सञ्चारमन्त्री बास्कोटाले दिए गोरखापत्र संस्थानलाई ‘बाख्राको खोर’ को संज्ञा !  

सञ्चारमन्त्री बास्कोटाले दिए गोरखापत्र संस्थानलाई  ‘बाख्राको खोर’ को संज्ञा !  

काठमाडौं, २४ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गोरखापत्र संस्थानको भवनलाई 'बाख्राको खोर'को संज्ञा दिएका छन् । गोरखापत्र संस्थानको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै मन्त्री बास्कोटाले संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनीसमेत दिए ।
गोरखापत्र प्रकाशनको १ सय १९ औं वर्ष प्रवेश तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन्सन खाने तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढ्ने योजना पनि अघि सारे । उनले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराए ।
गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै मन्त्री बास्कोटाले त्यसलाई भत्काएर नयाँ भवन निर्माण गर्ने पनि बताए । उनले गोरखापत्रलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न कर्मचारीहरुलाई सचेत गराए ।