बौद्धमा बिजोगः ‘कालोपत्रे छिटो गर’ !

 बौद्धमा बिजोगः ‘कालोपत्रे छिटो गर’ !

काठमाडौं, २६ बैशाख । ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर चुच्चेपाटी–टुसाल–बौद्ध–जोरपाटी सडकखण्डका स्थानीयबासी आन्दोलित भएका छन् । उनीहरुको अनिश्चितकालीन आन्दोलन सडक पिच नभएसम्म नरोकिने भएको छ । बौद्ध व्यापार संघको आयोजनामा बिहीबार बिहान व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले सडकमा ह्युमपाइप र पोल राखेर र सडकको बीच भागमै बसेर गाडीहरुको आवत जावतमा रोक लगाएका थिए । समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको माग गर्दै सडक आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले अवरोध गरी सडक खुलाएको छ । 
यो सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो ।

सम्झौताअनुसार यो सडक २०७४ को माघ महिनामै यो सडक बनिसक्नुपर्ने थियो । तर, अहिलेसम्म सडक निर्माण कार्य पूरा नगरेर अलपत्र छाडिएको छ ।
विश्व सम्पदासूचीमा सूचिकृत बौद्ध क्षेत्रमा अत्याधिक धुलो र पानी परेको बेलामा हिलो भएका कारण आफुहरु बिरोधमा उत्रिनु परेको एक स्थानीय अशोक खड्काले बताए ।