फोरम–नयाँ शक्ति एकताले राजपाका नेता तनाबमा

फोरम–नयाँ शक्ति एकताले राजपाका नेता तनाबमा

जनकपुर, २३ बैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु तनाबमा परेका छन् । 

फोरमले राजपासँगको एकीकरण प्रक्रियालाई रोकेर नयाँ शक्तिसँग एकीकरण गरेपछि राजपाका नेताहरु तनाबमा परेका हुन् । फोरम र नयाँ शक्तिले आज पार्टी एकता गरेर समाजावादी पार्टीको घोषणा गरेको छ । 

फोरम राजपा एकिकरणको चर्चा व्यापक चलिरहेकै बेला फोरमले नयाँ शक्तिसँग एकता गरेपछि राजपाका कतिपय नेताहरु चिढिएका छन् । फोरम र नयाँको एकीकरणले बिगतमा मधेश आन्दोलन र तीन तहको निर्वाचनमा सहकार्य गरेका फोरम र राजपाबीच दुरी बढ्ने निश्चित रहेको बिश्लेषकहरुले भनेका छन् । 

फोरम र नयाँ शक्तिबीच भएको एकतामा राजपा पनि सहभागि हुने सहमति भए पनि फोरमले राजपालाई खासै महत्व नदिई नयाँ शक्तिसँग मात्र एकता गरेको छ । यसरी राजपालाई छाडेर एक्लै फोरमले नयाँ शक्तिसँग एकता गरेपछि फोरम राजपा सहकार्य धरापमा पर्ने सम्भावना बढ्ेको जानकारहरु बताउँछन् । 

जानकारहरु भन्छन्“ यी दुई दलको एकताबाट आगामी दिनमा फोरम मधेशमा अझ सशक्त हुन्छ भने राजपा कमजोर बन्छ त्यसैले यो एकता राजपाका नेताहरुको टाउको दुखाइको बिषय भएको हो । हुन त फोरम र राजपाको मधेश मुद्दामा एकरुपता भए पनि दुबैको कार्यदिशा फरक छन् । फोरम सरकारमा छ भने राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडक आन्दोलन गर्ने तयारीमा जुटेको छ । 

सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार बिरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिईरहे पनि पछिल्लो समय राजपा मनोबैज्ञानिक रुपमा कमजोर भएकाले यसले फोरमसँग एकता गर्न चाहेको थियो । त्यही अनुरुप यी दुई दलबीच केही समयदेखि एकताका लागि वार्ता र सम्बाद भइरहेको थियो । तर एक्कासी फोरमले नयाँ शक्तिसँग एकता गरेपछि राजपाका नेताहरु तनाबमा परेको आभाष भइरहेको छ ।  
 
 त्यसैले त नयाँ शक्ति पार्टी र फोरमबीचको एकीकरणलाई खासै उपलब्धिपूर्ण नभएको राजपाका नेताहरुले टिप्पणी गरिरहेका छन् । यसबाट पनि प्रष्ट हुन्छ कि राजपाका नेताहरु नयाँ शक्ति र फोरमको एकीकरणलाई आफ्नो शत्रुको रुपमा बुझेको हो । तराई मधेशमा खासै संगठन नभएको र राष्ट्रिय राजनीतिमा कमजोर रहेको नयाँ शक्तिसँग फोरमको एकिकरणले राजनीतिमा एउटा तरंग ल्याएको राजनीतिक जानकारहरु बताउँछन् । 

नेपालमा पार्टीहरु फुट्नु र जुट्नु परम्परा नै बनिसकेको अवस्थामा यी दुई पूर्व सहयात्रीहरु एक आपसमा मिल्नु कुनै अनौठो कुरा नभए पनि यी दुईको एकताले राष्ट्रिय राजनीतिमा सकारात्मक संदेश पकै दिएको राजनीतिक पण्डितहरुको बुझाइ छ । यद्यपि पार्टी आपसमा मिल्ने र बिचारको टकराब भएपछि फुट्ने जुन राजनीतिक रोग देखिएको छ, यसबाट यी दुई दलका नेताहरु मुक्त हुन्छ वा हुँदैन् भन्ने हेर्नलाई केही समय पर्खिनैपर्छ । 


एकीकरण दलहरुको संख्या घटाउने काम ः महासचिव सुमन

 राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकिकरण दलहरुको संख्या घटाउने काम मात्र भएको टिप्पणी गरेको छ । 

राजपाका महासचिव मनिषकुमार सुमनले यी दुबै दलको एकीकरण खासै कुनै उपलब्धि नभई निर्वाचन आयोगमा दत्र्ता भएको राजनीतिक दलहरुको संख्या घटाउने काम भएको टिप्पणी गरे । 
    
नयाँ शक्ति पार्टी देशमै समाप्त भइसकेको पार्टी हो, महासचिव सुमनले भने –“ मधेशमा नयाँ शक्तिको खासै संगठन पनि छैन्, यस्तो अवस्था फोरमले यससँग एकीकरण गर्नु खासै उत्साहजनक कुरा होइन ।” यसबाट निभ्दै गएको नयाँ शक्ति पार्टीलाई बल पु¥याउने काम भएको उनको भनाइ थियो । 
    
नयाँ शक्ति भन्दा मधेशको कुनै दलसँग फोरमले एकता गरेको भए उपलब्धिपुर्ण हुने थियो, महासचिव सुमनले भने –“ समाप्त भईसकेको पार्टीसँग एकता गर्नु र नगर्नुको कुनै खासै महत्वपुर्ण उपलब्धि होइन्, तर लोकतन्त्रमा पार्टीहरु एक हुनु सकारात्मक हो ।”