैसँग चिनिसकेका छन् । त्यसैले भोलिका दिनमा राजनीतिक बजारमा टिकाउ हुने र जनताकाबीचमा बिकाउ हुने एजेण्डा नै दिगो हुने भएकाले त्यसका लागि वर्तमान सत्तारुढ दल नेकपादेखि सबै दलहरुले एजेण्डा, नीति, सिद्धान्त र कार्यक्रमलाई विस्वासिलो बनाउँदै लैजानु पर्ने छ ।

२०७६ साल वैशाख २२