पुरस्कार र पुरस्कृतको गरिमा बढाउन ठोस विधि आवश्यक

पुरस्कार र पुरस्कृतको गरिमा बढाउन ठोस विधि आवश्यक

धर्मेन्द्र कर्ण


सरकारले पत्रकारलाई दिएको पछिल्लो पुरस्कार निकै नै विवादित बन्यो । सामाजिक सञ्जाल र मिडियामा धेरै नै आलोचना भयो । पुरस्कार दिने र पाउनेहरुले पुरस्कार दिनु र पाउनुको कारण स्पष्ट पार्न सकेनन् । यही विधिबाट पुरस्कार दिने र लिने परिपाटी कायम गरिने हो भने साँच्चै राष्ट्रले नै पुरस्कार दिनुपर्ने भनी मानेकाले चाहिं पुरस्कार पाइहालेमा वहिस्कार गर्नुपर्ने अवस्था हुनसक्छ ।
  

यसैले सरकार र तिनका निकाय, सरकारी/गैरसरकारी संघ संस्था, पेशागत संघ संस्था वा निजी क्षेत्रबाट दिइने पुरस्कारको गरिमा बढाउन पारदर्शी र ठोस विधिको निर्माण गर्नुपर्ने आवश्यकता खड्किएकोे छ ।


यसरी पारदर्शी र ठोस विधिका आधारमा पुरस्कार पाउने व्यक्ति र संस्था दुबैको गरिमा बढ्नेमा धेरैजसोको बुझाइ रहेको छ ।


शासन सत्ता र पुरस्कार दिने संस्था वा व्यक्तिको गुणगान गर्ने वा तिनलाई रिझाउने भजन मण्डलीलाई खोजीखोजी अझ पटकपटक दिइने पुरस्कार वितरण र सम्मानको आलोचना चौतर्फी भएपछि त्यसको पारदर्शिता र विधिको आवश्यकता खड्किएको महसुस धेरैले गरेका छन् । 


अहिले संघीय गणतान्त्रिक सरकारको निर्माण भएको छ । यो सँगै संस्कार, शैली र व्यवहार नयाँ हुनुपर्ने अपेक्षा, दवाव छ तर पुरानै ढर्राको संयन्त्र, संस्कार र शैलीका कारण पुरस्कार दिने र लिने दुवैलाई विवादमा तानेको छ । 


त्यसैले सरकारले बाँड्ने पुरस्कारलाई त झन् अझ सम्मानित बनाउनुपर्ने आवश्यकता रहेको सबै तह र तप्काबाट आवाज उठ्ने गरेको छ ।


अहिलेसम्म सबैभन्दा सम्मानित पुरस्कार नोबेल पुरस्कारलाई मानिएको छ । कतिपय सन्दर्भमा यसमा पनि पक्षपोषणको आरोप नलाग्ने गरेको होइन । यसको पक्षधरता वा आग्रहप्रति असहमति राख्ने कतिपयले पुरस्कार पाउँदा पनि नलिएका थुप्रै उदाहरण छन् । यद्यपि यसले एक ठोस र पारदर्शी विधि बनाएर त्यसलाई पालना गरेको हुनाले यसको सम्मानलाई सापेक्षतामा हेर्दा विश्वमै उच्च दर्जा दिइएको छ ।


कतिपय संघ संस्थाले पुरस्कारका लागि पाउने व्यक्तिबाट आवेदन माग गरिएको पाइएको छ । यो व्यक्तिलाई होच्याएर दिने विधिको रूपमा रहेको कतिपयको बुझाइ छ । पुरस्कारबाट सम्मान हुने व्यक्तिमा सामाजिक दायित्व हुन्छ । त्यस अनुसार त्यसको आवेदन भन्दा पनि सामाजिक सिफारिशको प्रक्रिया अपनाउनु उचित हुन्छ ।


उदाहरणका लागि वडा कमिटीले आफ्ना वडामा बस्ने व्यक्तिहरूको विशेष योगदान पु¥याएका कारण पुरस्कार दिन खोजेका बेला वडाध्यक्षले मनपरी ढंगले दिने गरेको पाइन्छ । त्यसो गर्नु नहुने विज्ञहरूको बुझाइ छ । वडामा रहेका ससाना समूहहरू, क्लबहरू र सरोकार पक्षहरुबाट व्यक्तिहरूको सिफारिश माग गर्नुपर्छ । यो तलदेखि माथिसम्मका निकायले अवलम्बन गर्नु जायज हुन्छ । 


