रोल्पामा मुठभेडको मानसिकता बनाउँदै विप्लव समूह

रोल्पामा मुठभेडको मानसिकता बनाउँदै विप्लव समूह

रोल्पा २२ बैशाख । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाभित्र एक तप्काले वार्ताको चर्चा चलाइरहँदा अर्को तप्का भने मुठभेडको मानसिकता बनाउने तयारी अवस्थामा रहेको छ ।


भूमिगत रुपमै सो संगठनले रोल्पाका विभिन्न गाउँमा व्यापक रुपमा प्रचारप्रसारको टिम परिचालन गर्नुका साथै संगठन बिस्तारको कामलाई तीब्र पारिरहेको छ । 


स्थानीय जनप्रतिनिधिका अनुसार विल्पव समूहले जवर्जस्ती रुपमा चन्दा संकलन कार्यसमेत गरिरहेको छ ।


एक अनलाइन टिभीसँग अन्तर्वार्ता दिँदै रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीले एकीकृत जनक्रान्तिको पहिलो निशाना दलाल र भ्रष्ट बिरुद्ध एक्सन सुरु भइसकेको बताएका छन् । आफूहरुसँग फौजी तालिम, जनसेना, र पर्याप्त हतियार रहेको भन्दै उनले प्रहरी प्रशासनले कस्तो व्यवहार गर्छ त्यही अनुसार आफूहरु उत्रने जनाएका छन् ।


अन्तर्वार्ताका क्रममा सेक्रेटरी सुवेदीले आफूहरुको पहिलो निशानामा दलालहरु रहेको भन्दै गत १६ र १७ गते रोल्पा बन्दका क्रममा मुख्यमन्त्री शंकर पोखरेललाई बमको निशाना बनाइएको पनि जिम्मेवारी लिए । उनले गाउँपालिकाका भ्रष्ट अध्यक्ष तथा वडा अध्यक्ष, सदस्यहरु आफ्नो पार्टीको निशानामा रहेको पनि खुलासा गरेका छन् । उनले स्थानीय जनप्रतिनिधिहरुलाई कालो मोसो लगाउने तत्कालिक कार्यनीति रहेकोे पनि अन्तर्वार्ताका क्रममा बताए ।


उनले राष्ट्रघाती र दलालहरु आफूहरुको प्रधान दुस्मन भएको पनि बताएका छन् । 

यहाँ स्मरणीय छ, केही दिन पहिला रोल्पाका सांसद् तथा ऊर्जामन्त्री वर्षमान पुन थबाङमा जाँदा उनीमाथि निशाना बनाएकाले हेलिकोप्टरबाट सदरमुकाम लिबाङ आएका थिए ।