लिम्बुवान स्प्रिङ आन्दोलनकर्मी अनशनमा

लिम्बुवान स्प्रिङ आन्दोलनकर्मी अनशनमा

    
बैशाख २२, विराटनगर / प्रदेश नम्बर एकको नामाकरणका लागि संसदको अधिवेशन चल्ने तयारी भइरहँदा लिम्बुवान स्प्रिङ आन्दोलनकर्मीहरू अनशनमा बसेका छन् । नाम र स्थायी राजधानीको विषयमा प्रदेश सभाले टुङ्गो लगाउन नसकिरहेका बेला स्प्रिङ आन्दोलनकारीले लिम्बुवान लेखाउन दबाबस्वरूप अनशन सुरु गरेका हुन् ।
    
आइतबार प्रदेश सभाको भवन अगाडिको निषेधित क्षेत्रमा करिब एक दर्जन स्प्रिङ आन्दोलनसम्बद्ध युवाहरू अनशन बसेको संयोजक इक्साहाङ चेम्जोङले बताए । ‘प्रदेशको नामाकरण गर्दा लिम्बुवान उल्लेख हुनुपर्छ भन्ने अभिप्रायले अनशन थालेका हौँ । लामो समयदेखि चलिरहेको लिम्बुवानको आन्दोलनलाई सम्बोधन गराउन हामी शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहनेछौँ,’ उनले भने । अनशनलाई बेवास्ता गरेर प्रदेशको नामाकरणमा लिम्बुवान बाहेकका नाम पारित गरिए थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेम्जोङले बताए । ४८ घण्टे अनशन बस्नेहरूमा चेम्जोङसहित समी लङ्वा, सौजन सुब्बा, सुनिल आङ्बो, पन्ना आङ्बो, अशोक सेर्मा, सुमन सहयात्री योङहाङ, सुन्दर लाओती, अंशुवर्मा लिम्बु, प्रयास बान्तवा, कौशिला नेम्वाङ र विजय लिङ्देन छन् । 
    
गत बिहीबार बस्ने भनिएकोे प्रदेश सभाको ३४ औँ बैठक बैशाख आइतबारसम्मका लागि सूचना जारी गरी स्थगन गरेको थियो । प्रदेश सभामा यतिबेला सत्तारुढ पार्टी नेकपाको बहुमत छ । प्रतिपक्षमा नेपाली काङ्ग्रेस, संसफो, राप्रपा नेपाल लगायत पार्टी छन् । लिम्बुवानको चर्को मुद्दा उठाउने सङ्घीय लिम्बुवान मञ्चका तर्फबाट पनि एक जना सांसद छिन् । प्रदेश नम्बर एकको नामका लागि लिम्बुवान, कोशी, सगरमाथा, किरात लगायतका नामहरू चर्चामा छन् । यद्यपि, पूर्वमा पहिचानवादी शक्तिहरूको निरन्तर आन्दोलन भइरहने हुँदा सत्तारुढ पार्टीलाई प्रदेश नम्बर ४ र ६ जसरी नामाकरण गरिहाल्न पनि सहज स्थिति बनेको छैन । 
    
प्रदेश नम्बर एकमा तत्काल लिम्बुवानको मुद्दा नछिरे अलग्गै लिम्बुवान प्रदेश बनाउन आफूहरू लागिपर्ने अभियन्ता टङ्क सेलिङले बताए । ‘सात प्रदेशभित्र लिम्बुवानको पहिचान हराउनु हुन्न । आन्दोलनलाई सम्बोधन नगराए भिन्न प्रदेश स्थापनका लागि हाम्रो आन्दोलन अघि बढ्नेछ,’ उनले जोडे । विभिन्न पार्टी, सङ्गठन र स्वतन्त्र पेशामा आबद्ध रहेका युवाहरूले गत फागुन २६ गते सामाजिक सञ्जालमार्फत सङ्गठित भएको जनाउँदै लिम्बुवान स्प्रिङ आन्दोलन घोषणा गरेका थिए । घोषणा भएको केही घण्टाभित्रै आन्दोलनप्रति उल्लेख्य सङ्ख्यामा समर्थकहरूले ऐक्यबद्धता जनाएका थिए ।