आमाको मृत्युपछि डेढ बर्षीया राधाको बिचल्ली

आमाको मृत्युपछि डेढ बर्षीया राधाको बिचल्ली

सिरहा, २५ बैशाख । सिरहाको कल्याणपुर नगरपालिका ८ अरङगाउँकी कञ्चन मण्डलको रहस्यमय मृत्यु भएपछि उनकी डेढ वर्षीया छोरी राधाको यतिबेला बिचल्ली भएको छ ।

आमाको मृत्युपछि नाबालिका राधालाई दुध खुवाउने र पालन पोषण कसले गर्ने भन्ने समस्या उब्जिएको छ । कञ्चनको मृत्यु भएपछि उनको श्रीमान् बेचन फरार छन् भने  सासु सुरजीदेवी अनुसन्धानका लागि थुनामा छिन । 

घटनापछि नाबालिका राधालाई उनको आफन्त अमित मण्डल र झौली मण्डलको संरक्षणमा राखिएको वडाअध्यक्ष राजेन्द्र साहले बताए । तत्कालका लागि आफन्तको जिम्मा दिए पनि उनको पालन पोषणका लागि कसको जिम्मा लगाउने भन्ने समस्या भएको वडा अध्यक्ष साहको कथन छ । कञ्चनको उपचारकै क्रममा मृत्यु भएपछि बेचु मण्डलको अहिले घर रित्तो छ । 

राधा जतिबेला पनि रोइरहन्छिन, झौलीले भनिन–‘‘ राधालाई छिमेकी एक महिलाले दिनमा एक दुई पटक दुध चुसाउँछिन्, अनि अरुबेला गाईको दुध खुवाउने गर्छाैं ।” दिउँसो भन्दा पनि रातिको समयमा राधाले आमालाई खोज्दै रुने गरेको झौलीको भनाइ छ ।

गत बैशाख १२ गते विहान घरभित्रै आगोमा जलिरहेकी कञ्चनलाई स्थानीयहरुले उद्धार गरी अस्पताल पु¥याएका थिए । आगोमा करिब ६० प्रतिशत शरीरको भाग जलेर गम्भीर घाइते भएकी कञ्चनको काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतामा  बैशाख १३ गते साँझ मृत्यु भएको थियो । मृत्यु भएको १३  दिन बितिसक्दा समेत कञ्चनको हत्या वा आत्महत्या के हो भन्ने वास्तविकता अझै बाहिर आउन सकेको छैन् । कञ्चनको मृत्युको बिषयमा स्थानीयहरुको पनि फरक फरक धारणा छ । 

कतिपयले श्रीमान्, सासु र नन्दहरु मिलेर आगो लगाई कञ्चनको हत्या गरेको हुन सक्ने आंशका गरेका छन् भने कतिपयले घटना भएका बेला श्रीमान र सासु घरमा नरहेकाले कञ्चनले आत्महत्या गरेको हुन सक्ने अडकल गरेका छन् । 

तर उपचारका क्रममा अस्पतालको शैय्याबाट कञ्चनले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

कञ्चनले प्राण त्याग्नु अघि आफूलाई पति बेचु मण्डल, सासु ६० वर्षीया सुरजीदेवी र नन्दहरूको मिलेमतोमा मट्टितेल छर्केर आगो लगाएको बयान दिएकोले त्यसैलाई आधार बनाएर इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनाको अनुसन्धान गरिरहेको छ । 

कञ्चनको श्रीमान् बेचनको खोजी गरिरहेको र सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक शुकदेव खनालले जानकारी दिए ।
 
कञ्चनको बयानअनुसार घटनामा नन्दहरूको पनि संलग्नता देखिएकाले उनीहरूमाथि समेत अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक खनालले बताए । 

बुहारीको हत्या आरोपमा पक्राउ परेकी सुरजीदेवी घटनाको विषयमा कुनै कुरा नबताएको प्रहरीले जनाएको छ । उहाँ अधिकांश समय रोएर बस्ने गरेको प्रहरी नायब उपरिक्षक खनालको भनाइ छ ।