पार्टी एकतासँगै उपेन्द्र यादवले सरकार छाड्लान ?

पार्टी एकतासँगै उपेन्द्र यादवले सरकार छाड्लान ?

२३ वैशाख, काठमाडौं । माओवादी आन्दोलनबाट स्थापित भएर पछि गैर कम्युनिस्ट पार्टी चलाएका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीबीच आज एकताको घोषणा हुने भएको छ । यो एकतासँगै केही प्रश्नहरु उब्जिएका छन्, जसको लामो समयसम्म जवाफ उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अझ खासगरी डा. भट्टराईले दिइरहनु पर्नेछ । तर, यतिवेला दुई पार्टीबीचको एकतापछि उपेन्द्र यादव संघीय सरकारमा रहिरहन्छन कि रहदैंनन् ? यसले राजनीतिको तत्काल के मोड लिन्छ भन्ने सामान्य आँकलन गर्न सकिन्छ । यो सँगै मधेस केन्द्रित दलहरुबीचको एकता अझ खासगरी राजपासँगको एकता के हुन्छ ? उपेन्द्र यादवले सरकार छाडेमा राजपा सरकारमा जान्छ ? प्रश्नहरु बग्रेल्ती छन् ।  

पार्टीहरूको गतिविधिसँग निकट सम्बन्ध राख्ने एक स्रोतले भन्यो “प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको आवश्यकता र औचित्य देखेर संशोधन गरिदिएमा समाजवादी पार्टी सरकारमा रहने कि सरकार छाड्ने निर्णय गर्नुपर्ने हुन्छ त्यतिबेला त्यो पार्टीले के निर्णय गर्छ ।”

अहिलेसम्म आवश्यकता र औचित्य नदेखेर ओलीले संविधान संशोधन नगरेको हुन सक्छ । 

राजपाका नेताहरू सरकारमा जान तछामछाड गरिरहेका छन् । अहिले पार्टीका नेताहरूको दबाब संविधान संशोधनको मुद्दा हो । संविधान संशोधनको मुद्दा पूरा भएको खण्डमा राजपालाई सरकारमा आउन भनिए राजपा सरकारमा जान्छ कि जाँदैन भनेर सोधिएको प्रश्नको जवाफमा सरकारमा जानु हुन्छ भन्ने गरेको पाइएको स्रोतको भनाइ छ ।

भट्टराई निकट मानिएका विश्वदीप पाण्डेले जनाए अनुसार समाजवादी पार्टी नेपालले संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिनेछ । त्यो अल्टिमेटम पछि सरकारले गर्ने व्यवहारका आधारमा पार्टी सरकारमा रहने वा छाडने निर्णय हुनेछ ।

उपेन्द्र यादव सरकारमा रहिरहने हो भने यो सरकारका कडा आलोचक डा. बाबुराम भट्टराई पनि एकताको घोषणासँगै सत्तारुढ दलका नेता मानिनेछन् । 

समाजवादी पार्टीले निर्धारण गरेको महाधिवेशनको समय सीमा असोजमा राखिएको छ । राजपाले आफ्नो महाधिवेशन कार्तिकमा राखेको छ । यी दुईबीच एकीकरण हुने हो भने यी पार्टीहरूको महाधिवेशन अझ सर्ने जनाइएको छ ।