रामकृष्ण ताम्रकारसँग रामचन्द्र पौडेलको बोलचाल थिएन 

रामकृष्ण ताम्रकारसँग रामचन्द्र पौडेलको बोलचाल थिएन 

२४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र एकापसमा बोलचाल नगर्ने नेताहरुको सङ्ख्या उल्लेख्य छ । दुई साताअघि दिवंगत पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकार र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच बर्षौदेखि बोलचाल थिएन । केन्द्रीय नेताद्वय अर्जुननरसिंह केसी र डा. रामशरण महतबीच पनि बोलचाल नभएको वर्षौ भइसकेको छ । पार्टी सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्य बलबहादुर केसी आवश्यक परेको बेलामा मात्रै बोल्छन् । बरिष्ठ नेता पौडेल र हालै दिवंगत पूर्व कोषाध्यक्ष ताम्राकारबीच बोलचाल बन्द हुनुको कारणबारे संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

२०४९ सालमा शैलजा आचार्यले राजीनामा दिएपछि कृषि मन्त्रालयको जिम्मेवारी पनि स्थानीय विकास मन्त्री रामचन्द्र पौडेलले सम्हाले । २०५० सालमा भारतमा लसुनको मूल्य आकासियो । चीनबाट लसुन आयात गरेर भारतीय बजारमा बिक्री गर्ने प्रबन्ध केही मारवाडी व्यापारीहरुले मिलाए । तर, चिनियाँ कृषि उपज भारतमा बेच्न सहज थिएन । नेपालमै उत्पादन भएको भनेर मन्त्रीले नै प्रमाणित गरिदिनु पथ्र्यो । बयापारीहरु पाँच करोड रुपैयाँको अफर लिएर कृषिमन्त्री पौडेललाई भेट्न गए । तर पौडेल डराए ।  

ती ब्यापारी फिर्ता भएको केही घण्टापछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फोन गरेर भने, ‘रामचन्द्रजी चुनाव आउनै लागेको छ, खर्चपर्र्च पनि चाहिन्छ, मिलाइदिनु है ?’  पौडेलले हस् भने तर काम गरिदिएनन् । यो कुरा गोबिन्दराज जोशीले थाहा पाए । उनले उद्योग मन्त्रालयले सिफारिस गर्दा पनि हुने सुझाव दिए ।

जोशीको सुझावबमोजिम प्रधानमन्त्री कोइरालाले उद्योगमन्त्री रामकृष्ण ताम्राकारलाई फोन गरे । यसरी पाँच करोड रुपैयाँ चुनाव खर्च लिएर चिनियाँ लसुनलाई नेपाली उत्पादन भनेर ट्याग लगाई भारतमा निर्यात गरियो । उद्योगमन्त्री ताम्राकारले पाँच करोडमध्ये दुई करोड फेला पारे । मन्त्री ताम्रकारले फेला पारेको यो दुई करोडमा रामचन्द्र पौडेलले लोभ देखाए । उनी आफै उद्योगमन्त्री ताम्रकारलाई भेट्न गए र भने, ‘तपाईं आफै पनि ठूलो ब्यापारी हुनुहुन्छ, सक्षम पनि हुनुहुन्छ, मलाई  चुनाव खर्च चाहिएको छ, त्यो दुई करोड रुपैयाँ आधा–आधा गरौं ।’  

पौडेलको यो प्रस्तावपछि ताम्राकार रिसले आगो भए । लोभी बाहुन, चुतिया बाहुन, पाँच करोड सबै तैँले पाउने अवस्था थियो, त्यतिबेला के हेरेर बसेको थिइस् ? भन्दै ताम्राकार राँकिएपछि मैले पनि तँलाई जानेको छु, भन्दै पौडेल बाहिरिए । त्यसैबेलादेखि उनीहरुबीच बोलचाल बन्द भयो ।

२०५४ सालमा नेपाली कांग्रेसको नवौं महाधिवेशन हुँदै थियो । त्यतिबेला केन्द्रीय सभापति र सात विकास क्षेत्रबाट एक एक जना केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने व्यवस्था थियो । सुदूर पश्चिमबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पश्चिमाञ्चलबाट तत्कालीन सभामुख पौडेल निर्विरोध निर्वाचित हुने लगभग तय भइसकेको थियो । तर, देउवा निर्विरोध भए, पौडेलविरुद्ध भने ताम्राकारले उम्मेद्वारी दिए ।

ताम्राकारले उम्मेद्वारी मात्रै दिएनन्, सभामुख पदमा आसिन व्यक्ति कुनै पार्टीको केन्द्रीय सदस्य हुन नमिल्ने दलील पेश गर्दै उजुरीसमेत हाले । पौडेलले धन्नधन्न उम्मेद्वारै बन्न नपाउने स्थिति आयो । रोइकराई गरेर चुनाव त जिते तर केन्द्रीय सदस्य पदबाट राजीनामा दिन पार्टीले निर्देशन दियो । पौडेलले राजीनामा नदिएर केन्द्रीय सदस्य पद निलम्बनमा राखेको घोषणा गरे । समयबद्ध साप्ताहिकबाट