विभिन्न समूहरूबाट यो सिफारिश निर्धारित समयभित्र पुरस्कृत हुनुपर्ने व्यक्तिहरूको व्यक्तिगत विवरण र योगदानको विवरणसहितको सिफारिशहरू माग गर्नुपर्ने हुन्छ । त्यसपछि निर्धारित समयभित्र आएकाहरूबाट सानो सूची तयार गर्नुपर्छ । त्यस सूचीमा भएका व्यक्तिहरूको अन्तिम सूची बनाउन गठन गरिएको एक सल्लाहकार वा स्वतन्त्र समितिबाट गराउनु पर्छ । 


यो समितिका सदस्यहरूले फलानालाई देऊ वा फलानालाई नदेऊ भन्न पाउँदैनन् । उनीहरूले निर्धारित मापदण्डका आधारमा सूची बनाएर पठाउँछन् । त्यो वडा समितिका सदस्यहरूसमेत सम्मिलित बोर्डका सदस्यहरूबाट सके सर्वसम्मत नभए बहुमतका आधारमा पुरस्कृत हुने व्यक्तिको छनौट गर्नुपर्ने विधि अंगीकार गर्दा आलोचनाबाट जोगिन सकिने कतिपयको बुझाइ रहेको छ । यो विधि राज्यका माथिल्ला निकायमा पनि सरोकारवालाहरुको सहमति र सहभागितालाई सुनिश्चित गर्नुपर्ने देखिन्छ । 


छनौटमा परेका नामावलीलाई, छनौट गरी पठाउने सिफारिशकर्ताहरू, यससम्बन्धी अनुसन्धानकर्ताहरूले व्यक्त गरेका धारणालाई सार्वजनिक गर्न बन्देज लगाउने विधि अपनाए राम्रो हुनेछ ।  


हाल हुँदै आएको पुरस्कार वितरणमा उही व्यक्ति, आसेपासेहरूलाई डिलिङ–सेटिङका आधारमा सम्मान गरिने चलन रहेको छ । यसबाट बच्न संस्थाहरूले आफूले सम्मान गरेका व्यक्तिहरू अन्य विधामा सम्मान गर्नुपरे कम्तीमा केही अन्तरालको विधि अपनाउनु पर्ने राम्रो हुन्छ । विधि कुन राख्ने र कस्तो विधि राख्ने त्यो संस्थाहरूले तय गर्ने विषय हो । तर विधि ठोस र पारदर्शी भए सम्मान गर्ने संस्था र सम्मानित हुने व्यक्तिहरूको खस्किदै गएको गरिमामा अभिवृद्धि हुने र नयाँ संस्कारको सम्वद्र्धन हुनेछ ।
 

अत्यन्त कम विवादित नोबेल पुरस्कारले पनि यस्तै विधि अपनाएको पाइन्छ । नोबेल समितिले सेप्टेम्बर महिनामा योग्य व्यक्तिको मनोनयनका लागि आमन्त्रण गर्छ । 

फेब्रुअरी १ सम्म योग्य व्यक्तिको नामावली आइपुग्नुपर्ने हुन्छ । आएका मनोनयनहरूलाई छनौट गरिन्छ । मार्च महिनाभरिमा यसको सानो सूची तयार गरिन्छ । त्यसपछि यसलाई सल्लाहकार समितिबाट अगस्त महिनासम्म पुनरावलोकन गराइन्छ । अक्टोबरको शुरूमा नोबेल समितिले पाउने व्यक्तिको अन्तिम नाम छनौट गर्नेछ । निर्धारित १० डिसेम्बरमा सम्मानित हुनेहरूले सम्मान प्राप्त गर्नेछन् ।


यस्ता विधिहरुको प्रयोगलाई पुरस्कारको उद्देश्यलाई सम्मान गर्ने गरी पारदर्शी बनाएर जाँदा दिने र लिने दुवैको गरिमा बढ्नेछ ।   

यो पनि पढ्नुहोस

नेपालमा भूमिगत रुपमा चल्छ पुरस्कार व्यवसाय