विकासले फड्को मार्न सबै नेता, सांसद र जनप्रतिनिधिहरुले सपना देख्न थाल्नुपर्छः प्रचण्ड

विकासले फड्को मार्न सबै नेता, सांसद र जनप्रतिनिधिहरुले सपना देख्न थाल्नुपर्छः प्रचण्ड

काठमाडौँ, २४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले शान्ति र विकास एक अर्काका परिपूरक भएकाले देशमा स्थायित्व जरुरी रहेको बताए ।
मंगलबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले राजनीतिक स्थायित्व भए शान्ति हुने र शान्ति भएसँगै विकास अगाडि बढ्ने बताए । ‘दिगो शान्ति र निरन्तर विकास एक अर्काको परिपूरक हुन्’, उनले भने ‘शान्ति नभए विकास हुँदैन, विकास नभए फेरि शान्ति हुँदैन ।’
आफूले सशस्त्र द्वन्द्वपछिको शान्ति सम्झौताको बेला पनि शान्ति र विकासमा नै जोड दिएको सम्झँदै उनले सहमति र सहकार्यबाट नै शान्ति र विकास सम्भव हुने बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सहमति, सहकार्य र एकताको बाटोमा जाँदा नै विकास यात्रालाई सहज ढंगले अघि बढाउन सकिने बताए । 
नेपालमा अझै पनि ६५ प्रतिशत जनसंख्या कृषिमा नै आश्रित भएकोले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकीकरण आवश्यकता रहेको उनको भनाइ थियो । उनले भूमि र कृषिलाई नीति तथा कार्यक्रममा राखेकोमा सरकारको प्रसंशा गर्दै भने, ‘कृषि र भूमिलाई आयको वातावरण जबसम्म बनाउन सक्दैनौं तब सम्म हामीले सुखी नेपाली समृद्धि नेपालीको सपना साकार बनाउन सक्दैनौं।’
उनले प्रश्न गरे, पूर्व पश्चिम, उत्तर दक्षिण रेल कुद्ला त ? ठूला जहाज ग्राउन्ड बन्ला त ? ठूला–ठूला होटल बनेर विकासको फड्को मार्ला त ? यस्तो कुरा गर्दा काल्पनिक जस्तो लाग्छ, जनतालाई आश्वासन दिए जस्तो लाग्छ । तर हामी नेताहरु, माननीय र सबै तहका जनप्रतिनिधिहरुले सपना देख्न थाल्नुपर्छ ।’